सानोमा बलभद्र कुँवरको कथा निकै सुनेको थिएँ। दुई वर्ष भारतको राजधानी नयाँ दिल्ली बस्ने क्रममा एकपटक देहरादुन जाने योजना बन्यो। र, स्थानीय सूर्यबिक्रम शाहीलाई फोन गरेँ। देहरादुनको कार्यक्रम फिक्स भएर जतिबेला म देहरादुनको बसपार्क पुगेँ। मलाई लिन ठूलो ज्यान भएका उनै शाही स्कारपियो लिएर बसेका रहेछन्। मलाई देख्ने वित्तिकै उनले हर्न बजाएर सोधे– भन्नुस् सुरेन्द्र जी। कहाँ जाने?
मेरो उत्तर थियो– नालापानी।
छिमेकी भारतको उत्तराखण्डस्थित देहरादुनको उत्तरपूर्वी क्षेत्र नालापानीमा अहिले पनि अंग्रेज–नेपाल युद्वताकाका किल्लाहरुको अवशेष हेर्न सकिन्छ। जसले नेपालीको बीरगाथालाई स्मरण गराउँछ।
नालापानी युद्वमा तत्कालिन नेपाली कप्तान बलभद्रसिंह कुँवरले केही नेपालीको भरमा अंग्रेज फौजलाई आच्छुआच्छु पारेको इतिहास साक्षी छ। करिब दुई महिना अंग्रेज फौजले उक्त किल्लालाई चारैतर्फ घेरेर नेपाली सेनालाई बन्धक बनाउने प्रयास नगरेका होइनन्। तर, बीर गोर्खाली सेनाको अगाडि उनीहरु टिक्न सकेनन्।
हाल लडाई भएको भूमि माटोमा परिणत भइसकेको छ। तर, स्मृतिका रुपमा ढुंगा मात्र साक्षी छन्। अहिले यहाँ पुग्दा यिनै ढुंगाले नेपाली युद्वको बीरगाथा बताइरहेको भान हुन्छ।
सन् १८१४ मा बुबाको निधन भएपछि बलभद्रसिंह कुँवर नालापानी रक्षाका लागि किल्ला निर्माणमा नियुक्ति भएका थिए। कुनै बेला नेपालमा रहेको यो स्थान हाल देहरादुनस्थित रिस्पना नदिबाट करिब दुई–अढाई कोश टाढा रहेको छ।
नालापानी किल्ला पूर्णरूपमा पुरा भइसकेको थिएन। यसैबीच अंग्रेज फौजले नेपाली सेनासँग युद्व घोषणा गर्यो। १ नोभेम्बर १८१४ मा अंग्रेज फौज युद्वका लागि तयारीसहित दानापुर, काशी, मेरठ र लुधियानाबाट चार बटालियन जम्मा गरेर नालापानी पुगेको थियो।
मेरठ सेनाका सेनापति जर्नेल जिलेस्पी थिए। उनको सेनामा ३ हजार ५ सय १३ सैनिक, १३ वटा तोप लिएर युद्व मैदानमा होमिएका थिए। उनको फौज मेरठबाट देहरादुनतर्फ लाग्दैगर्दा कर्नेल कार्पेन्टरको नेतृत्वमा आएको अर्को फौज पनि मिसिएको थियो। अर्को पट्टि कर्नेल माविको फौज पनि मोहन भन्ने स्थानमा प्रवेश गर्यो र दुवै सेनाका डफ्फा २४ अक्टुबरका दिन देहरादुन आइपुग्यो।
देहरादुन आइपुगेकै रात कर्नेल माविले एउटा पत्र लेखेर बलभद्र कुँवरलाई पठाएका थिए– जसमा लेखिएको थियो– अंग्रेज सेनासँग आत्मसमर्पण गर।
अंग्रेज कर्नेलको पत्र देख्ने बित्तिकै आगो भएका बलभद्रले अंग्रेज दूतकै अगाडि चिट्ठी झ्यारझुर पार्दै खुट्टाले कुल्चिएर फ्याँकिदिएका थिए। र उनले दूतलाई मौखिक संदेश पठाए– आधा रातमा चिठी लेख्ने र पठाउने हामी नेपालीको चलन छैन। त्यही पनि छिट्टै हाम्रो कर्नेलको तिमीसँग भेट हुनेछ।
नेपाली माथिको स्वाभिमान र आत्म–सम्मानमा आँच आउन दिन हुन्न भन्ने पूर्खाको अर्तिलाई सम्झेर बलभद्र रिसले मुर्मुरिएका थिए।
