जस्ताका छाना हुँदा, धनी बनेका मष्टाका थान

३८९० मिटरको उचाईमा रहेकाे भुरिचुला माईकाे थान। तस्बिरः महेश

मस्टो देउताको पूजा लाग्ने मध्ये कात्तिक पूर्णिमा ठूलो हो। यो बलि खाने पुर्णिमा पनि हो। कात्तिक पुर्णिमाको बेला अधिकांश थानहरुमा खसी, बोका, कुखुराको बलि दिने चलन छ। जुम्लामा मष्टो देउताको पूजा लाग्ने बैशाख, साउन, कात्तिक र माघ पुर्णिमा मध्ये साउन पुर्णिमामा तिर्थ व्रत गरिने तथा मागलाई धर्मी महिना मानिने हुनाले बलि चढाइदैन।

वैशाख र कात्तिक पुर्णिमामा भने भोगको रुपमा बोको बलि चढाउने चलन छ। बोको चढाउने चलन पुर्नउत्पादनसँग जोडिएको छ। केही समय अघि कात्तिक पुर्णिमामा जुम्लाको बाबिरमा रहेको ‘बाबिरो मष्टा’को थानमा पाँच सय खसि काटिए।
पञ्चायती राज्य व्यवस्थाले जुम्लाका हरेका गाउँमा कम्तिमा पाँच कक्षासम्म पढाई हुने स्कुल खोलेको थियो। आज ती गाउँका स्कुलहरु केही अपग्रेड भएर १२ कक्षासम्म पढाई हुने भएका छन्।

कति स्कुलहरु राजनीतिको कुचक्रमा फसेर बन्द भइसेका छन् भने कति बन्द हुने अवस्थामा पुगेका छन्। त्यस्तै खस सभ्यताको सर्वेपरी विधान मस्टो परम्पराले पुस्तौंअघि जुम्लाका हरेक गाउँमा कम्तिमा एउटादेखि दशौंसम्म देउताका थान निर्माण गरेर गन्ने मान्य कुल देउटा र इष्ट देउता पुज्ने ठाउँ छोडेर गएको छ। विशेष गरि मष्टो देउताका थान बढी छन्।

मष्टो संस्कृतिको उद्गमस्थल खस प्रदेश मानिन्छ। माहाकाली नदिदेखिको त्रिशूली नदिसम्मको पर्वतीय खण्ड, सिंजा साम्राज्य अन्तर्गत हाल तिब्बतमा पर्ने खारी प्रान्त र भारतीय पहाडको भूभागको काश्मीरदेखि कुमाउसम्मको क्षेत्र खस प्रदेश थियो भन्ने भन्ने ऐतिहासिक दस्तावेजहरुको अध्ययनबाट पुष्टी हुन्छ।

यही क्षेत्रमा बसोबास गर्ने मानिसहरुले पुज्ने देउतालाई मष्टो भनिन्छ। त्यसैले मष्टो देउता खस जातिका कुल देउताको रुपमा हुन। मष्टो परम्परा खस सभ्यता र संस्कृतिको अभिन्न अंग हो। अध्येता डा. पर्याकराज शर्माका अनुसार मष्टो कर्णाली प्रदेशको अत्यधिक लोकप्रिय ग्राम देवता हो।

मष्टोबारे विभिन्न लेखकहरुका भिन्न किसिमाका मतहरु पाइन्छन्। कोही मरुत् देवबाट मष्टो आएको भन्छन् भने कसैले भगवान शंकरको शक्तिशाली वीरभद्र वा क्षेत्रपालको रुपमा लिन्छन्। ‘मष्टो परम्परा र संस्कृति’का लेखक श्यामबहादुर खड्का मष्टो देउतालाई भगवान इन्द्रको छोरा मान्छन्।

धेरैले मष्टोलाई धार्मिक आँखाले हेरेका छन् भने जुम्ला क्षेत्रको कला, संस्कृति, जनजीवन आदिबारे अध्ययन गररिहेका अध्येता राजबहादुर कुँवर मष्टो प्रकृति पूजा भएको, मान्छन्। उनका अनुसार खस जाति प्रकृति पुजक समुदाय हो।

भाषा र संस्कृति सम्बन्धिका जानकार रमानन्द आचार्यका अनुसार खस संस्कृति र सभ्यताको सर्वोपरि विधान हो, मष्टो परम्परा। ‘मष्टो सबैतिरबाट हाम्रो रक्षक हो,’ उनी भन्छन्, ‘मष्टोको प्रतिनिधि पात्र धामी हुन्।’

