यस्तो बन्दैछ शालिग्राम सङ्ग्रहालय

फाइल तस्बिर

बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिरछेवैमा सुरुङद्वार देखिन्छ । द्वारबाट छिरेपछि निर्माणाधीन भूमिगत ‘स्वामी श्रीधराचार्य शालिग्राम सङ्ग्रहालय’ पुगिन्छ ।

सङ्ग्रहालयमा गण्डकी सभ्यताको प्रतिरुप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनी कक्ष बनिरहेको छ । सङ्ग्रहालयको ८० प्रतिशत काम पूरा भएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए। ‘आउँदो माघसम्ममा सर्वसाधारणलाई सङ्ग्रहालय खुला गर्ने योजना छ’, उनले भने।

कालीगण्डकी (पौराणिक नाम कृष्णागण्डकी) नदीमा मात्र पाइने बहुमूल्य शिला शालिग्राम जोगाउने उद्देश्यले गत वर्ष सङ्ग्रहालय निर्माणको काम शुरु भएको थियो । सय मिटर लामो सुरुङको प्रवेशद्वार नजीकै कृत्रिम भू–बनोटमा दामोदर कुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमूना देखाइएको छ । यसमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् ।

भौगोलिक नक्सा अनुसारकै नमूना तयार पार्न नेपाली सेनाले सघाएको थियो । मुस्ताङमा पर्ने दामोदर कुण्ड कालीगण्डकी नदीको उद्गमस्थल हो। ‘सिङ्गो गण्डकी सभ्यताको नमूना प्रतिरुप देखाउन खोजिएको छ’, अध्यक्ष प्रपन्नाचार्यले भने।

सुरूङको केही भित्र पुगेर बायाँ मोडिएपछि शालिग्राम सङ्ग्रह गर्नका लागि बनाइएको संरचना भेटिन्छ । दुर्लभ र धार्मिक महत्वका एक लाख शालिग्राम त्यहाँ सङ्ग्रहित गरिनेछ ।

मन्दिरका संस्थापक स्वामी श्रीधराचार्यको स्मृति कक्ष पनि सङ्ग्रहालयमा रहनेछ। उनको मूर्तिसँगै गण्डकी सभ्यताबारे उनले लेखेको पुस्तक, लेख, रचना र अन्य सामग्री उक्त कक्षमा रहने जनाइएको छ।

भारत, चीन, पाकिस्तानलगायत देशमा रहेका प्रसिद्ध नदीका शिलाहरु पनि सङ्ग्रहालयमा राखिने छ । समुन्द्री अवशेषहरुलाई पनि नमूनाका रुपमा राखिने जनाइएको छ। त्रिशूल आकारमा बनेको सुरुङको दायाँपट्टि ११२ जना अट्ने वृत्तचित्र प्रदर्शनी कक्ष छ ।‘एउटा गण्डकी सभ्यताको इतिहास र महिमा झल्काउने वृत्तचित्र बन्दैछ, अर्को गण्डकी सभ्यतामाथि पछिल्लो समय भइरहेको अतिक्रमणको पीडा र रोदन देखाउने खालको छ’, अध्यक्ष प्रपन्नाचार्यले भने।

अत्याधुनिक प्रविधिको प्रयोग गरेर भारतको बेङ्गलोर शहरमा वृत्तचित्र बनिरहेको उनको भनाइ छ । सुरुङको पछिल्लो भागमा ध्यान स्थल पनि बनाइएको छ । भक्तजन र पर्यटकलाई सङ्ग्रहालयभित्र एक-डेढ घण्टा भुल्ने वातावरण बनाइने मन्दिर व्यवस्थापनको योजना छ ।

बायाँपट्टिबाट प्रवेश गरी एक फन्को लगाएर बाहिर निस्कने व्यवस्था मिलाइएको छ । भौतिक पूर्वाधारको काम करीब सकिएको र सजावटका काम बाँकी रहेको जनाइएको छ । शालिग्राम राख्नेदेखि धार्मिक स्थलहरुको नक्साङ्कन र वृत्तचित्रको काम पनि अन्तिम चरणमा पुगेको छ । सङ्ग्रहालय निर्माणमा झण्डै रु छ करोड लागत लाग्ने भएको छ ।

सङ्ग्रहालय निर्माणका लागि गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले रु ८० लाख र बागलुङ नगरपालिकाले रु १० लाख बजेट छुट्याएका थिए । चालू आवमा कतैबाट पनि सरकारी बजेट नछुट्टिएको मन्दिर व्यवस्थापनको गुनासो छ। ‘चन्दा, दान, सहयोगबाटै काम अघि बढिरहेको छ’, अध्यक्ष प्रपन्नाचार्यले भने, ‘सरकारको पनि उचित सहयोग प्राप्त होस् भन्ने अपेक्षा छ ।’

शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटनमा ठूलो टेवा पुर्‍याउने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए। ‘बागलुङ भित्रने पर्यटकलाई सङ्ग्रहालय महत्वपूर्ण गन्तव्य बन्ने देखिएको छ’, उनले भने, ‘सङ्ग्रहालयको निर्माण कार्य समयमै सक्न सबै पक्षको सहयोग आवश्यक छ ।’

प्राकृतिक र मानवीय अतिक्रमणका कारण शालिग्राम लोपन्मुख अवस्थामा पुगेपछि संरक्षण प्रयास थालिएको हो। धार्मिक हिसाबले पवित्र मानिने शालिग्रामलाई हिन्दू धर्म, संस्कारमा विष्णु भगवान्को अवतारका रुपमा पुज्ने गरिन्छ । सङ्ग्रहालय नजीकै निर्माणाधीन श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिरको काम पनि अन्तिम चरणमा पुगेको छ।

विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाउन लागिएको हो । प्यागोडा शैलीको मन्दिरमा श्रीराम अङ्कित कालीगण्डकी नदीका शिला (ढुङ्गा) र सालको काठ प्रयोग गरिएको छ । सालको काठमा आकर्षक कला कुँदेर मन्दिरका टुँडाल, झ्याल र ढोका बनाइएको छ ।

मन्दिर निर्माणको काम भक्तपुरका दक्ष कालीगढले गरिरहेका छन् । प्राचीन नेपाली कला र शैली झल्कने गरी बनाइएको मन्दिरमा ६४ टुँडाल छन् भने तिनमा विभिन्न देवीदेवताका आकृति कुँदिएका छन् ।

मन्दिरमा भगवान् मुक्तिनाथ, श्रीरङ्गनाथ, श्रीवेंकटनाथ, श्रीदेवी, भूदेवी र नीलादेवीका मूर्ति रहने जनाइएको छ । पहिले मुक्तिनाथ जाने तीर्थयात्री सोही मन्दिर भएर जाने गर्दथे ।

बागलुङ बजारदेखि २० मिनेटको मोटरयात्रामा शालिग्राम सङ्ग्रहालयमा पुग्न सकिन्छ । श्रीरङ्गवेंकटेश मुक्तिनारायण मन्दिर, शालिग्राम सङ्ग्रहालय, कालिका भगवती मन्दिर, पञ्चकोट आदि जिल्लाको धार्मिक पर्यटनका महत्वपूर्ण गन्तव्य हुन्।

प्रकाशित मिति: : 2019-09-24 23:09:05

प्रतिकृया दिनुहोस्