वीरगन्जमा निर्माण भएको होटल लर्डस कानुन विपरित निर्माण भएको खुलासा भएको छ। नियम मिच्दै होटल दियालो प्रा.लि.ले स्वीकृत गराएको नक्सा विपरित निर्माण गरेको खुलासा भएको छ।
नेपाली कांग्रेसका पूर्व सांसद अनिल रूगंटा सञ्चालक रहेको होटल दयालुको निर्माण बेसमेन्टदेखि आठौं तल्लासम्म नक्सा भन्दा फरक तरिकाले निर्माण गरिएको पाइएको छ।
वीरगन्ज महानगरपालिकाका नक्सा शाखाका प्रमुख इन्जिनियर राजेश चौरसियाले महानगरपालिकामा पेश गरेका प्रतिवेदनमा सबै तल्लामा दक्षिण तर्फबाट पास नक्सा भन्दा थप निर्माणकार्य भएको उल्लेख गरेका छन्।
वीरगन्ज महानगरपालिकाले होटल दयालुको निर्माणको बारेमा गठन गरेको छानबिन अनुसार इन्जियर राजेश चौरसियाले स्लगत निरीक्षण गरि पेश गरेको प्रतिवेदनमा होटलको उत्तर तर्फ नालाको जग्गा समेत अतिक्रमण गरि निर्माण गरिएको उल्लेख गरेका छन्।
अर्को तर्फ नेपाली कांग्रेसको पूर्व सभासद समेत रहेका वीरगञ्जका व्यापारी अनिल रूंगटाले पर्यटन विभागका महानिर्देशकदेखि महाशाखाका निर्देशकसम्मलाई अनावश्यक दबाब र चेतावनी दिएको खुलेको छ।
कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवासँग नजिक सम्बन्ध भएको बलमा पर्यटन मन्त्री योगेश भट्टराईलाई सोर्स लगाएर भए पनि आफूले चार तारेको प्रमाणका लागि निर्णय गराइछाड्ने भन्दै विभागका जिम्मेवार अधिकृतहरूलाई व्यवसायी रुंगटाले दबाब दिने गरेको खुलासा भएको हो।
यो दबाबका पछाडि उनको गैरकानुनी कार्यलाई सदर गर्ने कुनियत देखिएको पर्यटन विभाग स्रोतले बतायो।
जगदम्बा ग्रुपसँग व्यापारिक साझेदारीको रुपमा जोडिएका अनिल रुंगटा वीरगञ्जमा छोटो समयमा अर्बपति व्यापारीका रूपमा चिनिन्छन्।
उनले पूर्व प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्धारा उद्घाटन गराएर होटल दियालो लर्ड इन सञ्चालनमा ल्याएका छन्।
वीरगञ्ज महानगरपालिकासँग नक्सा पास गर्दा एउटा पास गरेको र नियम कानुन विपरित अर्कै रुपमा बनाउँदा नक्सा विपरीत बनाएकाको छानविन अगाडि बढाएको छ।
महानगरपालिकाबाट होटल निर्माण कार्यसम्पन्नताको प्रमाणपत्र नलिए पनि होटल सञ्चालनमा ल्याउने आफैंमा छानविनको विषय रहेको छ।
रूंगटाले महानगरपालिकाका सम्बन्धित प्राविधिकलाई समेत चौतर्फी दबाब दिएर निर्माण सम्पन्न लिनका लागि अनेकन प्रयत्न गरे पनि नक्साअनुसार होटल नबनेको भन्दै अख्तियारमा समेत उजुरी परेका कारण छानविन अगाडि बढाइए हो।
सरकारले चार तारे होटलका लागि तयार गरेको मापदण्ड अनुसार औषत क्षमताको बाहिरी पौडी पोखरी हुनुपर्ने, डाक्टर र नर्सको सेवाको लागि छुट्टै कोठा हुनुपर्ने, होटलमा डाक्टर र परिचारिका बोलाउने बित्तिकै उपस्थित हुने व्यवस्था हुनुपर्ने, सेवा र उत्पादन क्षेत्रका ७५ प्रतिशत कर्मचारीहरूले मान्यताप्राप्त संस्थाबाट तालिम लिएको हुनुपर्ने, कम्तीमा ८० वटा सुत्ने कोठा हुनुपर्ने र कोठाको आकार बाथरुमसहित कम्तीमा २३० वर्ग्फिटको हुनुपर्ने, धुम्रपान निषेधित कोठाहरूको पनि व्यवस्था हुनुपर्ने, कोठाहरूभित्र शतप्रतिशत थर्मोस्ट्याटसको व्यवस्था हुनुपर्ने, १० प्रतिशत स्वीट रुमको व्यवस्था हुनुपर्ने रहेको छ ।
तर रुंगटाको उक्त होटल एकातर्फ सरकारले तोकेको मापदण्डअनुसार चार तारेका लागि उपयुक्त नभएको त छँदैछ अर्कोतर्फ निर्माण सम्पन्न प्रमाणपत्र महानगरपालिकाले नदिएका कारणले पनि रोकिएको छ।