मालदिभ्स पठाउने नाममा ५० जनासँग ५० लाख ठगी

विदेश पठाउने भन्दै ५० जनासँग ५० लाख ठगी गरेर फरार बनेकी लक्ष्मी दाहाल (विडारी) र मालदिभ्समा रहेका बुद्धिसागर अधिकारी। श्रम तथा रोजगार कार्यालय विराटनगर । तस्बिर: बिएल

आकर्षक कमाई हुने प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि मालदिभ्स पठाउने नाममा मोरङकी एक महिलाले ५० जनासँग ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको घटना बाहिरिएको छ । 

प्रतिव्यक्ति एक लाख र एक जनासँग दुई लाख रुपैयाँ ठगी गरेको पाइएको हो। मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक र बेलबारी नगरपालिका–१० दुवै ठाउँमा बसोबास गर्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (विडारी) ५० जना युवासँग ठूलो रकम कुम्ल्याएर फरार बनेकी छन्।

कात्तिक तेस्रो सातबाट उनी सम्पर्कविहीन बनेपछि पीडितहरुले आवश्यक प्रमाणका आधारमा श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दिएका छन्।

पीडित युवाको उजुरीका आधारमा कार्यालयले कारबाही अघि बढाएको छ । विदेश पठाउने नाममा ठगी धन्दा चलाएर ठूलो रकम हात पार्दै आफै विदेश भाग्न सक्ने भनेर युवाले लक्ष्मीको एयरपोर्ट रोक्काको माग गरेर उजुरी दिएका हुन्।

उजुरी परेपछि पासपोर्ट नम्बर ०८६२४३९५ रहेकी लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए।

लक्ष्मीले आफ्नो बैंक खातामै रकम पठाउन लगाएको प्रमाण कार्यालयमा प्राप्त भएको उनको भनाइ छ। ‘वैदेशिक रोजगारी सम्बन्धी अपराध गरेर विदेश भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पीडितहरुको आग्रहमा एयरपोर्ट रोक्का गरिएको हो,’ सञ्जेलले भने, ‘थप कारबाहीका लागि तत्काल अरु प्रक्रिया अघि बढाइने छ ।’ पीडितहरु झापा, मोरङ, सुनसरी लगायतका छन् ।

पीडितका अनुसार श्रीमान रुपेश विडारीले पनि लगभग दुई सातादेखि लक्ष्मी पारिवारिक सम्पर्कमा नरहेको जानकारी दिएका छन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाउने विषयमा असहमति जनाउँदा श्रीमतीसँग पारिवारिक कलहसमेत उत्पन्न भएको जानकारी रुपेशले दिएको पीडितको भनाइ छ ।

पीडित मध्येका सुन्दरहरैंचा–१२ का प्रतापकुमार कोइरालाले सुरुमा आफूहरुलाई मालदिभ्सबाटै सागर भनिने बुद्धिसागर अधिकारीले प्रलोभन देखाएको बताए । धनकुटा घर भएका अधिकारीले रिसोर्टमा सेक्युरिटी गार्ड लगाइदिने भन्दै लक्ष्मीको बैंक खातामा पैसा जम्मा गरिदिनु भनेको जानकारी उनले दिए । लक्ष्मीसँग भेटघाट भएर कुरा मिलेपछि सबै जनाले उनको सनराइज बैंकमा रहेको खाता नम्बरमा पैसा हालिदिएको कोइरालाको भनाइ छ ।

त्यसपछि गत असोज ६ गते मात्रै आफूलाई अधिकारीले जेनिथ ग्रुपका मेनेजर बताउने दीपक मैनालीको सानीमा बैंक नक्साल काठमाडौंको खातामा समेत थप एक लाख रुपैयाँ हाल्न लगाएको उनको भनाइ छ । पैसा पठाइदिएपछि अधिकारी पनि सम्पर्कविहीन रहेको कोइरालाले बताए ।

मासिक सात लाख अमेरिकी डलर तलव पाउने गरी दुई महिना भित्रमा मालदिभ्स पठाउने भनेर २०७५ माघमा आफूहरुसँग पैसा लिएको उनको भनाइ छ । लामो समयसम्म विदेश पठाउन नसकेको कुरा उठाउन थालेपछि पैसा उठाउने महिलानै वेपत्ता बनेको कोइरालाले बताए । मालदिभ्समा रहेका अधिकारी पनि अहिले सम्पर्कविहीन रहेको उनको भनाइ छ ।

मालदीभ्स पुर्‍याइसकेपछि भने तीन लाख ५० हजार रुपैयाँ तिर्नुपर्ने सर्त राख्दै सुरुमा प्रतिव्यक्ति एक लाख रुपैयाँ उठाइएको पीडित मध्येका सुन्दरहरैंचा–१२ का तुलबहादुर श्रेष्ठले बताए । अधिकारी सम्पर्कविहीन बनेको भन्दै पीडितहरुलाई लिएर लक्ष्मी काठमाडौंस्थित श्रम विभागमा समेत अधिकारीका विरुद्ध उजुरी गर्न पुगेकी थिइन् ।

तर विभागले अधिकारीका नाममा पैसा पठाएको कुनै प्रमाण नभएका कारण जसको खातामा पैसा पठाइएको छ उसैलाई कारबाही हुने जवाफ दिएको पीडित कोइरालाले बताए । आफ्नो खातामा पैसा पठाउन लगाउने लक्ष्मी आफूलाई कारबाही हुने थाहा पाएर त्यहाँबाट सम्पर्कविहीन हुँदै फरार बनेको जानकारी उनले दिए ।

प्रकाशित मिति: : 2019-11-20 18:02:58

प्रतिकृया दिनुहोस्