उत्तम भट्ट १८ वर्षको उमेरमा मुम्बई आएँ। आफ्नो भन्ने कोही थिएन। उनी भिउमन्डीको धागो कम्पनीमा काम गर्न थाले। भिउमन्डीपछि केहि वर्ष उल्लाहस नगरमा बसे। उनकाे खेल जीवनको सुरुवात नै त्यहाँबाट भयो।
करातेमा ब्ल्याक बेल्ट पनि उतैबाट पाए। बच्चैदेखि मार्सल आर्ट्समा उनकाे रुचि थियो। गाउँमा सिक्न सम्भव नभएपछि उनी मुम्बई हानिए। मुम्बईमा उनले धेरै प्रतियाेगिता खेले। जिते पनि। यी मध्ये सन् १९९५ को प्रतियाेगिता उनकाे खेल जीवनकै सबैभन्दा खुसिको क्षण थियाे। उनले उत्कृष्ट फाइटरको अवार्ड जिते। अहिले पनि त्यो क्षण सम्झदा उनी दंग पर्छन्।
संघर्षरत अवस्थाका साथी श्रीधन राई (धरान) र ओमप्रकाश (कैलाली) उनकाे मासनपटलमा खेलिरहने मित्र हुन्। ती साथीसँग बिताएकाे पल उनलाई अहिले पनि झलझली याद आउँछ। कहिले दुःख त, कहिले सुख। उनले राम्रो गर्दै गएपछि धेरैसँग चिनजान पनि भयो। विस्तारै -विस्तारै आर्थिक हैसियत पनि चुलिँदै गयाे। उनलाई लाग्यो, कराते खेलेरै राम्रो गर्न सकिन्छ।
उनले भने–अहिले त मेरा लागि, यो क्षेत्र नशा नै हो। यता मेरो करियर राम्रो हुँदैथियो। बीचमै अब गाउँ फर्किएर उतै स्थापित हुन्छु भन्ने सोचे।
उनले लम्कीमै केहि गर्ने साेच नबनाएका हाेइनन्। गाउँ पनि फर्किए। अपसोच देशमा माओवादी युद्ध चलिहरेको अवस्थामा गाउँमा बस्न सक्ने अवस्था रहेन। अझ् मार्सल आर्ट्स सिकेको भन्ने बित्तिकै सेना र प्रहरीले तनाब दियो।
पुरानाे कुरा सम्झिदैँ उनले भने– गाउँ फर्कनु मेरा लागि दु:खद साबित भयो। सेना, प्रहरीको डर थियो। घरकाले मार्सल आर्ट्सका मेरा प्रमाणपत्र फालिदिनु भएछ।
उनले धेरै संघर्ष गरेर पाएका केहि सफलता गुमाएपनि। तर हार खाएनन्। फेरि सपनाको सहर मुम्बई फर्किए। पढ्न नपाएकोमा कहिले काहीँ दुःख लाग्छ उनलाई। तर पनि उनी खेल नै आफ्नाे सम्पत्ति भएकाे भन्न बिर्सदैनन्।
उनी भन्छन्– मैले आजसम्म जे जति पाए, त्यो सबै मार्सल आर्ट्सकै कारण हो। विगत किन स्मरण गर्नु? जे गरे राम्रो नै गरे। पढ्न लागेको भए यो इज्जत वा नाम पाउने थिइनँ। पढाई मात्रै सबै थाेक हाेइन।
करातेका चार बिधा हुन्छन्। सोतोकान, सितेरियाे, गोजुरियो र बाेदाेकाई। उनकाे बिधा सोतोकान हो। यो सबैभन्दा पुरानो बिधा पनि हो।
उनले भने–मैले मुम्बईमा आफ्नो संस्था बनाएको छु। गोदाइ कमब्याड सोतोकान कराते डो एसोसियसन, मेरो संघकाे नाम हो। मैले प्रत्येक वर्ष राष्ट्रिय प्रतियाेगिता आयोजना गर्ने गरेको छु।
नेपाल सरकारले उनी जस्ता खेलाडीका लागि देशमै राम्रो व्यवस्था गरिदिए प्रवासमा किन बस्नुपर्थ्यो।
उनी भन्छन्– मुम्बई त हाम्रो बाध्यता हो। प्रवासमा कतिदिन बसेर साध्य हुन्छ र? नेपाल सरकार र खेलकुदसँग सम्बन्धित संघ–संस्थाले प्रवासमा बसिरहेका हजारौं खेलाडीलाई देशमै फर्काउन सके कति राम्रो हुन्थ्यो? देशका लागि खेल्ने त हाम्रो पनि इच्छा छ, नि।
उनी एकदिन गाउँ फर्कने याेजनामा छन्। उनी भन्छन्– मेरो सबैथोक कराते हो। मैले सिकाएका विद्यार्थीको भविस्यको बाटो सम्झन्छु। अहिले मसँग २ सय ५० जना विद्यार्थी छन्। यी मध्ये सबैभन्दा धेरै छात्रा छन्। भारतामा छोरीलाई पनि खेलमा निकै प्रथामिकता दिन्छन्। खेल खेलेरै बाँच्न सक्ने समयको सुरुवात भएको छ। अर्को कुरा छोरीलाई आत्मसरक्षा जरुर हुन्छ।
उनी बाँचुन्जेल खेलसँग आबद्ध रहने बताउँछन्। भन्छन्– बाँचुन्जेल सिकाउने हो। जुनसुकै पेशामा भएपनि शारिरिक रुपले बलियो हुनुपर्दछ।