कर्णालीमा कुन कामको सुरुवात कहिले गर्ने? साइत के गर्ने? भन्ने सबै मष्टोको प्रतिनिधिबाटै हुन्छ। वाङ्मय शताब्दी पुरुष शत्यमोहन जोशी आफू कर्णाली क्षेत्रमै बस्दाको समय देखेका मष्टोका धामीलाई यसरी सम्झिन्छन्, ‘फलानो दिन धानको बीऊ राख्ने भनेर छुट्याएपछि सबैले त्यही दिन राख्ने। त्यो बीऊ राख्ने दिन तोक्ने काम मष्टोको धामीले बताउँथ्यो। ठ्याक्कै त्यही दिन कर्णाली अञ्चलभर लागू हुन्थ्यो।’

सबै कामको साइत दिने धामी नै हुन्। धामी मष्टोको प्रतिनिधि हुनाले सामाजिक नेतृत्व मानिन्छन्। खेतीपाती, धर्मकर्म, भोटमधेश बिहे व्रतबन्ध, सबैको लागि धामी सर्बेसर्बा हुन्। तर, पछिल्लो समय यसरी धामीको अनुमति लिने चनल घट्दै गएको छ। यद्यपि केही ठाउँमा कायमै छ। जुम्ला सिंजाको मोफ्लामा अहिले पनि धामीकै बोलवाला चल्छ। उसले दिएको दिन बाहेक अगाडी पछाडि गर्न नपाइने त्यहाँका स्थानीय बासी परिलाल विश्वकर्मा बताउँछन्।

मष्टोलाई न्याएका देउता पनि भनिन्छ। अन्यायमा परेका मान्छेले मष्टोलाई सम्झिने गर्दछन्। महिला वा छोरीहरुले अन्याय भएको भनि आँसु बगाइन् भने मात्र पनि उनीहरुलाई न्याय दिलाउने काम मष्टोले गर्छ, भन्ने विश्वास छ। ती बाहेक अरूले न्याय माग्नका लागि बलि चडाउनुपर्ने मान्यता छ।

न्याय पाएपछि देउता खुसी बनाउन पनि बलि नै दिने चलन कायम छ। त्यस्तै कुनैपनि शुभकार्यको लागि सबैभन्दा पहिला सम्झिने कुल देउता नै हुन। सरकारी जागिर पाउँदा, सेना वा प्रहरीमा काम मिल्दा वा अरु सफलता हात लाग्दा हर्सले देउता रिजाउन बलि दिने गरिन्छ। आपतमा सहयोग गर्नेलाई इष्ट देउता भनिन्छ। घरदेखि टाढा हुँदा सहयोग गर्ने देउतालाई केल देउताझैं पुज्ने गरिएको धामी र थानकारे पाँच वर्ष लगातार अनुसन्धान गरेका सिंजा लुड्कुका तुङ्गनाथ उपाध्याय बताउँछन्। बली चढाउने उपयुक्त समय भनेको कात्तिक पुर्णिमा हो। त्यसैले माथि भनिएझैं ठूलो संख्यामा एकै थानमा बलि दिइन्छ।

मष्टो परम्पराको महत्त्वपूर्ण पक्ष, यो हिन्दु परम्पराजस्तो अन्यायपूर्ण छैन। हिन्दु धर्म विधानमा पूजा पाठको अधिकार केवल एउटा जाति विशेषसँग मात्र हुन्छ। त्यस बाहेक अरु सबै अनुसरण गर्ने मात्र हुन। तर मष्टो परम्परा फरक छ। मष्टोको प्रतिनिधि जनसुकै जातको हुन सक्छ। न उसले कसैमाथि विभेद गर्छ, न फलानो धामी यो वा ऊ जताको हो, यसले भनेको मान्दैनौं भन्ने कथित माथिल्लो वा तल्लो जातिका नै भेटिन्छन्। सिंजा मोफ्लामा रहेको राहादेव देउताका धामी सार्की जातका हुन्छन् भने पाली सबै गाउँलेहरु हुन्छन्। कुल देउता र इष्ट देउता सबैका प्रतिनिधि पात्र जोसुकै कोही जातको हुन सक्छ।

पछि मष्टो परम्परको हिन्दुकरण भएपछि यसमा थुप्रै परिवर्तन भएका छन्। धामीहरु पनि कतै न कतै चुकिरहेका छन्। मष्टोका धामी छुई (छाउपडी) प्रथाको ढोका पाले भएको आरोप लाग्ने गरेको छ। विशेष त कर्णली र सुदूर पश्चिमका केही पहाडी जिल्लामा जातीय विभेद भन्दा बढी क्रुर रुप धारण गरेका कारण थुप्रै महिलाले गोठमा अनेकौं पीडा भोग्नु परेको छ भने कतिले ज्यान गुमाएका छन्। साथै यसैलाई निउ बनाएर कति एनजिओ र आइएनजिओहरु समेत छिर्ने ढोका खुलेको छ।