बलभद्रको जवाफ जब अंग्रेज फौजको क्याम्पमा पुग्यो– उनीहरुको खेमामा भूइँचालोनै गयो। किनभने यसअघिसम्म अंग्रेज फौजलाई यसरी जवाफ फर्काउने हिम्मत कसैले गर्न सकेका थिएनन्। उनीहरुले एक मनले पनि चिताएका थिएनन्। नेपाली सेनाले यसरी आफूलाई चुनौति दिन्छ भनेर।
बलभद्रसँग अंग्रेजको बिशाल फौजविरुद्ध लडाई लड्न मात्र ६ सय सिपाही थिए। तर साहस, हिम्मत र विश्वास भने हिमाल झैँ अटल थियो। नेपाली सेनामा महिला र बच्चाको उपस्थिति बाक्लो थियो। यसबाहेक बलभद्रसँग हतियारका नाममा धनुबाण, खुकुरी, तलवार, भाला तथा केही पुराना बन्दुक र तोप मात्र थिए।
कर्नेल मविलाई बलभद्र कुँवरले अपमान गरेको पटक्कै चित्त बुझेको थिएन। त्यसैले उनी रिसको झोँकमा रात छिपिन्न नपाउँदै पहाडलाई चारैतर्फ तोपले घेरेर नालापानी किल्लालाई बम र बारुदले उडाउन चाहन्थे।
तर बलभद्र एक इन्च पनि बिचलित भएनन्। बरू धैर्यता र साहसको परिचय दिँदै उनले किल्ला भित्रबाट आफूसँग भएका केही देशी तोपको सहायताले प्रतिउत्तर दिन थाले। उनको बहादुरी देखेर अंग्रेज फौजको होस ठेगानामा आयो। गोर्खालीसँगको त्यो भिडन्तले कर्नेल मावि लगायत सेना आत्तिएर भाग्दै जर्नेल जिलेस्पी कहाँ वृतान्त सुनाउन पुगे।
यो सुनेपछि रिसले आगो भएका जिलेस्पी आफ्ना सेनासहित २६ अक्टुबरमा देहरादुन पुगे। देहरादुनमा तीन दिन लडाइको रणनीतिलाई लिएर छलफल भयो। जिलेस्पीको लक्ष्य भनेको जसरी पनि ठूला चार टुकडी जम्मा भएको मौका छोपेर नालापानी किल्ला कब्जा गर्ने। जसमा कर्नेल कारपेन्टर, मेजर केली, कप्तान फास्ट तथा कप्तान केम्बेलाको नेतृत्वमा चार वटा टुकडी किल्लाका चारै दिशामा अक्रमणका लागि तैनाथ गर्नुका साथै ६ सय गजको दुरीको समथर भागमा तोपलाई किल्लातर्फ फर्काएर राखिएको थियो।
यस बाहेक मेजर लड्कोको टुकडी थप तैनाथ गरिएको थियो। ३१ अक्टोबरको बिहानीपख चराको चिर्चिरे कर्कस आवाज किल्लाभित्र रहेका बलभद्र कुँवरलगायतलाई शंका नहुने कुरै थिएन! एक्कैछिनमा चारै तिरबाट सुरु भएको बन्दुक र तोपको हमलाको आवाजले सिंगो नालापानी ब्यूँझियो।
यति बेला जर्नेल जिलेस्पीलाई लागेको थियो– अब पुरै किल्ला तोपले ढल्छ। तर तोपको दुरी निकै टाढा भएका कारण जिलेस्पीको युद्व जित्ने रणनीति फेल खायो।
यो असफलताका कारण जिलेस्पी यति हतोत्साही भएका थिए। उनले आकाशमाथि बन्दुक फायर गरेर सबैलाई संकेत गरे– चार वटै टुकडीले एकै साथ किल्लाभित्र पसेर ठूलो शक्ति प्रदर्शन गर्ने। उनको यो संकेत पनि सबैले बुझेनन्। दुई वटा टुकडी अघि सर्यो। दुई वटाले पत्तो पाएनन्।
भौगोलिक विकटताको अध्ययन, अनुसन्धान बिना अगाडि बढेका कर्नेललगायतको फौजमाथि किल्ला भित्रबाट नेपाली सेनाले भाला, खुकुरी, धनुषबाण, बन्दुक र ढुंगाको बर्षा बर्साउन थाले।
जर्नेल जिलेस्पी अंग्रेज फौजको दुर्दशा देख्न नसकेर स्वयम नालापानी किल्लातर्फ अगाडि बढे। यतिकैमा भित्रबाट आएको एउटा गोलीले उनको इहलिला समाप्त भयो।
