मानव समाजको इतिहास अनौठो छ। एक कोषीय जीवबाट आजको उत्कृष्ट मानव 'होमो सेपियन्स' सम्म आइपुग्दाका करोडौं वर्षलाई एक पटक चटक्क बिर्सेर हाम्रो आफ्नो पुर्खालाई मात्र हेरौं त, हामी कसरी आजको अवस्थामा पुगेका हौं?
आजको व्यवस्थित मानवसम्म आइपुग्दासम्मको प्रकृतिको लीला पनि अचम्मको छ। त्यो भन्दा बढी अचम्मको लीला समाज चलाउने नाइकेहरुको छ।
जंगली अवस्थादेखि आजसम्मको मानव विकासका विभिन्न चरणहरुमा सबैभन्दा पहिलो चरण, जसलाई कार्ल मार्क्सले आदिम साम्यवाद भने। त्यसबाहेक पछि आधुनिक भएका मानवहरुको बीचमा भेदभावको सुरुवात भएको छ।
यसरी गरिने विभेद शासकबाट शासित, मुखियाबाट गाउँले, राजाबाट रैती, मालिकबाट दास वा नोकरलाई मात्र होइन,आफ्नै घरबाट आफैंलाई समेत भएका छन्।
त्यसैले परकाको के कुरा गर्नु घरकाले पनि उस्तै गर्छन्।
एकपटक सुन र फलामको बीचमा संवाद भएछ। सुनले फलामलाई सोधेछ 'हामी दुबैलाई फलामले नै पिट्छ। म बिस्तारै कराउँछु। तिमी किन जोडजोडले कराउँछौ?' फलामले जवाफ दिएछ,'जब आफ्नैले चोट दिन्छन् नि, सबैभन्दा पीडा हुन्छ।'
यस्तै पीडा थियो राजेश केसरीको। रंगहरुकोको रंग मानसपटलमा लिनको लागि देख्ने आँखा थिएनन्। यदि देख्न सक्ने आँखा हुँदा हुन त, कुन रंग कस्तो भन्ने थाहा हुँदो हो। अँध्यारोमा पनि दिमागले फलाने रंग यस्तो हुन्छ भन्ने आकार बनाउँदो हो। तर, सूर्यको चम्किलो उज्यालेमा पनि अँध्यारो मात्र देख्ने उनलाई रंगहरुको पर्व होलीको दिन जेठा बा कि छोरीले भनिन्, 'अरु आँखा देख्ने भाइहरुलाई आशिष त दिएँ, तर तँ अन्धोलाई के भनेर दिउँ?'
एकाएक मन भक्कानियो। त्यसको ठूलो असर त आँखालाई नै पर्ने रहेछ। संसार नदेख्ने आँखाले एउटा काम जानेका थिए। त्यो हो आँसु झार्न। अनि रूँदै भनेका थिए, 'दिदी म पढ्न चाहन्छु।'
उसो त उनी जन्मजात आँखा नदेख्ने थिएनन्। सानो हुँदा देब्रे आँखा फुलो पर्यो। डाक्डरले दाहिने आखाँको उपचार गराए। डाक्टरकै कमजोरीले गर्दा उनले दुबै आँखाको ज्योती गुमाउनु पर्यो।
आज अपाङ्गता भएकालाई सकभर चित्त नदुख्ने गरि बोलाउने शब्दहरुको विकास गरिएको छ। जस्तो: फरक क्षमता भएका, दृष्टिविहीन आदि। केही मान्छेहरु निकै संयमित पनि छन्। तर,आफ्नैले भने फलामले फलामलाई पिटेझैं गर्छन्। अनि केसरीका आँखाबाट आँसु झर्छन्।
बाराको प्रसौनीया गाउँपालिका-२ मा घरको माइलो छोराको रूपमा मधेशी समुदायको अशिक्षित परिवारमा उनी जन्मिएका हुन्।
