बिहीबार किराँत समुदायले उधौली पर्व मनाएका छन्।
किराँत राई यायोख्या जिल्ला कार्यसमिति ललितपुरले बिहिबार ललितपुरमा साकेला उधौली २०७६ आयोजना गरेको थियो। किराँत समुदायले खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन्।
किराँतभित्रका विभिन्न जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने किराँत राई यायोख्या तीन नंवर प्रदेश समन्वयन समितिका अध्यक्ष सुमन राइले जानकारी दिए। मंसिर शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउने किराँत समुदायले बाली लगाउने बेला अर्थात वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाउने प्रचलन छ।
भूमि पूजाका लागि बिहानैदेखि किँरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रुङ ढोल झ्याम्टासहित बाजाको तालमा नाच्दै पर्व मनाउने ठाउँमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन रहेको संयोजक राइले बताए।