असोज १ गते बिहान कपन तेन्जिङ चोकनजिकै एउटा घरमा आफ्नै कोठाभित्र हत्या गरि फरार भएका केही अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृद्ध बौद्धको टोलीले मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्कीलाईआईतबार नियन्त्रणमा लिएको हो।
कपनको तेन्जिङ चोक नजिकै रहेको घरमा डेरा गरी बस्ने कपिलवस्तु घर भएकी ५५ वर्षीया कमला कार्की मृत अवस्थामा फेला परेकी थिइन्। कोठाभित्र हात र मुख सलले बाँधिएको अवस्थामा उनको शव भेटिएको थियो। भदौं ३१ गते राति उनीहरुले सँगै मदिरा खाएको र हत्या भएको खुलेको छ।
'उनिहरुबीच पहिलेदेखि नै चिनजान भएको खुलेको हो। उनीहरु चिनजान कै हुन्। पहिल पहिले पनि कोठामा गएर मदिरा खाने गरेको देखिएको छ।' घटनामा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।
कमलाले केही समयदेखि किराना तथा रक्सी पसल गर्दै आएकी थिइन्। कोठामा उनीमात्र एक्लै बस्ने गरेको पनि देखिएको छ। उनीहरुले मदिरामा नशालु पदार्थ मिसाएर लठ्ठाएर लुट्ने योजना बनाएको देखिएको छ। कमलाको कोठामा केही रकम र सुनका गहना भएको थाहा पाएपछि लुट्ने योजना बनाएको उनीहरुले प्रहरीको बयानमा भनेका छन्।
डिएसपी बोगटीका अनुसार वियरमा नशालु पदार्थ मिसाए त्यसपछि कमला बेहोस् गराइ लुटेका हुन् ।
उनीहरुले कमलाको साथमा भएको ४५ हजार रुपैयाँ, चारवटा सुनको औठी लुटेको थिए। हातको औंठी झिक्न खोज्दा ब्युझीएपछि कमलाले प्रतिकार गर्न खोज्दा घाँची घिचेर हत्या गरेको देखियो', डिएसपी बोगटीले भने।