पुस्तकमा कर्णाली प्रदेशका प्रमुख गन्तब्यहरू

तस्बिरः बिएल

कर्णाली प्रदेशका दश वटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यलाई समेटेर फोटो किताब प्रकाशन भएको छ।

इकोनोमिक रिफर्म मिडिया प्रालिले भू तथा जलाधार व्यवस्थापन कार्यालय, कर्णाली प्रदेश सुर्खेतको सहकार्यमा भरतबन्धु थापाको लेखन तथा तस्वीर समावेश गरेर ‘गन्तव्य कर्णाली’ किताब प्रकाशन गरेको हो।

गन्तब्य कर्णाली फोटो किताबमा रारा तालदेखि नेपालकै सबैभन्दा उच्च स्थानमा रहेको मानव बस्ती डोल्पाको धो तराप, प्राकृतिक ज्वालाहरुको क्षेत्र दैलेख, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दैलेखको दामुपाललगायतका तस्वीरहरु समावेश छन्।

किताबमा कर्णाली प्रदेशका सबै जिल्लाका पर्यटकीय नक्शासमेत राखिएको लेखक थापाले जानकारी दिए।

‘अथाहा सम्भावना बोकेको कर्णालीलाई यति सानो किताबमा कहाँ समेट्न सकिन्छ र?’, थापाले भने, ‘तर पनि केही जानकारी तथा कर्णालीको विषयमा प्रचारप्रसार होस् भन्ने हेतुले यो प्रकाशन गरिएको हो।’

थापाले यसअघि पश्चिम नेपालको पर्यटन प्रवर्धन गर्नका लागि दैलेख, सुर्खेत, धनगढी, बाँके, काठमाडौंलगायतमा पश्चिम नेपालका पर्यटकीय स्थलको तस्बिर प्रर्दशनी गरिसकेका छन्।

यस्तै थापाले बाघ हेर्नका प्रख्यात मानिने बर्दियाको पर्यटकीय नक्सासमेत प्रकाशन गरिसकेका छन्।

‍थापाले यसअघि पश्चिम नेपाल अर्थात तत्कालीन मध्य र सुदूर पश्चिमलाई समेटेर वाईलड वेष्ट नेपाल फोटो किताव प्रकाशन गरेका थिए। 

प्रकाशित मिति: : 2019-08-21 17:32:15

प्रतिकृया दिनुहोस्