विराटनगरस्थित निर्माणाधिन ‘रोडशेष चौक–रानी सडक’ खण्डमा निर्माण कम्पनीले धुलोमा ‘प्राइमर कोट’ लगाउने गरेको पाइएको छ। संघन सहरी विकास परियोजनाअन्तर्गत निर्माण भएको उक्त सडकमा निर्माण कम्पनी रमण कन्स्ट्रक्सनले धुलो सफा नगरि प्राइमर कोट लगाउने गरेको अनुगमनको क्रममा पाइएको हो।
सडक कालोपत्रे (पिच) गर्नुअगाडी प्राइमर कोट गरिन्छ। सडकको बेस राखिसकेपछि धुलो उठाएर सफा गरेर प्राइमर कोट लगाउने प्रचलन छ। यसो गर्दा सडक गुणस्तर र टिकाउ हुने गरेको प्राविधिक बताउँछन्। तर, रोडशेष चौक–रानीसम्मको करिब ५ किलोमिटर सडक पिच गर्ने ठेक्का लिएको रमण कन्स्ट्रक्सन कम्पनीले लापरबाही पूर्ण तरिकाले सडक बनाउने गरेकोे भेटिएको हो।
नेपाल कम्युनिष्ट पार्टी विराटनगरका अध्यक्ष सागर थापासहित प्राविधिकहरूको टोलीले मंगलबार गरेको अनुगमनको क्रममा ‘रोडशेष चौक–रानी’ सडक खण्डअन्तर्गत १ हजार ३ सय मिटरमा गुणस्तरहिन काम भइरहेको भेटिएको हो। गुणस्तर काम भइरहेको गुनासो स्थानियबासीले गरेपछि प्राविधिकसहितको टोलीले अनुगमन गरिएको नेकपा विराटनगरका अध्यक्ष थापाले बताए।
अनुगमनको क्रममा गुणस्तरहिन काम भइरहेको उनले बताए। ‘पिच गर्नुभन्दा अगाडी सडक सफा गरि धुलोरहित तरिकाले प्राइमर कोट गरिनुपर्ने हो,’ उनले भने, ‘यहाँ निर्माण कम्पनीले धुलो सडकमा प्राइमर कोट गर्दै आएको भेटियो।’ उनका अनुसार कमसल काम भएकोले तत्काल सुधार गरि पूनः गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको उनले बताए। ‘बेस बसाएको ठाउँ–ठाउँमा पानी जमेर जलमग्न भएको छ। त्यहीबीचमा निर्माण कम्पनीले पिच गर्न प्राइमर कोट लगाउने तयारी गरेको अनुगमनको क्रममा भेटियो,’ उनले भने। निर्माण कम्पनीलाई प्राविधिक र सुपरभाइजरसँगै राखेर सडकको काम गुणस्तरीय हुनुपर्ने उनले बताए। लापारबाही तरिकाले काम गरिए स्थानीयले यसरी खबरदारी गरिने उनको भनाई छ।
साढे पाँच किलोमिटर सडक पिच गर्न रमण कन्स्ट्रक्सनले १७ करोड ९२ लाखमा ठेक्का लिएको हो। २०७४ जेठ २८ देखि निर्माण सुरु गरेको कम्पनीले भर्खर १३ सय मिटर पिचको तयारी सुरु गरेको हो। पिचको तयारी सुरु गर्दा गुणस्तरहिन भेटिएको विराटनगर १२ कोशी प्रोजेक्टका भीमबहादुर केसीले बताए।
‘सडकमा भएको धुलो राम्रोसँग नउडाइ प्राइमर कोट लगाउँदा अहिले धुलाम्मे सडक हुन थालेको छ,’ उनले भने, ‘सडकको नाला पनि योजना बेगर बनाएको देखियो।’ संघीय आयोजना कार्यान्वयन इकाइ मोरङका इन्जिनियर राजु शर्माले पिच गर्नुभन्दा अगाडी धुलो सफा नगरि प्राइमर कोट गरिदा सडक टिकाउ नहुने बताए। ‘धुलो नउठाइ प्राइम कोट लगाउँदा पिच गर्दा अलकत्र राम्रोसँग बस्दैन र उप्किन थाल्छ।’
यता रमण कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर प्रमोद साहले १ सय मिटरमा प्राइम कोट परीक्षणको रुपमा गरिएको बताए। ‘हामीले मेसिन नयाँ ल्याएका हौं,’ उनले भने, ‘त्यसको परीक्षण गरिएको हो। सफा गर्ने क्रममा कतै धुलो देखिएको हो।’ प्राइम कोट गरिएको ठाउँमा धुलो देखिएपछि सुधार गरि गुणस्तरीय काम अगाडी बढाउने उनको भनाई छ।
सडकको अनुगमन गर्दै विराटनगर महानगरपालि मेयर भीम पराजुलीले महानगरपालिकाको कार्य क्षेत्र भित्र नपरेकोले हामीले पटक पटक सहरी विकास परियोजनालाई भन्दा पनि सुनवाई नगरेको बताए।
‘गुणस्तरहिन काम भइरहेको विषयमा प्रदेशका मुख्यमन्त्री शेधरन राईलाई पनि जानकारी गराएका छौं। राज्यको निकायलाई नटेरने कम्पनीलाई अब आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाउँछौ,’ उनले भने। यसअघि पनि गुणस्तरहिन काम गरेको पाइएपछि रमण कन्स्ट्रक्सनका पाँच कर्मचारीलाई पक्राउ गरि कारवाही गरेको उनले बताए।