अमेरिकी नेपाली डायस्पोराका सामाजिक संघ-संस्थाको सोसल इञ्जिनियरिङ

अमेरिकी नेपाली डायस्पोराको सामाजिक सेवा एक प्रतीक तस्बिर । तस्बिर : सोसल इन्जिनियरिङ
अमेरिकाको नेपाली डायस्पोरोमा सामाजिक संस्था किन? यो प्रश्नको एउटै मात्र उत्तर हुदैन। त्यसको उत्तर खोज्नु अघि समाजसेवा के हो ? त्यसलाई ड्राइभ गर्नका लागि के आवश्यक हुन्छ? जस्ता सोसल इञ्जिनियरिङका आधारभूत प्रश्नहरूको उत्तर थाहा पाउँन जरूरी हुन्छ। पहिला त स्वभावत: मानिस सामाजिक प्राणी हो। ऊ समाजमा बस्न चाहन्छ र सामाजिक भएर बाँच्न चाहन्छ। त्यसका लागि ऊ आफू बसेको समाजलाई असल र उदाहरणीय समाज बनाउन चाहन्छ जुन निर्माण गर्नका लागि ब्यक्तिगत प्रयास मात्र पर्याप्त हुदैन। त्यसका लागि समाज वा समुदाय नै सामुहिक रूपमा लाग्नुपर्ने हुन्छ। त्यही प्रयोजनका लागि समाजमा स्थापना गरिन्छन्- सामाजिक संघ-संस्था।
 
परदेशमा होस् वा घरदेशमा नेपाली समाजमा पनि नेपाली भेष, भाषा, कला र संस्कृतिको जगर्ना गर्न र समाजमा सामाजिक न्याय स्थापना हुने खालका कार्यक्रम सञ्चालन गर्न सामाजिक संघ संस्था स्थापना गर्ने विशिष्ट परम्परा रहदै आएको छ। समयअनुसार यसको स्थापना गरिने तौरतरिका र काम गर्ने शैली र सोचमा परिवर्तन आएको छ। तर, यसको उद्देश्य भने बहुजन हिताय, बहुजन सुखाय नै रहेको छ। अझ अगाडि बढेर कुनै विशिष्ट स्थितिको निर्माण हुदाँ यसमा सत्यम् शिवम् सुन्दरमको कुरा पनि आउँने गर्छ।
समाजसेवाको मौलिक चरित्र भनेको यसमा कुनै नाफा र घाटाको हिसाब नहुनु नै हो।त्यसैले कसैले समाजसेवा गर्छु भनेर ईच्छा जाहेर गर्दैमा गर्न सकिने होइन।
 
समाजसेवाका लागि समाज रुपान्तरण गर्न सक्ने चिन्तन र कार्यान्वयन गर्नका लागि संस्थागत अनुभव र सामाजिक भावना हुनुपर्छ।त्यस्तै, पैसाकै भरमा समाजसेवा हुन्छ भनेर सोच्नु पनि मुर्खता हुन्छ। पैसा त  समाजसेवाको साध्य हैन, एउटा साधन मात्र हो।समाजसेवाको मुख्य उपलब्धि भनेको त निस्वार्थ भावले गरिने एउटा सानो कामबाट समाजले प्राप्त गर्ने सन्तुष्टी नै हो। त्यसैले निस्वार्थी भावनाले समाजप्रति उत्तरदायी भएर सामाजिक कार्य गर्नु नै सामाजिक संघ-सस्थाको  मूलधर्म हो। 
 
कुनै पनि समुदायको प्रगति त्यो समुदायको सामाजिक स्वरुप कस्तो छ भन्ने कुरामा निर्भर गर्छ।यसका साथै त्यस समुदायमा सञ्चालित संघ-संस्थाले कस्तो प्रकारका सार्वजनिक, सांस्कृतिक, सामाजिकलगायतका समाजमुखी गतिबिधि तथा कार्ययोजना ल्याएका छन् भन्ने कुराले पनि अहम् महत्व राखेको हुन्छ। सामाजिक संघ-संस्थाले त्यो समाजप्रति पुर्याएको योगदान र त्यसले समुदायमा पारेको सकारात्मक प्रभावको आधारमा पनि त्यो कस्तो समुदाय हो?, त्यसको छनक पाइन्छ।
 