आफ्नै आँखा अगाडि सेनापति जिलेस्पिको लाश बलभद्र कुँवरको टुकडीले क्षतबिक्षत पारेको देख्ने बितिकै अंग्रेज फौज नालापानीबाट भागेर नदी पारगरि देहरादुन फर्किएको थियो।
यहाँ केही दिन क्याम्प राखेर पूर्णरुपले बिश्राम गरेपछि कर्नेल माविको नेतृत्वमा पुन: अंग्रेज सेना नालापानी पुग्यो। मावि चुस्त र चतुर अधिकृत थिए। उनले पहिले तित्तर-बित्तर भएका सेनालाई जम्मा पार्न थाले। पहिले आफ्नो बटालियनलाई बलियो र भरपर्दो बनाएर उनले दिल्लीबाट थप नयाँ तोप र हतियारसहित फौज मगाए।
सम्पूर्ण सेनाको हौसल्ला बढाउन उनले एकमहिना युद्ध बन्द भएको घोषणा गरे। त्यहि मौका छोपेर नालापानी किल्लामा रहेका नेपालीले पनि प्रसस्त मात्रामा खाद्यान्नको जोहो गर्न सफल भए। त्यसै समयमा पूर्णरुपले निर्माण हुन नसकेको किल्लापानी पुरा गरे। यहि कुराको खबर अंग्रेजलाई आफ्ना गुप्तचरबाट थाहा भैरहेको थियो। अंग्रेज सेनाका कर्नेल माविलाई युद्ध रोक्नु व्यर्थ लागेर दिल्लीबाट मगाइएका तोप, हतियार र फौज पुग्ने बितिकै २५ नोभेम्बरका दिन नालापानी किल्लामा पुन: आक्रमण गरे।
नालापानीमा तीनदिन भीषण आक्रमण भैरह्यो। आक्रमणमा किल्लाको एकातर्फको पर्खाल भत्किन पुग्यो। अंग्रेज सेनाको मनोबल दुइगुना बढेर आयो र किल्लातर्फ धावा बोल्दै अंग्रेज फौज अगाडि बढ्न थाल्यो।
पर्खाल भत्किए पनि त्यो भत्किएको ठाउँमा सेकेण्डभर मै अर्को ठूलो पर्खाल खडा भयो। त्यो थियो मानव पर्खाल। मानव पर्खाल देखेर फौजी आक्रमणमा उत्रेको अंग्रेज सेना ससंकित भयो। उक्त पर्खाल ढुङ्गाको थिएन, तैपनि साहस र स्वाभिमानसहित ढुंगा भन्दा पनि कडा र बिशाल भैदियो।
त्यही पर्खालले दुस्मनको बाटो अबरुद्ध गरि बाटो छेक्न ठूलो सहयोग पुर्यायो, जसमा महिलाले नै मानव पर्खाल बनाएका थिए। हात हातमा खुकुरी, भाला, धनुषबाण र ढुंगा बोकेर बैरीमाथी प्रहार गरि रहे।
अंग्रेज फौजले पनि गोलाबारुद निर्भयका साथ चलाइरहे। लडाईको समय पर्खालमा उभिएका महिला जब शत्रुको गोली लागेर लड्थे, त्यही ठाउँबाट अर्की महिला पर्खाल भएर उभिदिन्थिन्।
यस्तो दृश्य देख्दा अंग्रेज फौजका जवान पनि दंग पर्थे। त्यसै समय उनले नेपाली महिलाको साहस देखेर प्रसंशा गरेको इतिहास छ।
नेपाली बीरताको गाथा यतिमै सिमित रहदैन, अंग्रेजको साहस बढ्दै गइरहेको अवस्थामा उनीहरुमा जितको नजिक छु भन्ने हुकार बढ्नु स्वभाविक पनि हो।
अंग्रेज फौज जब जब नालापानी किल्लाभित्र पस्ने दुर्स्साहस गर्थे, तब तब नेपाली तर्फबाट तिनै माटो ढुंगा, खुकुरी, भाला र धनुषबाणको बर्षा भैरहन्थ्यो। यो लडाई करिब तीन घण्टा सम्म निरन्तर चलिरह्यो तर अंग्रेज फौज किल्लामा प्रवेश गरि अधिकार जमाउन असफल नै रह्यो। फेरि पनि अंग्रेज फौज फर्किन बाध्य भयो। अंग्रेज फौजमा घाइते तथा मृतकको संख्या करिब ६ सय ८० पुगिसकेको थियो। त्यसो त नेपाली सेनातर्फ पनि क्षति नभएको भने होइन तर तुलनात्मक रुपले निकै कम क्षति भएको थियो।
