आज मंगलबार, कात्तिक १२ गते अर्थात् अक्टोबर २९ तारिख ।
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन भाइटीका हो आज । नेपाली चेलीबेटी र माइती निधारमा पञ्चरंगी टीका लगाएर यो चाड धुमधामका साथ मनाउँदै छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज विहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको उत्तम साइत निकालेको छ ।
समितिका अध्यक्ष रामचन्द्र गौतमले यो उत्तम साइत भए पनि दिनभर भाइटीका लगाउन सकिने बताएका छन् । उनले यो साइत राज्य सञ्चालकका लागि भएको अनौठो तर्क गर्दै सर्वसाधारणले आफ्नो अनुूकल पारेर टिका लगाउन सक्ने पनि बताए ।
यस वर्षको तिहारको यमपञ्चक कात्तिक ८ गते सुरू भएको थियो । नपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कात्तिक ८ गते धनवन्तरी जयन्ती र धनतेरस,९ गते कागतिहार, कात्तिक १० कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको थियो । यसैगरी कात्तिक ११ गते गाई, गोरु र आत्म (म्ह) पूजा भने ११ दिन परेको छ । कात्तिक १२ गते भाइटीका र नेपाल सम्वतको नयाँ वर्ष समेत परेको छ ।