अमेरिकाको प्रबासी नेपाली समुदायमा अनेकौ समस्या छन्। सुरुवाती अवस्थामा भोग्नुपर्ने विविध किसिमका तनाव र अज्ञानतासँग जोडिएका समस्या नै मूल समस्या हुन्।तर, जे जस्ता समस्या भए पनि नेपाली जाति अर्काको चहराइरहेको घाउमा मल्हम लगाउने विशिष्ट चरित्र बोकेको सभ्य जाति हो। परदेशमा मात हैन, घरदेशमा परेका प्राकृतिक बिपत्तिलगायका समस्यामा पनि अमेरिकाको नेपाली डायस्पोराले यथेष्ट योगदान गरेको छ। त्यसका लागि व्यक्तिगत पहलभन्दा सामाजिक संघ-संस्थाको भूमिका नै निर्णायक रहदै आएको छ। हामीसँग समाजसेवाको क्षेत्रमा अहम् योगदान पुर्याएका थुप्रै उदाहरणीय सामाजिक संस्था पनि छन्। 
 
अमेरिकामा करिव तीनलाख जतिको संख्यामा नेपाली बसोबास गरिरहेको अनुमान छ। नेपाल जस्तो छ, त्यही विविधायुक्त नेपालको मिनियचर अमेरिकामा पनि पाइन्छ। अहिले अमेरिकाको पचासै राज्यमा नेपालका मिनियचर पुगेका छन्। अनि पुगेका छन्- नेपाली सामाजिक संघ संस्थाहरू।कुनै संस्थागत रूपमै दर्ता भएका छन् भने कुनै कागजी रूपमा दर्ता नभए पनि भावनात्मक रूपमा क्रियाशील छन्। दर्ता भए नभएका दुबै जोड्दा यस्ता संस्थाको संख्या करिव तीन सय भएको अनुमान छ। संस्थाहरू मूलत: क्षेत्रीय, जातिय, भाषिक, धार्मिक, सांस्कृतिक, साहित्यिक आदि रहेका छन्। जे जस्तो कार्यक्षेत्र रहे पनि ती संस्थाहरू प्रवासी जीवनलाई सहज बनाउँदै आफ्नो घरदेशसँग विभिन्न कोणबाट सम्वन्ध प्रगाढ बनाउन नै लागि परेका पाइन्छन्।    
 
सामाजिक संघ-संस्थाको स्थापना ठुलो कुरा हैन, ठुलो कुरा त के हो भने संस्थाले समाजमा के कति प्रभाव पार्न सक्यो ? र, संस्थाको कार्यबाट समाजका बासिन्दा के कति लाभान्वित भए वा समाज रुपान्तरणमा कस्तो नतिजा आयो ? भन्ने नै हो। तर बिडम्वना नै भन्नु पर्छ अमेरिकाका अधिकांश सामाजिक संघ-सस्थाका अभियन्तामा साँचो मानेमा समाजसेवा गर्ने चेतना नै पाईदैन।्
 
समाजसेवाका नाममा राजनीति- समुदायप्रतिको बेइमानी
 
अमेरिकाको नेपाली डायस्पोराका हरेक सदस्य कुनै न कुनै रुपमा नेपाली राजनीतिको स्वाद चाखेरै आएका हुन्छन। नेपाल छँदा आफू आवद्द भएको बिद्यार्थी संगठन, कर्मचारी संगठन वा राजनीतिक संगठनको आस्थालाई ठुलै उपलब्धिका रुपमा प्रस्तुत गर्न पछि नपर्नेको ठुलै जमात यहाँ छ भन्दा फरक पर्दैन। 
नेपालबाट अमेरिकामा आएपछि शुन्यको अवस्थाबाट आफ्नो करियर शुरु गर्नुपर्ने भएकाले सुरूका दिनमा 'सामाजिक'  गतिविधिका केही कमी देखिन्छ। तर, जब एक तहको आधारभूत संघर्ष सकिन्छ, त्यसपछि नेपाल छदाँको आफ्नो पुरानो दबदबा र राजनीतिक स्वाद पुनर्जिवित गराइनछ। अनि, समान राजनीतिक आस्था बोेकेकाको समूहमा सहभागी भई सामाजिक संघ-संस्थाभित्र हस्तक्षेप गर्ने अवस्थामा पुग्ने गरिन्छ। यो गलत परम्पराले अमेरिकाको नेपाली डायस्पोरा आक्रान्त छ यतिबेला। 
 
