सरकारी मोटरसाइकलमा भारतको जोगवनीदेखि लागुऔषध लिएर आउँदै गर्दा विराटनगरबाट वन अधिकृतका छोरा पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको एक नम्बर ढाटबाट सप्तरी राजविराज नगरपालिका–२ राजदेव टोल घर भएका २६ वर्षीय कपिल यादव पक्राउ परेका हुन्। उनका बुवा सत्यनारायण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन्। बुवा सत्यनारायणले चलाउने गरेको वन कार्यालयको स १ ब १४१० नम्बरको सरकारी मोटरसाइकलमा लागुऔषध लिएर आउँदै गर्दा कपिललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए।
गत आइतबार सरकारी नम्बर प्लेटको मोटरसाइकलमा वन अधिकृतका छोरा लागुऔषधसहित पक्राउ परे पनि प्रहरीले भने यस घटनालाई गोप्य राख्न खोजेको थियो ।
घटना सार्वजनिक भएपछि प्रहरीले भने यही मोटरसाइकलको प्रयोग गरेर भारतबाट बारम्बार लागुऔषध नेपाल ल्याउने काम भएको दाबी गरेको छ । डीएसपी खिँउजुले कानुनद्धारा बर्जित लागुऔषध सरकारी मोटरसाइकलमा नेपालतर्फ ‘सप्लाई’ भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले कपिललाई पक्राउ गरेको बताए ।
कपिलले कम्मरमा बाँधेर ल्याएको अवस्थामा प्रहरीले डाइजेल्याब ८, एभिल ८ र लुपिजेसिक ८ गरेर २४ एम्पुल लागुऔषध बरामद गरेको छ । उनी विरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी खिँउजुले दिए । कपिल लागुऔषधका प्रयोगकर्ता र कारोबारी दुवै हुन सक्ने प्रहरी अनुमान छ।
उनले लागुऔषध ओसार्नकै लागि आफ्ना बुवाले प्रयोग गर्ने गरेको वन कार्यालयको मोटरसाइकल उदयपुरदेखि विराटनगर लिएर आएको खुलेको छ ।
प्रहरीले पनि वास्ता नगर्ने र कोही कसैले सहजै शंका नगर्ने भएका कारण भारतबाट हुने लागुऔषध तस्करीमा सरकारी मोटरसाइकल प्रयोग गरिएको खुलेको डीएसपी खिँउजुले बताए ।