अछामकी १२ वर्षीय बालिकालाई गर्भवती बनाएको आशंकामा प्रहरीले दुई किशोरलाई निगरानीमा राखेको छ।
अछाम जिल्लाको रामारोसन गाउपालिका–४ मा बोहरा थर गरेकी एक बालिका १२ वर्षमै गर्भवती भएकी थिइन। उनलाई उपचारका लागि ठूलो बुवा कृष्ण बोहराले गत साता थापाथलीस्थित प्रसुतिगृहमा ल्याएका थिए।
बौद्धिक अपाङ्गता भएकी ती बालिकाको पेटमा ५ महिनाको गर्भ थियो। कोखमा बच्चा हुँदा उनको स्वास्थ्य जोखिममा पर्ने ठहर गर्दै चिकित्सकको टोलीले गर्भपतन गराउने निर्णय गरेको थियो।
चिकित्सक टोलीकै निर्णयअनुसार गत शुक्रबार गर्भपतन गराइएको प्रसुतिगृहका निर्देशक डाक्टर जागेश्वर गौतमले बिएल नेपाली सेवालाई जानकारी गराए। ‘उनको मानसिक अवस्था पनि ठिक थिएन। शुक्रबार बिहान गर्भपतन गराएका हौं। हाल उनको अवस्था सामान्य छ,’ डाक्टर गौतमले बताए।
बालिकाको पेटमा बच्चा भएको कुरा उनलाई कुकुरले टोकेपछि मात्र थाहा भएको थियो। ‘रेबिजको सुई लगाउने क्रममा थाहा पायौं,’ बालिकाको ठूलो बुवाले भने–‘छोरीले दिएको बयानको आधारमा दुई किशोरलाई शंकाको आधारमा प्रहरीले निगरानीमा राखेको छ।’