कुनै पनि सस्था खराव उद्देश्य लिएर स्थापना गरिएको हुदैन।सबै सामाजिक सस्थाका असल र विशिष्ट उदेश्य हुन्छन। तर, लहड र रहरका भरमा नाम कमाउने वा नेता हुने मनसायले ग्रसित मानसिकता बोकेकाहरु हाबी हुदाँ संस्थाको
ब्यबस्थापन प्रणालीको ढाड भाचिएको स्पष्ट देख्न सकिन्छ।एकातर्फ नेपालको राजनीतिको आस्थावानहरुको समुहले सिण्डिकेट खडा गरेको छ भने छ भने अर्कातर्फ सामाजिक संस्था र यसको सञ्चालन बिधिको ज्ञान र अनुभव
नभएकाको हालीमुहालीले अधिकांश नेपालीभाषीका सामाजिक सस्था झोलामा सिमीत हुन् पुगेका छन्। अर्को अर्थमा भन्नु पर्दा यहाँका अधिकांश सामाजिक सस्थालाई नेपालको राजनीतिले तहसनहस पारेको अवस्था छ।
सस्थाको दुई बर्षको कार्यकालमा पहिलो बर्ष जितको उत्सब मनाएर सकिन्छ भने अन्तिम बर्ष गुट-फुट अनि झैँझगडामै सकिन्छ।एक-दुईवटा गोष्ठी तथा भोजभतेर र नेपाली राजनीतिज्ञको भ्रमणका सेल्फीलाई प्रगतिका रुपमा
देखाउन खप्पिस कथित समाजसेवीको ब्यबहार र कार्यशैलीले नेपाली संस्था अलोकप्रिय बन्दै गएका छन्। जनसंख्या बढ्दा पनि संस्थाको सदस्यता संख्याको ग्राफले त्यही देखाउँछ।  
 
अब सस्थागत सुधार कसरी गर्ने?

अमेरिकाको नेपाली डायस्पोरामा रहेका सामाजिक संघ संस्थामा पसेको नेपाली राजनीतिको कारण जुट्नेभन्दा फुट्ने करम बढेको छ। यसल गर्दा एकातिर संस्थाहरू प्रभावकारी हुन सकेका छैनन् भने अर्कोतिर लक्षित बर्ग लाभान्वित हुन नसकिरहेको अवस्था छ। यो अवस्थाबाट पार पाउँन अब के गर्ने त ? यसको पहिलो उपया भनेको समाजसेवा गर्छु भन्नेहरू सर्बप्रथम त सामाजिक हुनु पर्यो। यसको अर्थ पहिला त समाजसेवाको मर्म र धर्म नै बुझ्न आवस्यक छ। त्यो के भने समाजसेवा गर्नु कुनै राजनीति गरे जस्तो हुदै होइन, यो त सेवाभावले स्वस्फुर्त रुपमा गर्नुपर्ने एक धर्म हो। 
 
जब हामी परिवर्तनको कुरा गर्छौ, यसको मतलब आमुल परिर्वतनकै रूपमा सोच्नु आवश्यक छैन।परिर्वतन सानो तर महत्वपूर्ण पनि हुन सक्छ। उदाहरणको लागी समाजमा हुने कार्यक्रम जस्तै: नेपाली भेष , भाषा , कला र संस्कृतिमा हाम्रो दोश्रो पुस्ता तथा जेहेन्दार बालबालिकालाई प्रोत्साहित गर्नै, समाजका मानिसको वास्तबिक समस्यालाई बुझ्नको लागि बैचारिक बहस, जनचेतनामूलक अभियान, सिपमुलक तालिमको ब्यबस्था, स्वरोजगारसम्बन्धी चेतना तथा तालिम, आपसमा भाइचाराको अभिबृद्धिजस्ता स-साना कार्यक्रम लाखौं खर्च गरिने सभा, गोष्ठीभन्दा प्रभावकारी हुन सक्छन्।
 
