कोसी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा सोमबार बिहान भएको दुर्घटनामा परेर डाक्टर र नर्सको मृत्यु भएको छ।
सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा बुढीगंगा गाउँपालीका –५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुभलाल माझी र न्युरो अस्पताल विराटनगरमा कार्यरत स्टाफ नर्स २६ वर्षीया अञ्जलीकुमारी माझीको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठकाअनुसार मृत्यु भएका शुभलाल र अञ्जलीकुमारी बाबु छोरी हुन्।
विराटनगरबाट दुहवीतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको बसले दुहवीबाट विराटनगरतर्फ आँउदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको श्रेष्ठले बताए। डा. शुभलालले चलाएको मोटरसाइकलमा पछाडि छोरी अञ्जलीकुमारी सवार थिइन। दुर्घटनामा परेर घाइते भएका दुवै जनाको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो।
बस र चालक सिरहाको धनगढी नगरपालिका–१२ का ३४ वर्षीय सन्दीप खत्रीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।