बैंक अफ काठमाडौं काण्डः खोलाको बालुवा धितो राखि ४ करोड ऋण!

तस्बिरः एजेन्सी

करीब दुई महिनाअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) मा बैंक अफ काठमाडौंले उजुरी दिएको थियो।

बैंकको उजुरीपछि ब्यूरोले तत्काल अनुसन्धान सुरू गर्‍यो। बैंकले आफ्नै कर्मचारीविरूद्ध उजुरी गरेको थियो।

उजुरी परेको दुई महिनापछि घटना सतहमा आयो।

जब प्रहरीले बैंककै पूर्व सिइओ अजय श्रेष्ठ पक्राउ गर्‍यो। तब सबै घटना सतहमा आयो।

बैंकबाट बिदा भएर अमेरिका पुगेका श्रेष्ठलाई नेपाल आएपछि गत शुक्रबार व्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो। पूर्व सिइओमाथि साढे ४ करोड रकम हिनामिना गरेको आरोप लागेको छ।

उनीसँगै बैंकका मेनेजरदेखि अन्य विभागमा काम गर्ने कर्मचारीसमेत पक्राउ परिसकेका थिए।

बैक मर्ज हुनभन्दा अगाडि २०७१ फागुनमा हेटौंडाका व्यापारी सुरेन्द्र श्रेष्ठले बैंकबाट साढे चार करोड रूपैयाँ ऋण लिएका थिए। तर, त्यो ऋण लिन राखिएको धितो कमसल पाएपछि व्यूरोले अनुसन्धान अगाडि बढाएको हो।

श्रेष्ठले बैंकबाट लिएको रकम समयमा नै भुक्तानी गर्न सकेनन्।

बैंकले लिलामीको प्रकृया अघि बढायो। त्यसपछि चुहियो नक्कली धन्दाको रहस्य।

गत साउन २४ गते व्यूरोले ऋणी सुरेन्द्र श्रेष्ठलाई पक्राउ गर्‍यो।

त्यसपछि नक्कली धितो राखेर करौडौं रकम लिनेको सञ्जाल बाहिर आयो।

त्यही र्‍याकेटमा परेका थिए- पूर्वसिइओ अजय श्रेष्ठ।

तर, उनलाई समात्न प्रहरीले केही समय अनुसन्धानमा नै बितायो।

सुरेन्द्रसँगै पक्राउ परेका थिए, भुपेन्द्र श्रेष्ठ। भुपेन्द्र ठगी धन्दाका योजनकार भएको प्रहरीको अनुसन्धानमा देखिन्छ। 'यो मान्छे विचौलिया र योजना बनाउने देखिएको छ', व्यूरोका एक अनुसन्धान अधिकृतले बिएल नेपाली सेवासँग भने।

सुरेन्द्रले ऋण लिन बैंकका पूर्वाञ्चल हेर्ने बिजिनेस प्रमुख गणेश लम्साललाई हतियार बनाएको देखिन्छ।

पहिले नै चिनजान भएका उनीहरूले झापामा रहेको खोलाको जग्गा धितोमा देखाएका थिए।

सुरेन्द्रले आफ्नो नाममा रहेको स्वर्णिम एण्ड सिजन कम्पनीको नाममा ऋण लिएका थिए।

करीब डेढ करोड रूपैयाँ रकम त्यही कमसल धितो राखेर निकालेको देखिएको छ।

झापा कन्काइस्थित बिरिङ खोलासँगै टाँसिएको जग्गामात्रै धितो राखेर सुरेन्द्रले डेढ करोड रुपैंया ऋण पाएका थिए। झापा र सुनसरीका दुई कित्ता जग्गा धितो राख्दा एभरेष्ट इन्जिनियरिङ कन्सल्टेन्सीले मूल्यांकन गरेको पाइएको छ। उक्त कन्सल्टेन्सीले मूल्यांकन गरेकै आधारमा बैंकले चार करोड ६२ लाख ४८ हजार रुपैंया ऋण प्रवाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कन्सल्टेन्सीका सञ्चालक भेषराज खत्रीले कमशल जग्गालाई महंगो रेट देखाएर कागजपत्र मिलाए। खत्री अहिले फरार छन्।

व्यूरोले उनलाई खोजी गरिरहेको छ। लम्साल अहिले रिटायर भइसकेका छन्।

ऋणको फाइल तयार पार्न बैंककी कर्मचारी सुष्मा शाह, कौशल बोहोरा, ऋचा श्रेष्ठले सहयोग गरेका थिए।

ऋणको फाइल स्वीकृति प्रमुख विजनेस अफिसर पुष्पराज भण्डारीले गरेको देखिएको छ।

सिइओ श्रेष्ठको स्वीकृति पाएपछि रकम प्रवाह भएको थियो।

व्यूरोका एसपी बेलबहादुर पाण्डेले ऋण प्रवाहमा बैंकको लापरबाही देखिएको बताए। ‘उहाँहरुले भ्यालुएटरको विश्वासमा करोडौं ऋण प्रवाह गर्नुभएको छ’, पाण्डेले भने, ‘जग्गा कहाँको हो, धितो मूल्यांकन पुग्छ कि पुग्दैन भनेर हेर्नुपर्दैन ? ’

प्रारम्भीक अनुसन्धानमा खुलेका तथ्यलाई आधार बनाएर सीआइवीले तत्कालीन सिइओसहित ४२ दिनको अवधिमा १९ जनालाई पक्राउ गरिसकेको छ।

आइतबार उच्च अदालत पाटनबाट म्याद लिएर श्रेष्ठको बयान लिने काम भइरहेको व्यूरोका एसपी बेलबहादुर पाण्डेले बीएल नेपालीलाई बताए।

प्रहरीले बैकिङ कसुरमा अदालतबाट ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ।

प्रकाशित मिति: : 2019-09-23 14:28:44

प्रतिकृया दिनुहोस्