साउनको महिना सकिएर भदौ सुरू हुँदै थियो। छिनछिनमै परिवर्तन हुने मौसममा कतिबेला घाम लाग्ने र कतिबेला पानी पर्ने भइरहेको थियो।
त्यसैले गिडिखोलाका मान्छेहरू प्राय घरमै हुन्थे। देशमा संकटकाल लागेकाले लामो यात्रा गर्न धेरै कुरा पूरा गर्नु पर्थ्यो। खेतबारीको काम शिवाय जाने ठाउँ कतै थिएन।
हिमाली भेगमा साउन/भदौमा प्राय: खेतबारीको काम कमै हुन्छ। त्यसैले युवाहरू हातमुख जोर्न भारतका विभिन्न सहरमा जान्थे भने बुढापाका, महिला र बालबालिका गाउँमै हुन्थे। गिडिखोलाको मात्र नभई हालको कर्णाली प्रदेशका अधिकांश जिल्लाको विशेषता हो यो।
गिडिखोला संकटकालको बेला नराम्रोसँग प्रभावित भयो।एकजनालाई सेनाले घरभित्रै गोली हानेर मार्यो। अर्कालाई माओवादीले मरणासन्न हुन्जेल कुटपिट गरेको केही दिनमै मृत्यु भयो। यसरी मृत्यु हुने दुबैजना सर्वसाधारण हुन्, दुवैले नत सेनाको पक्ष लिए नत विद्रोहीको नै पक्षपोषण गरे। तर उनीहरु दुवै युद्वको सिकार भए।
गिडिखोलाबाट दुईजना प्रहरीमा जागीरे थिए भने विद्रोही पक्षमा चारजना।विद्रोही भनिएकाहरू गाउँमा प्रायः आइरहने गर्थे। उनीहरुले गाउँलेलाई जम्मा गरेर राजनीतिक कक्षा सञ्चालन गर्थे। अनि, गाउँमै खाना खाएर जाने गर्थे। त्यसैले बिद्रोही भनिएकाहरु तुलनात्मक रुपमा जनताका नजिक थिए।
सेना भने गाउँमा कहिलेकाँही आउँथ्यो। आउँदा चाहिँ आँधिहुरी बनेर आउथ्यो। त्यसैले गाउँलेहरुले सेनालाई ठीक मान्दैनथिए। पछिल्लो समय गिडिखोलामा माओवादी आएकै दिन सेना पनि गाउँमा आउन थाल्यो। तीन चारपटक यस्तै भयो। घटना दोहोरिन थालेपछि माओवादीहरु पनि गाउँलाई विशेष निगरानी राख्न थाले ।
उनीहरु गाउँमा बेलाबेलामा आएर 'हाम्रोविरुद्ध कसैले सुराकी गर्दैछ हामी अनुसन्धान गरिरहेका छौं।' भन्ने धम्कीको भाषा प्रयोग गर्थे। 'हाम्रो अनुसन्धान सत्यताको नजिक पुग्न लागिसकेको छ। को को हाम्रोविरुद्ध लागेका छन्? हामीले सब रेकर्ड राखिरहेका छौ,' जस्ता वाक्य प्रयोग गरी कलेजाका पाता थर्काउँथे।
'कसैले अहिले आत्मासमर्पण गर्छ भने हामी केही गर्दैनौ' भन्दै उर्दी जारी गर्थे। उनीहरू जान्थे, त्यही राति सेना गाउँमा आएर गाउँ घेराउ गरेर गाउँलेलाई आदेश दिन्थे- ‘तपाईंहरूको गाउँ शाही सेनाले घेरिसकेको छ। घरको झ्याल/ढोका राम्रोसँग बन्द गर्नुहोस र नजिकको विद्यालयमा जम्मा हुनुहोस्।’
चोकमा रहेको विद्यालयमा सबै गाउँले जम्मा हुन्थे। सेना आउँथ्यो। सर्वसाधारणलाई प्रश्न गर्थ्यो। विद्यालयमा शिक्षकले विद्यार्थीलाई प्रश्न गरेजस्तै गरेर। अनि, कमजोर विद्यार्थीले आफ्नो गुरूसमक्ष उत्तर दिएजस्तै गाउँलेले उत्तर दिन्थे। सेना प्रश्नमाथि प्रश्न गर्थ्यो।
'प्रश्न: ल भन हिजो माओवादी कस्ले बोलाएको हो?’
'उत्तर: थाहा छैन सर।'
'प्रश्न: त्यसो भए उनीहरू कहाँ छन्?'
'उत्तर: गए सर राति नै।'
'प्रश्न: कहाँ गए?'
