जुन बुडी तिर्पाया राम्रा, लौडी रूख छाँया।
निद (निन्द्रा) खोइदैन (खोज्दैन) ओछ्यानय, जात खोइदैन माया।।
पुष्पा र म सँगै थियौं। हामी दुबैले परिचय दिने वित्तिकै माथिको देउडा हाले र भने, ‘ठिकै छ। केही हुँनैन। मायाले जात खोइदैन। खोइन पुनि हुन्न।’
त्यो एक समय थियो, कुरकुरे बैंस आएको। आफ्नो निर्णय नै सर्बथोक लग्ने। बाह्रैमास, लगभग धेरैजसो रात उही कर्म दोहोरिने। रातभरी जागराम बसेपछि बिहान आमाले दिएको रोटी खाना खाँदाखाँदै निदाउने।
आमा बेस्सरी गाली गर्ने। बिहान खाँदैखाँदै छोरो निदाएपछि राति कहाँ गएको थियो भनेर सहजै अनुमान लाउन सकिने।
यो नियमितता देखेर आमा नरिसाउने कुरै थिएन। तर, नारी नसमातेको हुनाले तँ फलानो ठाउँ गएको थिइस् भन्न सक्ने अवस्था पनि थिएन। अनि त छोरो बिहान रोटी खाँदा खाँदै निदाउने नै भयो।
उनी राति राति निस्किरहन्थे। माया प्रेमका गीत गाउन। मनोरञ्ज गर्न, बह पोख्न, भावना साँटासँट गर्न। छोट्टी खेल्न।
उनका बाजे बद्रीनाथ, केदानाथ तिर्थ गएका थिए, परम्परा थाम्न। त्यही बाटोमा तुङ्गनाथ भन्ने एउटा देउता छन्। त्यहाँबाट घर फर्किँदा १९९७ सालमा उनी जन्मिए। उनको राश, वर्ग सम्पूर्ण कुरा तिनै तुंगनाथ भन्ने देउतासँग मिलेछ। बाजेले उनलाई तिनै देउताले दिएको बरदान ठानी उनको नाम पनि तुङ्गनाथ नै राखिदिए। आफ्नो नामको कथा सिंजा लुड्केका तुङ्गनाथ उपाध्याय यसरी सुनाएका थिए।
राशी, देउतासँग मिलेको भएपनि उनी एक सामान्य परिवारका हुन्। उनका बाजे मुखिया, जिमदार, लातुकदार, ठालू, भलाद्मी केही होइनन्। तर पनि समाजमा उनीहरुको एउटा उचाइ थियो। साह्रै भलाद्मी थिए। समाजसेवी थिए। लोकप्रिय पनि उत्तिकै। उनीहरु कर्णालीदेखि सेती अञ्चलका अठारै दरामा परिचित थिए। शंकर पाद्य उनका छ पुस्ता अघिका पराबाजे हुन्। उनका नामका गीतहरु आज पनि सुदूर पश्चिमसम्म गाइन्छन्।
कालु पाद्य, शंकर पाद्य, दुबै मिली एक।
दुई मिली नेपाल बाइजाउ, अधिया नटेक।।
यो गीत त्यति बेलाका महिलाहरुले गाएका थिए। १८४६ पछि नेपाल राज्यले जुम्ला राज्यका राजा शोभान शाहीलाई भाग्न बाध्य पारि राज्य कब्जा गरेपछि अत्याधिक करको भार थोपरिएको थियो। करको भार यति धेरै थियो कि कार्ल मार्क्सले व्याख्या गरेको अतिरिक्त मूल्यको सिद्धान्त भन्दा बढी शोषण उन्मुख। नेपालको सन्दर्भमा भन्दा बालीघरे प्रथाजस्तै। त्यसैलाई जुम्लीहरु अधिया वा लगिमानी प्रथा भन्ने गर्थे। अधियाबाट उभो नलागिने भएपछि महिलाहरुले संघर्ष गर्न सुझाव दिए।
