दक्षिणपूर्वी एसियाको सानो देश कम्बोडिया। यसमा पनि हाम्रो देशको पर्यटकीय शहर पोखराभन्दा सानो शहर सेम रिप।
केही महिनाअघि घुमफिरको क्रममा गाउँले दाजु रोशन बर्देवा र साथी अमरदीप कोइरीसँगै कम्बोडिया जाने अवसर जुरेको थियो।
कम्बोडियाको राजधानी फोमपेन पुगेपछि थाहा भयो, कुनै पनि विदेशी पर्यटक कम्बोडिया घुम्न आउँछ र त्यहाँ पुगेपछि सेम रिपस्थित ‘अंकोर वाट’ मन्दिरको दर्शन नगरि फर्किन्छ भने उसको कम्बोडिया यात्रा असफल भएको मानिन्छ।
स्थानीय खमेरबाट यो कुरा सुनेपछि हामी राती नै प्रत्येक व्यक्ति ११ अमेरिकी डलर पर्ने रात्रीकालिन बसको टिकट काटेर सेम रिप हानिएका थियौं।
फोमपेनबाट राती ८ बजे छुटेको बसले बिहान ५ बजे हामीलाई सेम रिप उतारेको थियो। बिहान गाडीबाट उत्रिँदा मलाई सेप रिप चितवनको सौराहभन्दा फरक लागेन– पुरै शहर गाउँ जस्तो।
हेर्दा सानो लागेपनि होटलहरू करिब ३ हजारको हाराहारीमा बनेका छन्, सेम रिपमा ।
बिहान होटलमा केही समय विश्राम गरेपछि हामी कम्बोडियाको चर्चित ‘अंकोर वाट’ मन्दिरको दर्शन गर्न बाहिर निस्किएका के थियौं एक ‘टुकटुक’ चालकले सोधिहाले–‘नमस्ते! कहाँबाट आउनु भयो?’
हाम्रो सहज उत्तर थियो, ‘नेपाल।’
‘टुकटुक’ चालक निकै स्मार्ट रहेछ। उसले प्रतिप्रश्न गर्यो, ‘बुद्ध जन्मिएको देश?’ उसको प्रश्न मिश्रित उत्तर सुनेर हामी उसै दंग पर्यौं ।
उसले ३० अमेरिकी डलरमा दिनभरि घुमाउने बचन दियो।
हामी कुनै मोल–मोलाइजा बिना उसको ‘टुकटुक’मा सरक्क चढेर ‘अंकोर वाट’ तर्फ हानियौं।
‘टुकटुक’ चढ्दा हामीलाई लागेको थियो, काठमाडौंमा पशुपतिनाथ दर्शन गरेजस्तै १ घण्टा घुमाएर उसले होटलमा छोडिदेला?
तर, होइन रहेछ। कम्बोडियाली सरकारले ‘अंकोर वाट’ का लागि विशेष योजना बनाएको रहेछ।
५ किलोमिटर क्षेत्रफलमा फैलिएको यो मन्दिर वरिपरि पनि सरकारले उत्तिकै लगानी गरेको छ। मन्दिर दर्शन गर्न विदेशी पर्यटकले ३७ डलर तिर्नुपर्छ। यहाँको बाटोघाटो विश्वस्तरको छ। खानपिन नेपालभन्दा निकै सस्तो। १५ सय नेपालीमा त सुविधासम्पन्न होटल नै पाइन्छ। नेपाली ६० रुपैयाँमा एक क्यान बियर।
नेपालले सन् २०२० मा पर्यटन वर्ष मनाउँदै छ। र, यसको उद्देश्य २० लाख पर्यटक भित्राउने रहेको छ।
तर, सेम रिपमा रहेको एक मात्र मन्दिर ‘अंकोर वाट’ हेर्न २० लाखभन्दा बढी पर्यटक भित्रिने गर्छन्। यो एउटै मन्दिरका कारण शहरको विकाश भएको छ।
‘अंकोर वाट’ १२ औं सताब्दीका शाषक सूर्यबर्मन द्धीतियले निर्माण गर्न लगाएका हुन्। पहिले कम्बोडियामा हिन्दुहरूको शाषन रहेको मानिन्छ। १२ औं सताब्दीको अन्त्यबाट मात्र यहाँ बुद्धका स्तुपाहरू निर्माण हुन सुरु गरेको भनाई छ।
