संविधान संशोधन गरी नेपालको नक्सा सच्याउन सरकारसँग विवेकशीलकाे माग

तस्बिरः एजेन्सी

संविधान संशोधन गरी नेपालको नक्सा सच्याउन विवेकशील नेपाली दलले सरकारसँग माग गरेको छ ।

विवेकशीलका प्रदेश ३ सांसद् रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै संविधान संशोधन गरी यथाशीघ्र नक्सा सच्याउन माग गरेका हुन् ।

'नेपालको संविधानको अनुसूची ३ मा व्यवस्था रहेको नेपालको निशाना छापमा प्रयुक्त नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकक्षेत्र नसमेटिएकाले यथाशीघ्र नेपालको संविधानको अनुसूची ३ संशोधन गरी नेपालको नक्सामा उक्त क्षेत्रहरू समावेश गर्न आग्रह गर्छौं', विवेकशीलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संविधानमा प्रयोग गरिएको गलत नक्साप्रति क्षमायाचना गर्न पनि मुख्य दलहरूलाई आग्रह गरेको छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले विगतमा प्रयोग भएको नक्सा गुगलबाट निकालिनु गल्ती भएको भनेर व्यक्त गरेको भनाइप्रति पनि विवेकशीलले आपत्ति जनाएको छ ।

मुलुकको भौगोलिक अखण्डतासँग जोडिएको गम्भीर महत्त्वको विषयमा हुने ढिलाइ स्वीकार्य नहुने भन्दै विवेकशीलले संविधान संशोधनमा ऐक्यबद्धता जनाउन सबै राजनीतिक दलहरूलाई आह्वान पनि गरेको छ ।

 

प्रकाशित मिति: : 2019-11-13 12:04:35

प्रतिकृया दिनुहोस्