कर्णालीमा लगिमानी प्रथा र अधिया खाने चलन अहिले पनि छ। तथाकथित माथिल्लो जात वा साहु महाजनहरुबाट गरिब वा कथित तल्लो जातका मान्छेहरुले खाइरहेका छन्। काम नगर्नेलाई अधाभन्दा बढी दिइरहेका छन्। यहीँनेर जमिन जोत्नेको नारा नराम्ररी चिप्लिन्छ, कम्युनिस्ट सत्तामा।
महिलाहरुको सन्देशलाई शिरोपर गरि शंकर पाद्यको टोली काठमाडौं गइ झरो (दियालो/मसाल) बालेर राजालाई सुनाउँछन्। त्यसको सुनुवाई स्वरुप राजाले अधिया कटाएका थिए। यो कथन अहिले पनि गाउँघरमा छ।
तुङ्गनाथ २००९ सालमा १२ वर्षको भएपछि विद्यालय जान थालेका हुन्। उनी विद्यालय जान सुरु गर्नु र कर्णालीमा सरकारले विद्यालय खोल्नु सायद एउटा संयोग नै हुनुपर्छ। त्यसभन्दा अघि उनी गुरुकुल जस्तो पाटीमा माटो राखेर अलिअलि गरि कखरा सिकिरहेका थिए।
नौ सालमा कोटघर (कोतघर) मा विद्ययालय खुल्यो। त्यसबेला कर्णाली अञ्चलभरी हुम्लाको दार्म, जुम्लाको खलंगा, सिंजाको कोटघर, रासकोटको सिउना गरि ४ वटा स्कुल मात्र खुलेका थिए। पाँच वर्ष उनी त्यहीँ पढे।
त्यहाँबाट उनको पढाई सकियो। पाँच कक्षा भन्दा माथि पढ्ने ठाउँ थिएन। त्यसपछि उनी फुक्का फूल भए। लगभग सात वर्ष। त्यही समयमा उनी झोडा, चुट्किला, खेल्न, छोट्टी खेल्न, राति राति, गाउँगाउँ, गोठगोठ जान थाले। छोट्टी (केटी) का लागि चर्चित खेलौडा कहलिए।
त्यही प्रभाव नै हो माथिको देउडा। आज पनि देउडा भन्ने वित्तिकै उत्साह बडेर आउने बताउँछन्। पुराना दिन सम्झिँदा भावकु हुन्छन्। भन्छन्, ‘देउडाका भावहरु जस्तो मनमा बस्ने अरु म मान्दैन। भवनाहरु गीतमा व्यक्त गर्दा, विलौनाहरु पोख्दा मन हल्का हुन्छ। फरक खालको आनन्दानुभूति मिल्छ। अभिव्यक्तिको माध्यम हो, देउडा।’
झ्याप्प हान्या, ट्याप्प टिप्दो भुरेली जाल पनि।
छुदैन आँङको बेथा(रोग), लिँदैन काल पनि।।
माछिको थुमनि गर्यो, भुरेली जालले।
कि लैजा मनका दैले, कि लैजा कालले।।
रात छिप्पिएर छर्लङ्ग उज्यालो हुन्जेल खेलिने। छोट्टी खेल्ने पनि निश्चत थला हुन्थे। ती थला बारेका देउडा पनि हुन्छन्। फलाना थलामा आउनु भनेर रैबार हाल्ने (खबर पठाउने) गरिन्थ्यो। कहीलेकाँही केटा वा केटीले बेइमानी गर्ने, झुटो बोल्ने वा भनेको थलामा नआउने गरेपछि पछिल्लो पटक विश्वासका लागि बयानो लिने वा थलो राख्ने गरिन्थ्यो। यो एक प्रकारको बाचा हो, विश्वास दिलाउने। बयानोमा हातका औंठी, गलामा माला, पछ्यौरी आदि हुन्थे।
