सहाराविहीन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ज्येष्ठ दम्पतीको जिउने आधार सामाजिक सुरक्षाअन्तर्गत पाइने भत्ताको रकम बनेको छ।
७७ वर्षीय गङ्गाराम डगौरा र उनकी धर्मपत्नी ७१ वर्षीया कलेसनी डगौराले भत्ताको रकमबाटै जीविका चलाउँदै आएका छन्ल नगरपालिकाले वडा कार्यालयमार्फत उपलब्ध गराउने भत्ताको रकमले आवश्यक खाद्य सामग्री, लुगाफाटो र औषधिमुलोको व्यवस्था वृद्ध दम्पतीले मिलाउँदै आएका छन्।
वृद्ध दम्पतीका चार छोरी भए पनि सबैको विवाह गरी पठाएपछि सहाराविहीन बनेका हुन्। सानै छँदा जन्मिएका चार छोराको मृत्यु भएपछि छोराकै आसमा चार छोरी जन्मिए वृद्ध गङ्गारामले भने, “पूरै जीवन छोरीको पालनपोषणमा बिताउनुपर्यो , छोरी ठूला भएपछि विवाह गरी आ–आफ्नो घर लागे, त्यसपछि सहाराविहीन भएका छौँ।”
ऊर्जावान पूरै समय मुक्त कमैया बसेर जमिन्दारको घरमा जीवन बिताएका डगौरा दम्पतीले कमैया मुक्तिपश्चात पुनःस्थापन हुँदा पाएको पाँच कठ्ठा जग्गा र त्यसमा छिमेकीको सहयोगमा निर्माण गरिएको छाप्रोमात्रै सम्पत्तिका रुपमा रहेको छ।
“सम्पत्तिका रूपमा रहेको जग्गा बलौटे भएकाले पर्याप्त अन्न फल्दैन”, डगौराले भने, “सिँचाइको व्यवस्था छैन, बुढेसकाल लागेकाले पहिलाजस्तो मिहिनेतसमेत गर्न सक्दैनौँ। जग्गामा बनेको छाप्रोमा बस्ने व्यवस्थाबाहेक करेसाबारीसमेत बनाउन सकिएको छैन।” छाप्रो निर्माण गर्दा सरकारले छानामा राख्नका लागि उपलब्ध गराएको जस्तापातासमेत पुरानो भएकाले खिइँदै गएकाले पानी पर्दा त चुहिन्छ नै कलेसनीले भने, “शीत पर्दासमेत तप्पतप्प चुहिने भएकाले मर्मत गर्न सकेका छैनौँ।”
भत्ताको रकम बचत गरी मर्मत गर्ने योजना रहेको उनले बताए। वृद्ध दम्पती सरकारले दिने भत्ताको रकमले औषधिमुलोसँगै चामल, तेल, दाल, नुन, कपडा सबैको जोहो मिलाउन सहजरूपमा सकिएको बताए। पहिला भत्ताको रकम थोरै हुँदा जेनतेन जीविका चलाउनुपर्ने बाध्यता थियो, हाल सरकारले भत्ताको रकममा वृद्धि गरेपछि खर्च चलाउन निकै सहज बनेको वृद्ध डगौरा दम्पतीको भनाइ छ।
“खर्चको अभावमा तीर्थाटन गर्न सकेका थिएनौँ”, गङ्गारामले भने, “भत्ताको रकम केही बचत गरी मर्नुअघि तीर्थ घुम्ने योजना दुवै जनाको छ।” सरकारले भत्ता दिएपछि सहाराविहीनका लागि सहज जीवन जिउने आधार बनेको उनले बताए।
“भत्ता रकमको व्यवस्था नहुँदो हो त अरुको शरणमा जानु पर्दथ्यो उनले भने,” “बाँच्नका लागि निकै सङ्घर्ष गर्नुपथ्र्यौ होला। त्यो सबै समस्याको निराकरण भत्ताको रकमले पूरा गरिदिएको छ। सहज जीवन बिताउन पाएका छौँ।”
“बुढेसकालमा हात–खुट्टा चल्न छाडेपछि बस्दै आएको स्वामित्वको जग्गा जसले स्याहारसुसार गर्छ। त्यसकै नाममा गरिदिन्छौँ”, उनले भने। विगत सम्झिँदै गङ्गारामले भने, “बेलौरीका जमिन्दार कहाँ आठ वर्षजति मुक्त कमैयाका रूपमा काम गरे। त्यसपछि रु १० सौंकी लिएर भारतीय जमिन्दार कहाँ पनि काम गरे।
” उनले आफ्नो विगत सम्झँदै भने, “भारतमा काम गर्दा निकै कष्ट झेल्नुपर्त्यो। जमिन्दारबाट लिएको रु १० मात्रै थियो छोडेर आउन खोज्दा खाना खर्च सबै जोडेर रु १० हजार बढी पुर्याउँथे। पूरै एक वर्ष रित्तो हात काम गरेर फर्किन सके।”
बेलौरीमा काम गर्दा बिरामी परेपछि जमिन्दारले दिएको रकम रु २० हजार जति पुगेको थियो, उनले भने, “तिर्ने हैसियत थिएन। खानासँगै वर्षमा एक जोर लुगा मात्रै पाइन्थ्यो।” उनले सरकारले लगाएको गुन ज्येष्ठ नागरिकले बिर्सन नसक्ने उल्लेख गरे।
सरकारले मुक्तिको घोषणा गरेपछि जमिन्दारको घरबाट बिदा पाएपछि केही वर्ष दुवै दम्पतीले मजदुरी गरी जीविमा नै चल्यो। उमेर ढल्दै गएपछि मजदुरी गर्न नसक्ने अवस्थामा उनीहरुले सरकारले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्र्तगत भत्ता दिन थालेपछि त्यसबाटै जीविका चलाइरहेका छन्l (रासस)