'उत्तर: थाहा छैन सर।'
सालाहरू केही पनि थाहा छैन भन्छन् यार। केही त थाहा हुनुपर्छ। ल बस साला भन्दै एक लात हान्छ।गाउँलेलाई लाग्थ्यो यदि यी प्रश्नको नम्बर पाउने भए कति उत्साहका साथ उत्तर दिन तम्सिने थियौं।
'अव माओवादी आए भने हामीलाई खबर गर्ने है।' भन्ने कमाण्डरको आदेशमा गाउँलेहरु 'हुन्छ सर' र 'हवस् सर'को कर्तव्य निभाउँछन्। उनीहरु हस बहादुर र हुन्छ बहादुर बन्छन्। स्कुलका विद्यार्थी र गाउँलेमा एउटा शब्दमा मात्र फरक देखिन्छ। विद्यार्थी एस सर भन्छन् गाउँलेहरु हुन्छ वा हस सर।
यस्तो संवाद करिब एक घण्टासम्म चलेपछि सेना त्यहाँबाट अलि पर एक चौरमा गएर केही समय परेड खेलेर फर्किन्छ। बिस्तारै धानको खेतका आलीबाट दुई जना हतियारसहितका माओवादी देखिन्छ् र उनीहरु पनि हतार हतार गर्दै जंगलतिर लाग्छन्।
हामी एउटा घरको छतमा बसिरहेका थियौं। गाउँमा के के भयो?, हामीलाई केही थाहा थिएन। वातावरण शान्त भइसकेपछि गाउँतिर घुम्न निस्कँदा एउटा अर्को घरमा मान्छेको ठूलो भीड लागेको थियो। महिलाको रूवावासी चलिरहेको थियो। केही मानिसले सम्झाउँदै थिए। एकजना भर्खरकी महिला सबभन्दा बढी विलाप गरिरहेकी थिइन्। उनलाई सबैले सम्झाइरहेको थिए। सान्तवना दिइरहेका थिए। हामी छौ भन्दै भरोसा दिइरहेका थिए।
खास के भएको रहेछ थाहा पाउनै सकिएन। पछि बुझ्दा सेनाले उनको लोग्नलाई गोली हानेर घरमै मारेछ। सेना घरको छतबाट आँगनमा झर्दै गर्दा घरभित्रबाट डराएर ढोका बन्द गर्न लाग्दा सेनाले माओवादी सम्झेर गोली चलाएछ। पछि रेडियो नेपालले समाचार बजायो ‘गिडिखोलामा एकजना माओवादी आतंककारी सेनाको कारबाहीमा मारियो’ भनेर।
सेनाका ठुला मान्छेले घटनाको गर्वसाथ व्रिफिङ गरे।
दुई सातापछि हतियारसहित एक फौंज माओवादी गाउँमा आए। भोजभतेर गरे। त्यही राति सेना फेरि गाउँमा आयो। सेना र माओवादीबीच दोहोरो भिडन्त भयो। सेनाको तुलनामा माओवादी कम भएपछि भागे। भाग्ने क्रममा एकजनालाई सेनाले धानको खेतमा समातेर मरणासन्न हुने गरी कुटपिट गर्दै गाउँ परिक्रमा गरायो।
गाउँकी सम्झनाले त्यो माओवादीलाई देखेपछि 'यस्ले त हामीलाई खुब दुःख दिएको थियो ठीक भयो' भनेकी रहिछन्।उनलाई लागेको थियो सेनाले समातेको मान्छे कहाँ बाँच्ला र ? उनले ती माओवादी लडाकुबाट दुःख पाएकी हुनाले आवेग पोखेकी मात्र थिइन्।
एक साताअगाडि गाउँमा सेनाले गोली हानेर छिमेकी मारेको घटनालाई ख्यालै नगरी आफ्नो मुखबाट शब्द फुत्क्याइ हालिन्।
सेनाले पनि उनको शब्द सुनेर समातिएको माओवादीलाई झन् केरकार गर्यो। बाघको बथानमा रहेको बाख्रोजस्तै भएको माओवादी लडाकु भने जिउँदै मरेजस्तो देखिन्थ्यो।
सेनाले पनि उसलाई मार्नको लागि धेरै गोली खर्च गर्न आवश्यक ठानेन। गाउँभन्दा अलि तलको खोला किनारैमा एक राउण्ड गोली हान्यो, ऊ ढल्यो। घाँटीबाट रगत आयो। उनीहरू हिँडे।
गोली लागेको माओवादी मरेको थिएन। केही समयपछि ऊ उठ्यो। उसका साथीहरु आए। लिएर गए। ऊ नमरेको जिवितै रहेको र उसको उपचार भइरहेको कुरा गाउँभरि फैलियो।
त्यही साँझ रेडियो नेपालले सेनाको कारबाहीमा गिडिखोलामा एकजना अर्को माओवादी विद्रोहीको ज्यान गयो भनेर समाचार प्रसारण गर्यो।