यसरी खेलीने देउडा विशुद्ध मानोरञ्जनका लागि हुन्थ्यो। यी माया प्रेमका प्रतिक थिए। अनैतिक क्रियाकलाप विरलै हुन्थे। उनी देउडाको सागरमा अपवादमा यस्ता कार्य हुनुलाई अनौठो पनि मान्दैनन्। देउडा खेलमा जित हार हुन्थ्यो। कस्ले कस्ता सवाल जवाफ गर्यो भनेर चर्चापरिर्चा हुन्थ्यो। त्यसैको प्रचारप्रसारले खुला ठाउँमा देउडा खेल्ने अनुमति मिल्थ्यो। एक प्रकारको क्षमता पहिचान गर्ने दरिलो माध्यम पनि थियो। यसरी देउडा खेल निरन्तर अघि बढिरहेको थियो।
तुङ्गनाथ उपाध्यायले कनासुन्दरी मन्दिर सँगै मिसिएको ठाउँमा १५ सय वर्गमिटर जग्गा दिएका छन्, पुरातात्विक वस्तुहरुको संकलन गर्ने एउटा संग्रालय राख्न उपयुक्त ठानेर। संग्रालय बनाउने समितिले जग्गा पाएको थिएन। पछि उनले कति चहियो भनि सोध्दा एक हजार वर्ग मिटर जमिन माग भयो। तर उनले त्यतिले पुग्दैन भनि १५ सय वर्गमिटर जग्गा निःशुल्क दिए। सामाजिक कार्यमा दान दक्षिणा दिने सवालमा उनको छाति चौडा हुन्छ। सफा मन र विशाल हृदयका कारण उनी सबैलाई सबै प्रकारको ज्ञान बाँड्न तम्तयार हुन्छन्।
कार्तिक १६ अन्नपूर्ण ‘फुर्सद’ मा ७२ जना लेखकले नेपाल अध्ययनका लागि १०० वटा किताब सिफारिस गरे। जसमध्ये १२ जनाले लेखेका किताब कर्णालीमा आधारित वा सम्बन्धित छन्।
डोर ब बिष्टः फेटालिज्म एण्ड डेभलपमेण्ट, हर्क गुरूङः मैले देखेको नेपाल, जनकलाल शर्माः हाम्रो सामज, एक अध्ययन, कौतुकमय डोल्पो, बालकृष्ण पोखरेलः खसजातिको इतिहास, योगी नरहरीनाथः इतिहास प्रकाश, सत्यमोहन जोशी, स्थिर जंग बहादुर सिंह, बिहारीकृष्ण श्रेष्ठ, चुडामणी बन्धु, र प्रदिप रिमाल: कर्णालीको जनजीवन, भाषा, भूगोल, इतिहास, साहित्य संगीत-कला, लोकजीवन बारेका ५ किताब, जगन्नाथ अधिकारीः फुड क्राईसिस् ईन कर्णाली, सुर्यमणी अधिकारीः खस साम्राज्यको इतिहास।
यी सबै किताबमा कर्णाली अटाएको छ। थोरैका लागि मात्र लिखित दस्तावेज सन्दर्भ स्रोत भए पनि अधिकांकको लागि यहाँका बासिन्दा नै स्रोत हुन्। कतिपय स्रोतको रुपमा उल्लिखित मान्छेहरु हामीसँग छैनन्। कतिपय लेखकले थोरै बङग्याएर आफ्नो अनुकुल लेखेका छन्। यति हुँदाहुँदै पनि यी महत्त्वपूर्ण कार्यप्रति कर्णालीको श्रद्धा छ। उनीहरु सबैको ऋणी छ। त्यसैले उनीहरुप्रति उच्च सम्मान छ।
माथिका कृति र लेखकहरु सबै खास छन्। यी मध्ये सत्यमोहन जोशीको टिमले कर्णाली चिनाउन ठूलो गोगदान गरेको थियो। २०२७ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान काठमाडौंबाट जोशी नेतृत्वको टोलीले कर्णालीको सिंजा उपत्यकामा पुगि लोक सांस्कृतिक सर्वेक्षण गरेको थियो। त्यसपछि कर्णालीको इतिहास, भूगोल, जनजीवन, भाषा, लोकजीवन, साहित्य, संगीत, कला विषयमा छुट्टाछुट्टै पाँचवटा किताब तयार भए। यी सबैलाई २०२८ मा दर्शन विज्ञान अन्तर्गत संयुक्त रुपमा मदन पुरस्कार प्रदान गरियो।
