अमेरिका पुग्ने रविको सपना बिचैमा चकनाचुर, धन्न जोगियो ज्यान

बिएल

‘बाँचेर फर्किएला भन्ने आश नै थिएन। तर, बचेर आएको छु’, खिन्न अनुहार, रित्तो झोलासँगै सोमबार साँझ नेपाल आइपुगेका रविराजले बिएल नेपाली सेवासँग भने।

करिब एक वर्ष अगाडि अमेरिका जान घरपरिवारबाट रविराज विदा भइ विदेश उडेका थिए। तर, उनले देखेको सपना पुरा भएन।

एक वर्षसम्म रविराजले अमेरिका छिर्ने लाखौं कोशिश गरिरहे। तर, पनि उनको सपना पुरा भएन, उल्टै झण्डै ज्यानै गयो।

एक वर्षअघि विदेशमा भएको साथीमार्फत रविराजनको एक भारतीय एजेन्टसँग सम्पर्क गरेका थिए।

प्रहरीका अनुसार सिंह थरका ती व्यक्ति बेला बेलामा नेपाल आएर अमेरिका लैजाने भन्दै युवाहरु लिएर जाने गर्थे।

रविराज पनि यीनै भारतीय एजेन्टको चंगुलमा परे।

घरपरिवारमा नभए पनि ऋण गरेरै उनले मोटो रकमको व्यवस्था गरे। प्लस टु मात्र पास गरेका उनको लागि अमेरिका नै अन्तिम गन्तव्य बन्न पुग्यो।

उनी नेपालबाट थाइल्यान्ड हुँदै भियतनाम पुगे।

उनको पासपोर्टमा बोलिभियाको भिसा लागेको थियो। यही क्रममा उनले थप तीन नेपाली फेला पारे।

रविराजसँगै अन्य साथीलाई पनि ती एजेन्टले भियतनाम पुर्‍याएका थिए। त्यहाँ उनीहरू एजेन्टले भने अनुसार नै होटेलमा पुगे। करिब २२ दिन उनीहरु त्यहीँ होटेलमा बिताए।

एक प्रहरी अधिकृतका अनुसार एजेन्टले प्रकृया मिलाउँछु भन्दा भन्दै होटलमै करिब तीन साता झुलाएका थिए।

त्यसपछि उनीहरूलाई इथोपियाको राजधानी आदिसआबाबामा राखियो।

इथिपियाको बसाइ लामो भयो। उनीहरू चार महिना होटलमा बिताए। रविराज र उनका साथीको लागि नयाँ देश नयाँ ठाँउ भए पनि दिन राम्रोसँग बित्यो।

चार महिनापछि रविराज र दुई जनालाई मेडागास्कर लगियो। एक जनालाई दुवई।

त्यसपछि त्यहाँबाट उनीहरुलाई जोर्डन लगियो। जोर्डनमा फेरि चारै जनाको भेट भयो।

जोर्डनमा ३५ दिन राखेपछि फेरि चारै जनालाई दुवई पुर्‍याइयो। त्यसपछि अजरबैजन लगियो। त्यहाँ उनीहरु १८ दिनसम्म बस्नुपर्‍यो।

त्यसपछि उनीहरूलाई मलावी लगियो। मलावी पुगेपछि भने रविराजको अमेरिका छिर्ने आशा निराशामा परिणत भयो।

त्यहाँ पुगेपछि एजेन्टको वास्तविक रूप देखियो। एजेन्टले थप पैसा माग्दै उनीहरू माथि कुटपिट गर्न थाले।

‘१५ दिनसम्म एकदमै टर्चर दिए। केटाहरु आएर पैसा भन्दै ड्यामड्याम कुट्दै निस्किन्थेँ’, हाम्रो सम्पर्कमा आएका रविराजले भने।

एक वर्षभरिको १५ दिन उनीहरुको लागि निकै कठिन बन्यो।

त्यहाँ उनीहरूलाई पैसा नदिए मार्ने सम्मको धम्की दिए। ‘नेपाल फर्किने भए ६ लाख रूपैयाँ र बसेको प्रतिदिनको २५ डलर तिर्नुपर्ने, बोलिभिया जाने भए १० लाख रूपैयाँसम्म माग्न थाले’, फर्केर नेपाल आउने भन्ने आशा मारिसकेका रविराजले भने।

कसो कसो उनी परिवारको सम्पर्कमा आए। परिवारले तत्काल प्रहरीलाई खबर गर्‍यो।

मानव बेचविखन व्यूरोको टोलीले एक महिना लगाएर मलावी प्रहरीको सहयोगमा नियन्त्रणमा रहेका ६ जनालाई उद्धार गर्ने सफल भयो। मलावीबाट प्रहरीले पछिल्लो समय धेरै नेपाली युवालाई उद्धार गरेको छ।

प्रहरीको उद्धारपछि दोस्रो जीवन पाएका रविराजले आफू अब विदेश जाने/नजाने भन्ने कुनै योजना नभएको बताए। यद्यपी उनको अमेरिका जाने र धन कमाउने उनको पहिलो प्रयास तुहिएको छ।

मानव तस्करीको रूट

विभिन्न बहानमा मानव तस्करीको संख्या बढेको छ। भारत, युरोप, अफ्रिका, अमेरिकालगायतमा मानव तस्करी हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ।

अमेरिका लैजान तस्करले नेपाल हुँदै भारत, खाडी मुलुक, थाइल्यान्ड, श्रीलङ्का, टर्की, अफ्रिका र दक्षिण अमेरिका हुँदै संयुक्त राज्य अमेरिका लग्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

युरोपमा गरिने मानव तस्करीमा नेपाल हुँदै भारत, श्रील‌ंका, थाइल्यान्ड, खाडी मुलुक, टर्की, लिविया र दक्षिण अमेरिका हुँदै युरोपसम्म पुगेको देखिएको छ।

प्रकाशित मिति: : 2019-11-13 20:09:31

प्रतिकृया दिनुहोस्