खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण (भिडियोसहित)

बिएल

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोका तथा च्याङ्ग्राको बिक्री मूल्य निर्धारण गरेको छ। कम्पनीले बिक्री गर्ने जीउँदो खसी, बोकाको मूल्य प्रतिकिलो रु ५५० र च्याङ्ग्राको मूल्य प्रतिकिलो रु ७३० निर्धारण गरिएको छ। उपभोक्तालाई खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु १० सहुलियत दिई उक्त मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले सोमबारबाटै साविकको खाद्य संस्थानको थापाथलीस्थिति बाग्मती अञ्चल कार्यालयबाट खसी, बोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको छ। सरकारले दशैँका समयमा उपभोक्तालाई थारै भए पनि राहत दिन विगतमा झै यसपटक पनि खसी, बोका तथा च्याङ्ग्रा बिक्री गरेको हो। यसवर्षका लागि कम्पनीले काठमाडौँ उपत्यकामा करीब तीन हजारको सङ्ख्यामा खसी, बोका तथा च्याङग्रा बिक्री गर्ने तयारी गरेको छ। त्यसका लागि एक हजार ९२० च्याङ्ग्रा र करिब एक हजार खसी, बोका राजधानी ल्याएको छ।

अहिले राजधानीका अन्य खसी बजारमा जीउँदो खसी बोका ६५० र च्याङ्ग्रा ७५० प्रतिकिलोमा बिक्री भइरहेको छ। सम्बन्धित जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको खरिद समितिले गरेको मूल्यका आधारमा ती खसी, बोका तथा च्याङ्ग्रा किसानसँग खरिद गरिएको कम्पनीले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-09-30 17:41:40

प्रतिकृया दिनुहोस्