टोली ५० दिनसम्म सिंजामै बसेर भाषा, संस्कृति, सभ्यता, कला जस्ता सांस्कृतिक पक्षको यथासम्भव गहिरो अध्ययन गर्यो। त्यो अध्ययनको निष्कर्ष थियो ‘कर्णालीको लोक संस्कृति’।
त्यसपछि पनि मानवशास्त्री तथा समाजशास्त्री डा. बिहारीकृष्ण श्रेष्ठ बारम्बार सिंजा पुगेका थिए। उनले कर्णाली सम्पन्न हुनुको कारण पत्ता लगाए। यहाँको अर्थतन्त्रको मसिनो अध्ययन गरे।
अध्ययनको क्रममा मलेरु राजाको पालामै ६०० वर्षअघि ‘जचौरी’ कुलो बनाइएको समेत पत्ता लगाए। सिँचाइको दूरदृष्टिको पत्तो पाए? त्यसबेलाको इन्जिनियरिङ विधा बारे अध्ययन गरे। आज पनि ‘जचौरी’ कुलोबाट सिंजाको भूमि सिंचित भैरहेको छ।
त्यसबेला तयार भएका पाँचवटै किताबमा कुनै न कुनै तबरबाट अटाएका छन्, तुङ्गनाथ।
उनी देउडा गायक मात्र होइनन्। जुम्लाको भषा संस्कृतिबारे थुप्रो जाकारी हाँसिल गरेका स्रोत व्यक्ति पनि हुन्। उनको औपचारिक अध्ययन ‘अन्डर एसएलसी’ हो तर उनी समाज अध्ययन र बुझाइमा कुनै समाजशास्त्री वा मानवशास्त्रीको भन्दा कम छैनन्।
अनुसन्धानमा विश्वविद्यालयका प्राध्यापक जत्तिको अनुभव संगालेका छन्। त्यसैले जुम्लाले उनलाई संस्कृति तथा भाषा विद् भनी चिनिरहेको छ। गुरुकुल शिक्षामा अध्ययन, बोध, आचार, प्रसारलाई मुख्य मानिएको छ भने प्रमाणपत्रको कुरा गरिएको छैन। ठिक त्यस्तै खालको ज्ञान हासि गरेका छन्, तुङ्गनाथले।
उनी पूर्व शिक्षक हुन्। भाषा र संस्कृतिसम्बन्धिका जानकार रमानन्द आचार्य सम्पादक रहेको जुम्ली भाषाको ‘खस शव्दकोष’ सम्पादन समितिका सह-सम्पादक पनि हुन्। गाउँगाउँबाट शब्द संकलन गर्ने काममा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका छन्। माष्टो परम्परा र प्रकृति पुजा र पुजक समुदायको बारेमा लामो अध्ययन गरेका छन्। थुप्रै विद्यावारिधि गर्ने अध्यताहरुको सहयोगीको काम गरेर आनुधिक अनुसन्धान प्रकृयासँग पनि घुलमिल भएका छन्।
केही समय अघि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी हजार र पच्चीस सयको सिक्कामा देखिए। त्यो कार्यक्रममा जोशीले तुङ्गनाथलाई पनि बोलाएका थिए। कार्यक्रम सकिएपछि जोशीले आफ्नो घर लिएर गए र हप्काए पनि।
सूचना र ज्ञान धेरै हुँदा पनि केही नगरि बस्ने भनेर। धेरैका लागि सिंजा सभ्यता, कला र संस्कृति तथा इतिहासका सन्दर्भ स्रोत रहेका उनका आफ्ना छुट्टै कुनै लिखत छैनन्। लिपीवद्द गर्ने र प्रकाशन गर्नेबारे ध्यान दिएनन्। यसबारेमा उनी आफैं भन्छन्, ‘मो त पँलासको फूल रयाछु, वासनाबिनाको।’