मष्टोका धामीहरु आपसी सम्वाद गर्दा भोटेहरुको जस्तो भाषा बोल्छन्। अरुले बुझ्दैनन्। कर्णाली क्षेत्रमा पुजिने अधिकांश देउताहरू भोटबाट आएको बुढापाकाहरु बताउँछन्। उनीहरु आफ्ना पालीहरुसँग पुराना दिन सम्झिदा भीर पाखामा दुःख भोगेको पड्यौली हाल्छन्। यसले उनीहरु भोटबाटै आएको बुझ्न गाह्रो पर्दैन। उनीहरु आएको र उनीहरुको जस्तै भाषा बोलिने भोटमा छुई प्रथा छैन। अनि मष्टो वा मष्टोको धामी छुई प्रथाको ढोका पाले कसरी हुनसक्छ? त्यसैले छुई प्रथासँग कुनै न कुनै रुपमा हिन्दु संस्कार र संस्कृतिको साइनो छ। मष्टो परम्परालाई विटुल्याउने काम हिन्दु संस्कार कै हुनुपर्छ।

त्यस्तै उनीहरु बस्ने खोपा, थान लगायतका स्थानहरु हुन। सबै थानमा त्रिकोणत्मक आलम (झण्डा) प्रयोग भएको हुन्छ। जुन नेपालको राष्ट्रिय झण्डा विकासको आधार हो। छाना काठका हुन्छन्। महंगा धातुका मूर्तिहरु हुँदैनन्। काठको तारूमा (बिम) ध्वजा बाँधिएको हुन्छ। वर्षमा चार पटक थान पुज्दा वा धुमेलो बसाल्दा अथवा हेराउन, कोराउन (हेराउने) गर्दा प्रयोग हुने थानको साजसज्जा धेरै आकर्षक हुँदैन। गोरू रंग वा रातो वा कालो माटोले पोत्नु नै रंगरोगन र साजसज्जा हो। मष्टो मान्ने खसहरु प्रकृति पुजक भएकाले काठको सामान्य प्रयोगमा मात्र गर्ने गरेको देखिन्छ। कलात्मक ढंगले कुँदेका काठका मुर्तिको रुपमा मुर्काट्टो र धौले (घरको छतमा राखिने) मात्र हुन्। धामी पतुर्ने बेला हातमा समाउने चौंरी फुर्को (चौंरीको पुच्छर) हो। हाल त्यसको ठाउँमा घण्टा आएको छ।

केही समय अघिसम्म काठले मात्र बनेका थानमा जस्ता पाता हालि सकिएको छ। धामी देखि सबैको रोजाईमा जस्ता पाता नै हुन थालेका छन्। जस्ता पाता हुनु, थान सम्पन्न हुनु हो। मानौ थान समृद्धिको आधार नै जस्ता पाता हो। पालीहरुले जस्ता पाता हाल्न चासो देसाएनन् भने धामी रिसाउन वा रुष्न थाल्छन्। पालिले बचन दिए भने खुसी भैहाल्छन्। जिल्लाको सबैभन्दा ठूलो सुनरगाँ मष्टोको थानमा जस्तापाता प्रयोग भएको उहिल्यै हो भने अरु थानपनि विस्तारै जस्ता पातावाला समृद्धिको उकालो चढिरहेका छन्। हालसम्म जिल्लामा त्यस्तो कुनै थान छैन जसमा जस्ता हालिएको नहोस्।

कुल देउताकाे थान जुम्ला, बाेहरागाउँ।

अब १२ भाइ मष्टाकी बहिनीहरू बस्ने सानो खोपो पनि एउटा जस्तापातालाई टुक्र्याएर बनाउन थालिएको छ। मष्टोकी बहिनी भनेर पतुर्ने उनीहरूका खोपो जस्ताको भएन भने रुसिहाल्छिन्। फकाउनलाई जस्ता हाल्ने बचन दिनुपर्छ।

नगरपालिका र गाउँपालिकाका बजेट पनि थानमा जस्तापाताको लागि खर्च हुन थालेको छ। जुम्लाको कुनैपनि थानकमा काठ बाहेक अरु धातु प्रयोग परम्मरा होइन। आचार्य थप्छन्, ‘पछिल्लो समय स्थानीय स्रोत साधको प्रयोग हुने र परम्परागत मूल्य मान्यतालाई कायम राख्ने विषयमा सोचिएन। यो कस्तो आधुनिकिकरण हो? बुझ्न सकिएको छैन। आफ्नै सीप, क्षमताको प्रयोग गरेर त्यसलाई नयाँ ढाँचामा ढाल्दा स्वीकार्य हुन्छ।’
अब हाम्रो आफ्नो भन्नु के नै बाँकी रह्यो र? हाय..... आधुनिकीकरण।

प्रकाशित मिति: : 2019-11-21 09:00:52

प्रतिकृया दिनुहोस्