अन्तिममा कर्नेल माविलाई एउटै कुरोले सताउन थाल्यो कि अब भने नेपालीसँग लडेर जित्न सकिनेवाला छैन। त्यसैले केही उपाय अपनाउनु पर्छ भनेर उनी युद्धको नियमविपरित रणनीति बुन्न थाले। केही शीप नचलेपछि उनले नेपालीहरुले खाने पानीको मूल काटेर भएपनि युद्ध जित्ने अपराधिक योजना बनाए। किल्ला मुनि रहेको खानेपानीको मूल, जुन अहिले पनि छदैछ। तत्कालिन समयमा सानो खोलो जस्तै बगिरहन्थ्यो। आफ्ना गुप्तचरहरुको खबर प्राप्त भएपछि त्यहाँ पानी भर्न आउने जो कोहीलाई गोली हान्ने आदेश दिए।
किल्लामा युद्ध जारी नै थियो। पानी पिउन नपाएर आहत भएका नेपालीले तीन दिनसम्म शत्रुमाथि धावा बोले। आत्मसमर्पण गरेनन्। पानीको कारण किल्लाभित्र बिशेष गरि महिला र बालकको अवस्था दयनीय भएपछि बलभद्रले सहन सकेनन्। किल्लाभित्र जम्मा भएका ६ सय मध्येमा ७० सैनिक मात्र लड्नसक्ने अवस्थामा थिए।
अब भने बलभद्रले अन्तिम कदम उठाउने बिचार गरे। ३० नोभेम्बरका दिन मध्यरातमा नालापानी किल्लाको त्यो सिंहद्धार, जुन भिषण गोलाबारी हुँदापनि खुलेको थिएन। एकाएक खुल्यो।
केवल ७० बीर सिपाहीका साथ बलभद्र कुँवरबाहिर निस्किए र अंग्रेज सेनामाथि धावा बोल्दै उनीहरुको भीडमा खुकुरी नचाउँदै अंग्रेज सेनाको टाउको काट्दै पानीको मुहान सम्म पुगे। पानी पिए। प्यास मेटाए र आफ्नो माटोको टुम्लेटमा पानी बोकेर पहाडतिर लागे। जहाँ उनले अंग्रेजलाई ललकार्दै भने– शत्रुको लागि किल्ला जित्न असम्भव छ। तर अवस्थाले गर्दा हामी आफ्नै इच्छाले किल्ला त्याग्न चाहन्छौ।
सानो पहाड काट्दै बलभद्रलगायतले किल्ला छोडेर गएपछि मेजर केलो किल्लाभित्र पसेर आफ्नो अधिकार चलाउन थाले।
जहाँ बलभद्र कुँवर पुग्थे। उनको चर्चा त्यतिनै हुने गर्थ्यो। उनले अंग्रेज फौजलाई तह लगाएको खबर बिभिन्न राज्यहरुमा भुषको आगो सल्के झैँ फैलिरहेको थियो। खबर पञ्जाव केसरी महाराजले थाहा नपाउने कुरै थिएन। एकदिन महाराज रणजित सिंहले आफ्नो फौजमा भर्ना भै काम गर्न अनुरोध गरॆपछि उनी पञ्जाव सेनामा भर्ना भए।
१३ मार्च १८२३ को शिख-अफगान युद्धमा उनी अफगानको तोपको सामना गर्दागर्दै बीरगति प्राप्त भए।
आजसम्म अंग्रेज फौजले विश्वभरमा कति लडाइ लड्यो। प्राय: सबै ठाउँमा जितेको छ। तर नालापानी युद्ध अंग्रेज फौजको लागि यस कारण पनि बिशेष बन्यो, नेपाली सँग सबै युद्ध हारेके अंग्रेजले यो युद्धमा ठूलो क्षति बेहोर्नुपर्यो।
तत्पश्चात नालापानी युद्धमा मारिएका आफ्ना सेनापति गिलेस्पी र शत्रुतर्फका कमाण्डर बीर बलभद्र कुँवरको सम्झनामा अंग्रेज सरकारले सम्मान स्वरूप स्मारक नै बनाए। जुन अहिले पनि देहरादुनस्थित रिस्पना नदीको किनारमा दुइ स्तम्भहरुले शोभा बढाएको छ। जसमा अंग्रेजीमा लेखिएको छ–
“This is inscribed as a tribute of respect for our Gallant adversary, BULBUDDER commander of the Fort, and his brave Gurkhas, who were afterward, While in the Service of Ranjit Singh, shot down in their Ranks to the last man by Afgan Artillery .”