१२ कक्षा पास गरेका उनी कीर्तिपुरको पाँगामा श्रीमति स्मृतिसँगै बस्दै आएका छन्। २६ वर्षीया उनी लोकसेवालाई भविष्य र अगरबत्तिलाई विकल्प बनाएर जिन्दगीको गोरेटो नापिरहेका छन्।
कीर्तिपुरको नगाउँबाट धुप (अगरबत्ति) किनेर ल्याउँछन्। बिकेको खण्डमा साहुलाई सावा फिर्ता गर्ने शर्तमा। साहुले भोलेन्टियर पनि खोजिदिन्छन्। तर, कहिलेकाहीँ भोलेन्टियर पाइदैन।
उनले धुप बिक्री गरेर आएको आधा रकम भोलेन्टियरलाई दिनुपर्छ। बाँकी आफ्नो गुजाराको लागि।
धुप सँधै बिक्दैन। त्यो समयमा आफ्नो खल्ती रित्याएर खाजा खानुपर्ने अवस्था पनि आउँछ। कहिलेकाहीँ यस्तोसम्म हुन्छ, मान्छेहरु धुप नकिनेर पाँच रूपियाँ दिएर माग्नेको व्यवहार गर्छन्। त्यसबेला उनको छाति चिरिएजस्तो हुन्छ।
त्यसमाथि पानी परेको बेला झन् बिजोकै हुन्छ। उनी भन्छन्, 'त्यसबेला हामी मार्केट जानसम्म सक्दैनौं। आम्दानी कहाँबाट हुनु। त्यो दिनको ज्याला त्यसै मर्छ।’
यो त उनले काठमाडौंमा पेट भर्न गरेको सङ्घर्षको एउटा सानो अंश मात्र हो।
उनले १२ कक्षा कसरी पास गरे? कसरी गुजारा चलेको छ? उनी के चाहन्छन्? जीवन भोगाइका यी सबै ठेलीहरुलाई व्यवस्थित गर्ने हो भने किताबै बन्छ। त्यसको केही अंशमात्र यहाँ उतार्ने कोशिश गरेको छुँ।
दिदीको बचनको प्रतिउत्तरमा उनले 'पढ्ने चाहना छ' भनेका थिए। तर पढ्न उति सहज थिएन। घरले पनि उनको चाहनालाई बुझ्न सकेको थिएन। बरू आफ्नै घरमा कैदीझैं थुनिएर बस्नु नियमितता थियो।
१२ वर्षसम्म यही नियतिको शिकार हुनुपरेको थियो। आँखा नदेख्ने भएकाले बाआमाले घरको बन्द कोठामा राख्ने गरेका थिए। इज्जत जान्छ भनेर परिवारले त्यस्तो गरेको उनले बिएल नेपालीलाई बताए। अशिक्षित परिवारको बुझाइ सायद यस्तै थियो।
कपाल काट्न शैलुनमा लैजाँदा पनि उनलाई लुकाएर लगिने गरिएको थियो। विवाह व्रतबन्धमा सामेल हुनु उनका लागि टाँढाको तिर्थ बराबर थियो। दाजु दिदीको विवाहमा समेत उही कथा दोहोरिन्थ्यो। उनी भन्छन्, 'यो सब मेरा बाआमाले मनमा हुर्किएको इज्जत जान्छ भन्ने डरको मनोविज्ञानका कारण गर्नुभएको हो। सामाजिक संरचनाले नै त्यो मनोविज्ञानको विकास गराएको छ।'