आफ्नो समाजलाई सही दिशामा डोर्याउने प्रयास समाजकै वुद्दिजिवी तथा संस्था सञचालनका अनुभवीबाट गरिनु आबश्यक छ।आफ्नो समाजलाई सुदृढ बनाउने जिम्मेवारी समाजभित्रकै मानिसहरुको हुन्छ।सामाजिक संस्थाले नेपालको राजनीतिलाई छाडेर बिना पूर्वाग्रह समाजसेवाको मर्मअनुरुप स-साना किसिमका कार्यक्रम ल्याई समाजलाई सहयोग गर्न जरुरी छ। जुन सहयोग उपभोग गर्न सकियोस् तथा भावी पुस्ताको लागि असल र उदाहरणीय बन्दै त्यसले एउटा मानक समाज निर्माण गर्न सकोस्। आफ्ना सन्ततिमा नेपाली भेष, भाषा , कला र संस्कृतिप्रतिको लगाव र प्रेम जगेर्ना गर्न सकियो र उनीहरूलाई आफ्नो मूल (ओरिजिन) नेपाल र नेपालीपनसँग जोड्न सकियो भने त्योभन्दा उत्तम समाजसेवा अरू हुनै सक्दैन। यो सबै ब्यक्तिगत प्रयासबाट मात्र सम्भब छैन त्यसैले यस्ता किसिमका क्रियाकलाप कार्यान्वयन गर्न समाजसेवा गर्नै अभिप्रायले खोलिएका सामाजिक संघ-संस्थाको भूमिका निस्वार्थ र गैर-राजनीतिक हुनुपर्छ।
 
हाम्रो प्रबासी नेपाली समाजमा सुरूदेखि नै कयौं जटिल समस्या छन जसको निराकरण हुन अत्यन्तै आबश्यक छ। तर, यस्ता जटिल समस्या निराकरणका लागि गम्भीर प्रयत्न भएको पाइदैन। अहिलेसम्म भएको के छ भने यो वा त्यो नाममा समस्याको पहिचान भएको छ, देखाउनेहरू बढेका छन् तर समाधान दिने र पछ्याउनेको अभाव छ।यही अभावका कारण समाजमा केही हुन्छ भन्दा केही हुदैन भन्ने खालको नैराश्य छाएको छ। सोसल इञजिनियरिङको कोणबाट हेर्दा सबैभन्दा दुखद् पक्ष नै यही रहेको छ। अहिलेको टड्कारो प्रश्न भनेको यही केही हुदैनलाई केही हुन्छ मा बदल्नु हो। त्यसका लागि समस्या लुकाउने हैन, समस्या देखाएर त्यसको समाधान गर्ने सामाजिक चेत सामाजिक अभियन्ता र समाजसेवीहरूमा आउन जरूरी छ। 
 
तसर्थ सामाजिक सेवाको अभिप्रायले खोलिएका संघ- संस्थामा सर्वप्रथम सबैखाले झण्डावाल राजनीतिलाइ निषेध गर्न आवश्यक छ। त्यसले पहिलो तहको गुटबन्दी सकिन्छ र संस्थामा काम गर्ने वातावरण बन्छ। यसको अर्थ कुनै राजनीतिक आस्था वा वादबाटै मानिसलाई निषेध गर्नुपर्छ भन्ने हैन। यो मानिसको नैसर्गिक अधिकार हो तर त्यसलाई प्राथमिक आधार बनाएर सामाजिक संघसंस्थामा पसियो भने त्यसले बिग्रह मात्र ल्याउँछ। त्यो विग्रहबाट बच्न पहिला त संघसंस्था खोल्ने व्यक्तिहरू नै उदाहरण बन्न सक्नुपर्छ। वाचडगका रूपमा रहेका सामुदायिक सञ्चारकर्मीको पनि यसमा अहम् भूमिका हुन्छ। आफूलाई मन परेको आस्था वा वाद बोकेको मान्छेले गरेको जे लाई पनि वाह देख्ने र मन नपरेकाले गरेको जे मा पनि छिछि देख्ने सञ्चारकर्मीको दृष्टिदोषका कारण पनि अमेरिकाको नेपाली डायस्पोराका समाजसेवी तथा सामाजिक अभियन्ताहरू ठेगान लाग्न नसकेका हुन्। 
 
प्रकाशित मिति: : 2019-05-17 18:07:51

प्रतिकृया दिनुहोस्