हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ (भिडियोसहित)

तस्बिरः बिएल

यस वर्षको वडा दशैं आइतबारबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ। हनुमानढोकास्थित दशैं घरमा पनि धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ। आइतबार बिहान १० बजेर ३५ मिनेटको श’भसाइतमा घटस्थापना गरिएको हो। दशैं घरमा घटनास्थापना गर्दा नेपाली सेनाको एक टुकडीले बढाइँसमेत गरेको थियो।

दशैंको पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौको जमरा राखिन्छ। विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वस्पा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीको टीकाको दिन पहेंलो जमरासँगै दूर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ। घटस्थापना गरिएको स्थानमा हरेक दिन अधिष्ठात्री देवी दुर्गाका नौ स्वरुपको पूजा गरिन्छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्राइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन्। नवरात्रभर दूर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ। यस अवसरमा नक्शाल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लागेको छ।

 

प्रकाशित मिति: : 2019-09-29 15:46:07

प्रतिकृया दिनुहोस्