‘अंकोर वाट’ विष्णु भगवानलाई समर्पीत गर्दै सूर्यबर्मनले निर्माण गरेका हुन्। १२ औं सताब्दी अगाडि ‘अंकोर वाट’ खमेर शाषकको राजधानी भएको र यसको नाम यशोधरापुरा रहेको इतिहासबाट थाहा हुन्छ।
बलौटे ढुंगाले बनेको ‘अंकोर वाट’ वरिपरि ‘हजार लिंगम’ अर्थात एक हजारवटा बुद्धका मुर्तीहरू छन्। जुन विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र मानिन्छ।
पछिल्लो समय यो ठाउँमा सुटिङ गर्ने होडबाजी नै चलेको छ। दक्षिण भारतका प्रायः फिल्ममा ‘अंकोर वाट’को दृश्यहरू पर्याप्त मात्रामा देखिन सकिन्छ।
कम्बोडिया पहिले फ्रान्सको उपनिवेश थियो। सन् १९५३ मा स्वतन्त्र भएपछि कम्युनिस्ट शाषक पोलपोटको क्रुरताका कारण धेरै वर्ष बदनाम रहयो।
सन् १९९२ मा ‘अंकोर वाट’ मन्दिर युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश नहुँदासम्म यो ठाउँको विषयमा धेरैलाई थाहा थिएन।
‘अंकोर वाट’ सन् १९९० मा पर्यटकका लागि पहिलो पल्ट खुला गरिएको हो। १९९३ मा यहाँ ७ हजार ६ सय ५० पर्यटक घुम्न आएको सरकारी तथ्याङ्क छ। तर, २०१२ मा आइपुग्दा यो मन्दिरले वर्षमा २० लाख पर्यटक भित्र्याउने कीर्तिमानलाई अंगिकार गरिसकेको थियो।
विश्व ट्राभल एन्ड टुरिजम काउन्सिलले सन् २०१८ मा निकालेको तथ्याङ्कलाई आधार मान्ने हो भने कम्बोडियाले बर्षेनी नेपालभन्दा ६ गुणा बढी पर्यटक भित्र्याउने गरेको छ।
गत वर्ष कम्बोडियामा ६२ लाखभन्दा बढी पर्यटक भित्रिएका थिए भने नेपालमा ११ लाख ७३ हजार पर्यटक प्रवेश गरे।
‘कम्बोडियामा अहिले २० लाख भन्दा पनि बढी विदेशी पर्यटक एउटा मन्दिर हेर्न आउँछन्। यो सबै सरकारी योजना र प्रचारको प्रभाव हो,’ राजधानी फोमपेन र सेम रिपमा होटल व्यवसाय गरेर बसेका लालसिंह खड्का भन्छन्–‘हाम्रो देशमा ‘अंकोर वाट’ जस्तो पुरातात्विक महत्वका थुप्रै शहर र मठ मन्दिर छन्। अझै प्राकृतिको त्यति ठूलो बरदान छ। विश्वको उच्च सगरमाथा त्यही छ। बुद्ध जन्मिएको ठाउँ त्यही छ। यति हुँदा पनि कम्बोडियाको एउटा मन्दिरले भित्र्याउन सक्ने पर्यटक हामीले भित्र्याउन नसक्नु भनेको केही न केही कमजोरी त पक्कै छ।’
नेपालभन्दा कम जनसंख्या भएको कम्बोडियाले गत वर्ष ४ अर्ब ३५ करोड अमेरिकी डलर आम्दानी गरेको थियो। नेपालले ९८ करोड २५ लाख डलर मात्र भित्र्याउन सफल भयो।
कम्बोडियामा हाल १ करोड ६५ लाख जनसंख्या छ भने नेपालको जनसंख्या ३ करोड नाघ्न लागिसकेको छ।
यतिबेला नेपाल पर्यटन बोर्ड सन् २०२० को पर्यटन बर्षलाई सफल बनाउन सक्रिय छ। तर, उसले दुरगामी रुपमा देशको पर्यटन प्रवर्द्धन गर्ने हो भने कम्बोडियाको यो एउटा ऐतिहासिक मन्दिरबाट ठूलो शिक्षा लिन सक्छ।