त्यतिबेला अहिलेको जस्तो सञ्चारको विकास भइसकेको थिएन।आजको जस्तो लोकप्रिय सामाजिक सञ्जाल फेसबुक पनि थिएन। दूरदराजमा पत्रपत्रिकाको पहुँच हुने त झन् कुरै भएन। आजको जस्तो सञ्चारको तिब्र विकास भएको भए 'सेनाले कारवाहीमा मार्यौ भनेको माओवादी लडाकु जिवितै’ भन्ने समाचार आइहाल्थ्यो होला।
त्यसको एक सातापछि गाउँमा माओवादीहरू फेरि आए, विद्यालयमा कार्यक्रम गरे। त्यहाँ आएका प्रमुख अतिथिले बोले- 'हामीले सबै थाहा पाइसकेका छौं। यो गाउँमा कसैले हाम्रोविरूद्धमा सुराकी गरिरहेको छ। जुन दिन हामी आउँछौं। त्यही दिन यहाँ दुश्मन किन आउँछ? भन्ने कुरा पनि हामीले सबै थाहा पाएका छौं। तपाईंहरू माफी माग्नुहोस्। माफी मागेको खण्डमा केही गर्दैनौं। यदि माफी नमागेको खण्डमा पार्टीले जनकारबाही गर्छ।'
उनी बोल्दै जान्छन् ‘अस्तल हाम्रो साथीलाई दुश्मनले समातेको बेला यसलाई मार्नुपर्छ भन्ने महिला को हो? यदि तपाई यहाँ हुनुहुन्छ भने माफी माग्न सक्नु हुन्छ। होइन भने तपाई पनि हाम्रो लिष्टमा पर्नु हुन्छ,' धम्कीको भाषामा बोल्दै प्रमुख अतिथिले आफ्नो जोशिलो मन्तव्य सकाए।
कार्यक्रम सञ्चालकले भने,'अब हाम्रो तालिकाअनुसार माफी माग्न लगाउने कार्यक्रम रहेको छ। यदि कसैले जानी नजानी हामीविरुद्ध गतिविधि गरेको भए तपाईंहरुले माफी माग्न सक्नु हुनेछ। समय एक घण्टा दिइएको छ।' आधा घण्टासम्म कसैले माफी मागेन।
करिब आधा घण्टापछि मान्छेहरुको भिडबाट एक छेउमा सम्झना देखिइन्। के बोल्ने, के नबोल्ने मनमा कुरा खेलाउँदै। रातो-पिरो डराएको मुद्रामा मञ्चमा गइन्। उनको लागि मञ्चमा गएर बोल्ने कुरा नयाँ थियो। त्यसैले उनले जे बोल्छु भनेर गएकी थिइन त्यो बोल्न सकिनन्।
मुस्किलले दुई-चार शब्द बोलिन् 'मैले केही भनेकी थिइनँ तपाईंको साथीलाई सेनाले समातेको थियो मैले देखेँ यसलाई छोडिदिए हुने थियो मात्र भनेकी हुँ।' डरैडरमा बोली फेरिन्। तर पनि माफि मागिन्। दुई हात जोडेर।
सञ्चालकले उनलाई धन्यवाद दिँदै सभापतिलाई कार्यक्रम समापन गर्न अनुरोध गरे। सभापतिले 'आजसम्म जे भए भयो अबदेखि तपाईंहरूले नजानेर पनि हाम्रो विरोध नगर्नुहोला' भनेर कार्यक्रम समापन गरे।
एक सातापछि माओवादीहरू राति सम्झनाको घरमा आएछन् र सम्झनालाई थला पर्नेगरी कुटेछन्। उनी हप्ता/दस दिनसम्म उठ्न सकिनन्। उनको उपचार गर्ने मान्छे पनि थिएन गाउँमा। उपचार गर्नको लागि एक दिन लगाएर जिल्ला सदरमुकाम जानुपर्थ्यो।
गाउँलेको कसैले उपचार गराइदियो भने ती माओवादीको निशानामा पर्थे। त्यसैले सम्झनालाई कसैले छुने आँटसम्म गरेनन्।
उपचारको लागि सदरमुकाम जान पनि निकै कठिनाई भोग्नुपर्थ्यो। गाउँका मान्छे जति सबैलाई माओवादी देख्ने चश्मा आर्मी पुलिसले लगाएका थिए। त्यसैले गाउँका मान्छेलाई केरकार गर्ने, लात हान्ने गरिरहेका हुन्थे।
त्यसैले गाउँका अधिकांश गाउँले सदरमुकाम जान डराउँथे।अत्यावश्यक काम परेको खण्डमा बाहेक बजार जादैन थिए। सम्झनाले अस्पताल नदेखेरै संसार छोडिन्। कुटेपछि एक दिनपछि उठ्न नसकेर सुतेको सुत्यै भइन्।
