नारायणकाजीले भने- भारतसँगको सीमा विवाद मिलाउन तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्छ

फाइल तस्बिर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँगको सीमा विवाद समाधान गर्न तत्काल प्रधानमन्त्रीस्तरमै संवाद हुनुपर्ने बताएका छन्।

प्रवक्ता श्रेष्ठले लिम्पियाधुरा, कालापानीलगायतका नेपाली भूमि भारतले अतिक्रमण गरेको उल्लेख गर्दै यो समस्याको समाधान गर्न उच्चस्तरीय राजनीतिक कूटनीतिक संवादको विकल्प नरहेको आफ्नो पार्टीको निष्कर्ष रहेको पनि स्पष्ट पारे।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतसँगको सीमा समस्या समाधान गर्न वर्तमान सरकार सफल हुने दाबीसमेत गरे। ‘केपी ओली नेतृत्वको अघिल्लो सरकारले भारतबाट हुने नाकाबन्दीको अन्त्य गरेर भारतलाई झुकाउन सफल भएको थियो, प्रवक्ता श्रेष्ठले भने, ‘अब दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न पनि वर्तमान सरकारबाट सम्भव छ।’

त्यसका लागि सरकारलाई सबै राजनीतिक दलहरुको सहमति र जनताको समेत साथ र सहयोग रहेको पनि प्रवक्ता श्रेष्ठको भनाई छ ।

कार्यक्रममा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि नागरिक अगुवाहरुलाई निरन्तर सरकारलाई दवाव दिन पनि आग्रह गरे। उनले जनताको सचेत दवावले सरकारलाई सो समस्या समाधान गर्न सघाउ पुर्‍याउने पनि स्पष्ट पारे।

परराष्ट्रविद श्रेष्ठले भारतसँगको सीमा समस्या समाधान गर्ने उपयुक्त अवसर आएकाले त्यसको सदुपयोग हुने गरी उच्चस्तरीय राजनीतिक कूटनीतिक पहलकदमी लिन सरकारलाई आग्रह गरे।

नेपालको सीमा लिम्पियाधुरासम्म भएको भन्दै त्यसलाई फिर्ता ल्याउन त्रिपक्षीय वार्ता गर्नुपर्ने समेत सुझाए।

कार्यक्रममा बोल्दै श्रेष्ठले सुगौली सन्धीको आधारमा पनि लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालीकै भूभाग भएको दाबी गरे।

उनले त्यो फिर्ताको लागि संयुक्त राष्ट्रसंघमा जानुपर्ने भन्दै त्यो भन्दा पहिले दुई पक्षीय र त्रिपक्षीय वार्ता हुनुपर्ने बताए।

सीमा समस्याको समाधान कुटनीतिक रुपमा समाधान गर्नुपर्ने भए पनि नेपालले भारतसँग अहिलेसम्म नसकेको धारणा राख्दै श्रेष्ठले अब नागरिकले सडकमा आउनुपर्ने बताए ।

त्रिदेशीय विन्दू लिम्पियाधुरा भएको बताउँदै श्रेष्ठले सुरक्षाकर्मी राखेर भारतसँग वार्ता गर्नुपर्ने बताए। समस्या समाधानको लागि नेपाली सुरक्षाकर्मी राख्नुपर्ने, दुई देशीय र त्रिदेशीय वार्ता गर्नुपर्ने श्रेष्ठको भनाई थियो ।

वरिष्ठ पत्रकार भैरव रिसालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा आफूले जनगणना गराएको बताउँदै नेपालीभूमी भएको बताए।

वि.सं. २०१७/१८ मा जनगणना गराएको जानकारी गराउँदै रिसालले त्यो बेला भारतको कुनै उपस्थिति नरहेको र नेपाली नागरिक मात्रै भएको बताए। राजाले हस्ताक्षर नगरेको बताउँदै रिसालले सुगौली सन्धीमा नै अवैधानिक रहेको दाबी गरे ।

सुगौली सन्धीमा काली नदी पारीको भूभाग नेपालको उल्लेख गरिएको बताउँदै रिसालले महाकालीको मुहान लिम्पियाधुरा भएकोले भारतले नक्कली काली नदी बनाएको भन्दै आपत्ति जनाए।

उनले लिम्पियाधुरा बाट बग्ने नदीमा ५२ सय घनलिटर पानी प्रति सेकेण्डमा बग्ने भएकोले महाकालीको मुहान लिम्पियाधुरा भएको बताए। भारतले बनाएको नक्कली काली नदीमा २२ सय घनलिटर मात्रै पानी बग्ने गरेको बताउँदै रिसालले यो आधारमा लिम्यिाधुराबाट आएको नै मुख्य नदी भएको बताए।

लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालीभूमी भएको प्रमाण सुरक्षति भएको बताउँदै रिसाले भने, ‘कालीपूर्व हाम्रो भूमी हो भन्ने हामीसँग धेरै प्रमाण छन्, तत्कालिन बैतडी र हालको दार्चुला मालमा तिरो तिरेको रसिद सुरक्षति छ।’

भारतले सार्वजनिक गरेको नक्सा फिर्ता लिनुपर्ने, सुरक्षाकर्मी हटाउने पर्ने माग राख्दै रिसालले नेपाली सुरक्षाकर्मी पनि कालापानी, लिपुलेकमा तैनाथ गर्नुपर्ने बताए। उनले अब नेपालीभूमी फिर्ता ल्याउन उठेको आवाजलाई रोक्न नहुने बताए ।

प्रकाशित मिति: : 2019-11-15 21:05:53

प्रतिकृया दिनुहोस्