हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक र कालापानी भारतमा पारिएपछि देशभर विरोध भइरहेका छन्। यही विषयलाई लिएर जुम्लामा पनि विरोध प्रदर्शन भएको छ।
जुम्लामा राजनीतिक तथा गैर राजनीतिक तवरबाट विरोध भएका छन्।
शुक्रबार दिउँसो नेपाल मजदुर किसान पार्टीले आयोजना गरेको विरोध र्याली निकालेको हो। नेमकिपा कार्यालयबाट सुरु भएको जुलुस कृष्ण मन्दिरमा पुगेर कोण सभामा परिणत भएको थियो।
भरतीय विस्तारवाद -मुर्दावाद, हस्तक्षेप -बन्द गर, सीमा मिच्न -पाइदैनलगायत नारा लगाई नगर परिक्रमण गरी भारतीय विस्तारवादको हस्तक्षेपकारी नीतिको विरोध गरिएको नेमकिपाले जनाएको छ।
त्यसैगरी शुक्रबार साँझ 'जागौं कर्णाली' अभियान र चन्दननाथ नगर स्तरीय युवा क्लबको संयुक्त आयोजनामा विरोध र्याली निकालिएको थियो।
चन्दनाथ नमुना माध्यमिक विद्यालयबाट सुरू भएको र्यालिले भारतीय हस्तक्षेप विरोधि नारा लगाउँदै बजार परिक्रमा गरेको थियो।
‘गो ब्याक इन्डिया' लगायतका नारा लगाउँदै कृष्ण मन्दिर पुगेको जुलुसले भारतीय प्रधानमन्त्रीको पुत्ला जलाई कार्यक्रमको समापन गरेको हो।
भारतले नेपालमाथि हस्क्षेपकारी नीति लिएकाले व्यापक विरोध गर्ने र आम जनतालाई सचेत पारी विरोधमा उत्रन जरुरी रहेको भन्दै जागौं कर्णाली अभियान र नगर स्तरीय युवा क्लब सञ्जालले चरणबद्ध रुपमा आन्दोलन गर्ने जनाएको छ।