एक महिनाको अवधिमा गिडिखोलाले दुईजना गुमायो। राज्यपक्ष र विद्रोहीपक्ष दुबैले मान्छे मारे। दुबै पक्षले जुहारी खेले, कोभन्दा को कम भने।
परिणाम प्रतिस्पर्धा गरेर एक/एक गाउँले मारे।यो देखेर मलाई धादिङ जोगिमाराका मजदुरलाई कालिकोटको कोटबाडा विमानस्थल बनाउने काम गर्दैगर्दा सेनाले माओवादी भनेर गोली हानेर मारेको याद आयो। ती मजदुरहरुको लासमा सेना र माओवादीले गरेको व्यवहार याद दिलायो।
त्यतिबेला सेनाले मजदुर मारेर माओवादी आतंककारी मार्यौं भनी उनीहरूको लाशअगाडि हतियार राखेर फोटो खिचेर आतंककारी करार गरेको थियो।
भोलिपल्ट माओवादी आएर तिनै लासमा रातो झण्डा ओडाएर वीर शहीद लालसलामको नारा लगाएका थिए। न उनीहरु माओवादी थिए न त सत्तापक्षका धुरन्धर ठेकेदार।
त्यसपछि सेनाले गिडिखोलाका गाउँलेलाई झन् टार्गेटमा राख्यो। जिल्लाको कुनै ठाउँमा माओवादीले आक्रमण गरेको भोलिपल्ट सेना गाउँ पुग्थ्यो। युवालाई केरकार गर्थ्यो। बुट बजार्थ्यो।
२०५९ कात्तिक २८ गरे माओवादीले जुम्ला सदरमुकाम हमला गरे। त्यसको केही दिनमा सेना गाउँ पुग्यो। गाउँका एकजना युवा गोठमा गाई दोएर निस्कदै थिए। सेनाले उस्लाई सोधिहाल्यो।
'ओई दुध माओवादीलाई दिने हो?'
'होइन सर छोरीले खाने हो,' उनले सोझो उत्तर दिए।
सेनाको फेरि प्रश्न आयो- 'श्रीमती छ?'
'छैन सर'
सेनाले साला श्रीमतीबिना छोरी कसरी हुन्छ? भन्दै नजिकै रहेको निगालोको लठ्ठीले उसको ढाडमा हिर्कायो। उसको ज्याकेटबाट धुलो आयो। त्यो देखेर नजिकै बसेका अर्का एकजना बेस्सरी हाँस्यो।
हाँसेकै कारण उनले कान समेतेर १०० पटक उठबस गर्नुपर्यो। त्यतिबेला सेना प्रश्न गर्ने मास्टरजस्ता र गाउँले विद्यार्थीजस्ता हुन्थे। मास्टर र सेनामा यत्ति फरक थियो मास्टर सिकाएर प्रश्न गर्थे। उनीहरु नसिकाएरै। मास्टरले सोध्दा स्वभाविक लाग्थ्यो। उनीहरुले सोध्दा डर।
गाउँमा आउने सेनाका जवानको व्यवहार एकैनासको हुदैनथ्यो।कोही साह्रै राम्रा हुन्थे।त्यो देखेर गाँउलेहरु अस्ति आएका सेना वीरेन्द्र राजाका हुन् त्यसैले उनीहरु राम्रा छन् भन्थे। अर्को दिन आएका त ज्ञानेन्द्रका रहेछन्। त्यसैले उनीहरु साह्रै रुखा छन् भन्थे।
त्यही समयमा दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको परिवारका सबैको हत्या भयो। उनका माइला भाइ ज्ञानेन्द्र राजा भए। वीरेन्द्र राजा हुँदासम्म सेना परिचालन भएको थिएन।त्यसैले राजा वीरेन्द्र राम्रा हुन् भनेर गाउँलेहरुमा परेको थियो।
ज्ञानेन्द्रलाई आफू राजा हुनेवित्तिकै सैनिक शासन लगायो भनेर ठीक मान्दैन थिए। गाउँलेलाई आफूले सेनाबाट पाएको सास्तीको कारण राजा ज्ञानेन्द्र हो भन्ने लाग्थो। सास्तीकै आधारमा गाउँलेहरु वीरेन्द्र र ज्ञानेन्द्रबीच तुलना गर्थे।
यसरी नेपालमा दस वर्ष चलेको द्वन्द्वपछि देशमा देखिने थुप्रै परिवर्तन भए। कतिले व्यक्तिगत लाभ लिए। रोडकाहरु करोडमा पुगे। त्यसबेला सुराकी भनिएकाहरु आज धुरन्धर माओवादी छन्। चपेटामा परेका गाउँलेहरुका घाउ आजपनि आलै छन्। न उनीहरुको जीवन परिवर्तन भयो न घाउमा मल्हम लगाउँने काम नै भयो।