महोदय, तपाईंलाई कति वटा देश र नागरिकता चाहिन्छ?

तस्बिरः बिएल

नेपालको संसदमा एक जना नेपालीलाई दुई खालका नागरिकता दिनु हुँदैन भन्ने कोणबाट बहस सुरू भएको छ। संघीय संसदको राज्य ब्यवस्था समितिमा पुगेको यो विषय निर्क्यौल हुन बाँकि नै छ। तर, यति नै बेला संसारभर छरिएर रहेका गैरआवासीय नेपालीमाझ यो मुद्दाले प्रवेश पाएको छ। र, सामाजिक सञ्जालको तहमा यसको क्रिया/प्रतिक्रिया पनि उत्पन्न भैरहेको छ। अमेरिकाको नेपाली डायस्पोरा यो मामलामा निक्कै अगाडि देखिएको छ।

नेपालमा यतिबेला चार खालका नागरिकताहरूको व्यवस्था गरिएको छ- जन्मसिद्ध, वंशज, अंगीकृत र गैरआवासीय । यस अतिरिक्त मानको खातिर मानका लागि मानार्थ नागरिकताको पनि व्यवस्था छ। अघिल्ला खालका तीन नागरिकता प्राथमिक नागरिकता हुन् भने पछिल्ला दुईखाले नागरिकता भने अघिल्ला खाले हैनन्। मानार्थ नागरिकता त मानको खातिर मात्र हो त्यो विदेशी नागरिकलाई प्रदान गरिन्छ। तर, यसपटकदेखि व्यवस्था गरिएको गैरआवासीय नागरिकता भने विदेशमा रहेका भावनाका नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिने प्रयोजनका लागि ब्यवस्था गरिएको नागरिकता हो।यसमा राजनीतिक अधिकार चाँहि पटक्कै छैन।

विदेशमा बसेका गैरआवासीय नेपालीले सुरूदेखि नै 'एकपटकको नेपाली : सधैको नेपाली' को नाराअन्तर्गत दोहोरो नागरिकताको माग गर्दै आएका छन्। सरकारले त्यही मागलाई सम्बोधन गर्न गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिदियो। यसका लागि अभियान चलाइरहेको गैरआवासीय नेपाली संघले यो उपलव्धीलाई संस्थागत रूपमा स्वीकार गर्यो।यसको सिधा अर्थ थियो, अब कुनै पनि गैरआवासीय नेपालीले एउटा सम्बन्धित देशको नागरिकता राख्न पाउँने भयो, अर्को नेपालको गैरआवासीय नेपाली नागरिकता पनि राख्न पाउँने भयो।

अहिले संसदमा चलेको बहस यही हो र यसरी नै व्यवस्थापन गर्न लागिएको हो। तर, यसलाई विभिन्न कोणबाट उल्टो/सुल्टो अर्थ लगाउने प्रयत्न भएर समाजमा भ्रम फैलाउँने काम भएको छ। खासगरी नेपालको संसदमा प्रतिपक्षमा रहेको कांग्रेस समर्थित गैरआवासीय नेपालीहरू नेपालको वामपन्थी सरकारले गैरआवासीय नेपाली नागरिकता खारेज गर्न लागेको र नेपालमा रहेको सम्पति असुरक्षित भएको भनेर भ्रम छरिरहेका देखिन्छन्।उनीहरू निकट रहेका 'डट कम' मा यस्तै खाले समाचार सम्प्रेषण भएका छन् । त्यही आधारमा त्यस्तै कोणका स्टाटसहरूले सामाजिक सञ्जालका भित्ताहरू रंगिएका देखिन्छन् ।

नेपालको संविधानमा प्रष्टसँग गैरआवासीय नागरिकताको प्रावधान रहेकाले यो हट्न सक्ने स्थिति नै छैन। यो हटाउन दुई-तिहाई बहुमतले संविधान नै संशोधन गर्नुपर्ने हुन्छ।संघीय संसदमा प्रचण्ड बहुमत रहेको बर्तमान सत्तारूढ दल र त्यसका सांसद नै यो प्रावधानको विपक्षमा छैनन्। त्यसैले अहिलेको अवस्थामा गैरआवासीय नेपाली नागरिकता हटाउन लागिएको भन्ने कुरा तथ्यसंगत हुनै सक्दैन।

