गाउँमा खानेपानी थिएन। नजिकमा मुहान नभएको र टाढाबाट पानी ल्याउनका लागि स्रोतसाधनको अभावका कारण बागलुङको निसीखोला गाउँपालिका वडा नं ३ का सर्वसाधारणले खोल्साखाल्सी र टाढाको पधेँरा धाउनुपर्ने बाध्यता थियो।
टाढै रहेको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनेपछि अब त्यहाँको समस्या हटेको छ। वडा नं ३ बोहरागाउँमा अहिले ‘एक घर एक धारा’ जडान भएका छन्।
अभियानस्वरुप घरघरमै धारा बनाएर खानेपानीको जोहो गरेको गाउँलेहरु बताउँछन्। सार्वजनिक धारा अन्त्य गरेर घरघरमै धारा बनाएपछि खानेपानीको बचाउ हुने र सदुपयोगसमेत हुने भन्दै अभियान चलाइएको हो।
स्वच्छ खानेपानीको बिस्तार गरेर पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने तयारीसमेत बनाइएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए। भएका पुराना योजना मर्मत गर्ने र पुनःनिर्माणको अभियान पनि थालिएको छ।
सार्वजनिक धाराको अन्त्य गर्दै मिटर जडान गरेर घरघरमा पानीका धारा लैजाँदा संरक्षण हुने र लगानी खेर नजाने उनले बताए। जिल्लाकै दुर्गम मानिने निसीखोलामा मध्यपहाडी लोकमार्ग बनेकाले सडक छेउछाउमा बजार बढ्न थालेको छ।
बजार क्षेत्रमा पहिलो चरणमा योजना सफल बनाएपछि ग्रामीण बस्तीमा पनि योजना लैजाने तयारी छ। देविस्थान, बोहोरागाउँ, निसी र भलकोट लगायतका बजारउन्मुख क्षेत्र, मध्यपहाडी लोकमार्ग आसपासमा खुलेका होटल तथा रेष्टुराँमा पहिलो चरणमा यस्ता धारा जडान गरिसकेका छन्।
अभियानस्वरुप बोहोरागाउँस्थित झिवाखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका १११ घर र स्थानीय विद्यालयलाई धारा जडान गरिएको हो। सबैको घरमा धारा जडान गरेपछि मासिक रु ५० का दरले मर्मत शुल्क सङ्कलन गर्ने र समितिकै खातामा राख्ने व्यवस्था गरिएको छ।
धेरै पानी प्रयोगकर्ताले रु १०० सम्म तिर्नेछन्। निजी धारा र शुल्क तिर्ने प्रावधानलाई बानी बसाल्न समुदायमा सचेतना अभियानसमेत थालिएको छ। सो योजना सफल पार्न नेवाले रु १९ लाख ८८ हजार लगानी गरेको छ।
त्यस्तै गाउँपालिकाले रु एक लाख, स्थानीयले रु चार लाख र रु पाँच लाख ७१ हजारको श्रमदान गरेर रु ३० लाख ५९ हजारमा आयोजना सम्पन्न भएको हो।
खानेपानी आयोजना सफल बनाउन नेवाले समुदायस्तरमा बालक्लब गठन गरेर सरसफाइसम्बन्धी प्रशिक्षण, क्लबका लागि कोष र शैक्षिक सामग्रीसमेत प्रदान गरेको गण्डकी प्रदेशका प्रबन्धक कुमार सिलवालले बताए। (रासस)