आफ्नै घरको बन्दी हुँदा एउटा कुराको स्वतन्त्रता थियो, रेडियो सुन्ने। घरमा कोहि नभएको मौकामा केही बिठ्याईँ पनि गर्न पाइन्थ्यौं। यही सिलसिलामा उनले एक दिन रेडियो कार्यक्रम साथीसँग मनका कुरा सुने। 'मलाई आँखा देख्न नसक्नेहरू कहाँ पढ्छन् भन्ने थाहा थिएन। साथीसँग मनका कुरा भन्ने कार्यक्रम सुन्दा बल्ल थाहा पाए। हाम्रा लागि पढ्ने किप्याड हुँदोरहेछ,' उनले त्यो क्षण सम्झदै भने, 'त्यो कार्यक्रम सुन्दा एउटा संस्थाको नम्बर नोट गरेको थिएँ। घरमा कोहि नभएको बेला फोन गरेँ। त्यो संस्थाको दाइले मलाई बाराकै सामुदायिक विद्यालयमा पुर्याइदिनु भयो।'
त्यतिबेला उनी १३ वर्षका थिए। बाबा उनलाई स्कुल पुर्याउन गएका थिए। त्यो दास्रो पटक थियो। घरबाट बाहिर नजाओस् भनेर चाहने उनले नमिठो बचन लगाए। उनी ती बचनका वाँणलाई शब्दमा व्यक्त गर्न चाहन्नन्। 'मानौं म कुनै अर्को ब्राह्मण्डको मान्छे हुँ। जसलाई पढ्ने कुनै अधिकार छैन,' निराशभावमा बोले।
यी सबै कारणले उनलाई जसरी पनि पढ्नुपर्छ भन्ने लाग्यो। एसईई पास भए। १२ सकाए। सामाजिक संरचनाको काठोर सजायस्वरूप उनी बाआमाबाट बहिस्कृत जस्तो छन्। बाआमा उनीप्रति खास सन्तुष्ट हुन सकेका छैनन्।
'आँखा नदेख्ने भएर जन्मिनु मेरो गल्ती होइन। बाआमाले मलाई स्वीकार्न तयार नहुनु पनि उहाँहरुको गल्ती होइन। समाजले जुन मनोविज्ञानको निर्माण गर्यो, त्यही उहाँहरुले पछ्याउनु भयो। म त्यसैको सिकार भएँ,’ उनी गहिरिएर भन्छन्, 'आखिर बगिरहेको धारमा उहाँहरु बग्नुभयो। सबैभन्दा कठिन काम त उल्टो बहनु नै हो। तर त्यो गर्न सितिमिति कोही तयार हुँदैन।'
जिन्दगीको गोरेटो नाप्ने क्रममा उनले आधा बाटोमा स्मृति भेटाए। अगाडि बढ्न सघाउने र माया गर्ने मान्छे चुन्ने क्रममा भेटिएकी थिइन् स्मृति। उनी केही प्रतिशत देख्छिन्। उनी केसरीलाई डोर्याएर धुप बेच्न लैजान्छिन्। जीवन जसो त्यसो चलेको छ।
केसरीले जिन्दगी घिसारेरै भए पनि अगाडि बढाउने अठोट गरेका छन्। 'हाम्रो योग्यता भए पनि प्राइभेट कम्पनीले पत्याउँदैनन्। साँच्चै धुप बेचेर त जिन्दगी घिसार्नेबाहेक केही नहुने रहेछ,' उनी अगाडि थप्छन्, 'हामीजस्ताका लागि भनेर कयौं संघसंस्था खुनेका छन् भन्ने सुनेको छु। तर, हामीले केही पाएका छैनौं।’
केसरीलाई धेरै पढ्न मन छ। तर पढ्ने कसरी? नेपालमा उच्च शिक्षा हासिल गर्न पैसा चाहिन्छ। धुप बेचेर आएको पैसाले कोठा भाडा र खान लाउनु ठिक्क छ। संविधानको मौलिक हकमै अपाङ्गता भएकालाई 'उच्च शिक्षासम्म नि:शुल्क' भनी लेखिएको छ। त्यस अनुसारको कानुन पनि बनिसकेको छ। तर, संसारकै उत्कृष्ट भनिएको हाम्रो देशको मुल कानुन हुँदा पनि केसरीको उच्च शिक्षा पढ्ने धोको पुरा भएको छैन।