तर, के चाँहि सत्य हो भने अब एकजना नेपालीले एक प्रकारको एउटै मात्र नागरिकता राख्न पाउँछ। उसलाई जन्मसिद्ध, वंशज, अंगिकृत वा गैरआवासीय नेपालीमध्ये एउटा मात्र राख्ने अधिकार हुन्छ।पहिला तीनमध्ये एक हुने निश्चित आधार छन्, त्यसैको आधारमा हुने हो। तर, अब गैरआवासीय नेपाली नागरिकता लिनेले नेपालकै अर्को एउटा नागरिकता भने लिन पाउँदैन। यो भने सत्य हो।एकजना व्यक्तिले एउटै देशको दुई खालको नागरिकता लिने भन्ने कुरा सैद्धान्तिक रूपमा पनि सही हैन।

गैरआवासीय नेपाली नागरिक अब ऊ आफू बसेको देशको नागरिकतासहित नेपालको गैरआवासीय नेपाली नागरिक मात्र हुन सक्छ। यसो गर्दा उसले गुमाउँने भनेको राजनीतिक अधिकार मात्र हो। जस्तो कि कोही पनि नेपालीले अमेरिकी नागरिकता लियो भने उसले नेपालको गैरआवासीय नागरिकता मात्र लिन पाउँछ।उसले सुरूमा प्राप्त गरेको नागरिकता भने कायम राख्न सक्दैन। यसको अर्थ उसले एकसाथ नेपालका दुईवटा र अर्को देशको एउटा गरी तीन वटा नागरिकता राख्न सक्दैन।

सत्य यही हो , यसमा के खराबी छ ? केही मानिसहरूको स्टाटस हेर्दा उनीहरूलाई अहिले भएको नेपालको नागरिकता पनि राख्नु पर्यो, गैरआवासीय नेपाली नागरिकता पनि राख्नुपर्यो अनि जुन देशमा बसेको हो त्यही देशको नागरिकता पनि पाउँनु पर्यो। एउटै देशको दुई प्रकारको नागरिकता राख्ने चाहना आफैमा सामान्य चाहना हैन। यस्तो असमान्य चाहना राखेर जगत हसाउँने काम नगर्नु नै सबैको हितमा होला ।

मलाई सोध्नुहुन्छ भने म नागरिकतालाई कागजको र भावनाको गरेर दुई श्रेणीमा बाँढ्छु। अहिले पनि म यी दुबै कोणबाट नेपालको जनम्सिद्ध नागरिक हुँ। एक बारको जुनीमा आधाभन्दा बढी जीवन बाँचिसके, सकेसम्म नेपालकै जन्मसिद्ध नागरिकता राख्छु।कागजको पनि भावनाको पनि।कथंकदाचित नसक्ने प्राविधिक परिस्थिति आयो भने जन्मभूमिप्रति माफी माग्दै कागजको नेपाली नागरिकता फिर्ता गरेर भावनाको नागरिकता भने राखिरहन्छु। म बसेको मुलुकको नागरिकता लिन्छु र खुशी हुने प्रयास गर्छु।

मेरो लागि नागरिकता यसै पनि प्राविधिक विषय मात्र हो। कागजको नागरिकता जहाँको राखे पनि भावनाको नेपाली नागरिकता राख्ने मेरो जन्मसिद्ध अधिकार कसैले खोस्न सक्दैन। जब म आचरण र व्यवहारमै नेपाली हुन सक्दिन भने कागजको नेपाली नागरिकता राखेर पनि केही हुदैन। त्यसबाट आफ्नो जन्मभूमीको सम्मान हैन, अपमान मात्र हुन्छ।

जब यथार्थ यस्तो हो भने केही मानिसहरू भने नागरिकता पनि थोकमा राख्नुपर्छ जस्तो गरेर तमासा देखाइरहेका छन्। यो देखेर एउटा प्रश्न गर्न मन लागेको छ- हैन महोदय, एक बारको जुनीमा तपाईलाई कतिवटा देश र नागरिकता चाहिन्छन् हँ?

प्रकाशित मिति: : 2019-03-17 20:43:18

प्रतिकृया दिनुहोस्