दसैंका लागि आइतबारदेखि अग्रिम बस टिकट बुकिङ खुला भएको छ।
यातायात व्यवस्था विभागका अनुसार दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुनेछ। यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन। विभागले दशैँ-तिहारसम्म पुरानै भाडा रहनेगरी यातायात व्यवसायीसँग सहमति भएको जानकारी दिएको छ । त्यसपछि वैज्ञानिक भाडाादर निर्धारण गरी लागू गरिने सहमति भएको छ ।
अग्रिम टिकट नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला र बालाजुलगायतका स्थानबाट खुला हुनेछ। चाडपर्वमा काठमाडौँबाट मुलुकका विभिन्न गन्तव्यतर्फ जाने यात्रुको सङ्ख्या अन्य समयको भन्दा अत्यधिक हुने गरेकाले चाडपर्वको समयमा हरेक वर्ष अग्रिम टिकट बुकिङ खुलाउने गरिन्छ ।
यसैबीच यस वर्षको दशैँ, तिहार, छठलगायतका चाडपर्वको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला भएको छ। सीमित रुट इजाजत पाएका सवारी धनीले यस वर्षको चाडपर्वमा मुलुकभर आफ्नो सवारी साधन चलाउन पाउने भएका छन् ।
चाडपर्वका अवसरमा बिनारोकटोक र झन्झटबिना सवारी धनीले आफ्नो सवारी साधन मुलुकका जुनसुकै कुनामा पनि गुडाउन पाउने र चाडपर्वको आनन्द लिऊन् भन्ने उद्देश्यसहित दशैँ, तिहार र छठको समयमा मुलुकभर सवारी साधनहरूको रुट इजाजत खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक गोगनबहादुर हमालले यो वर्ष चाडपर्वको समयमा सवारी साधनको रुट इजाजत खुला गरिनेबारे गृहकार्य भइरहेको जानकारी दिए। उनले दशैँ, तिहार गरी एक महिनासम्म सवारी साधनलाई मुलुकभर रुट इजाजत खुला गरिने जानकारी दिए। सरकारको यो निर्णयसँगै एउटा रुट अनुमति पाएको सवारी साधनले बिनारोकटोक र अवरोध मुलुकका जुनसुकै रुटमा चलाउन पाउने छन् ।
नागरिक सहायताको लागि विभिन्न १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिनेछ।
‘नागरिक सहायता कक्ष’ले बढी भाडा लिएको, टिकटअनुसार सिट पाउन नसकेको लगायतका समस्याको तत्काल अनुगमन गरी समाधान गर्नेछ।
त्यसैगरी चाडपर्वको समयमा यातायात क्षेत्रमा हुने गरेका समस्याको समाधानका लागि यातायात व्यवस्था विभागको महानिर्देशकको संयोजकत्वमा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति गठन गरिएको छ। यो समितिमा ट्राफिक प्रहरी, यातायात व्यवसायी समितिका प्रतिनिधिसहितको अनुगमन समिति निर्माण गरिएको छ । केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समितिका साथै छवटा अनुगमन समितिसमेत निर्माण गरिएको छ ।
विगतमा चाडपर्वका बेला सवारी साधनले यात्रुसँग निर्धारितभन्दा बढी भाडा लिने गरेको पाइए पनि यो वर्ष त्यस्तो कुनै घटना नहुने यातायात व्यवस्था विभागले जनाएको छ । बढी भाडा लिएको भेटिएमा यो वर्ष ठाउँको ठाउँ कारबाही गर्ने अधिकार अनुगमन समितिलाई दिइएको जानकारीसमेत महानिर्देशक हमालले दिए। जरिवाना गरी लिएको बढी भाडा फिर्तासमेत गराइने छ । यातायात व्यवस्था ऐनअनुसार बढी भाडा लिने सवारी साधनलाई पाँच हजार रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
विगतका वर्षहरूमा चाडपर्वको समयमा ग्यारेजमा थन्क्याइएका र बिग्रेका सवारी साधनहरूसमेत सञ्चालनमा ल्याइएकाले बाटोमै बिग्रेर यात्रुले दुःख पाएको, विभिन्न दुर्घटना भएको पाइएकाले यो वर्ष काठमाडौँबाट छुट्ने यात्रुवाहक सवारी साधनको प्राविधिक परीक्षण गरेर मात्र गन्तव्यतर्फ पठाइने व्यवस्था मिलाइएको जानकारी महानिर्देशक हमालले दिए। यातायातको इतिहासमा चाडपर्वको समयमा सवारी परीक्षण पहिलो पटक गर्न लागिएको हो ।
यसैबीच चाडपर्वको समयमा सवारी साधनको चाप अत्यधिक हुने तर तुलनात्मक रूपमा साँघुरो भएको हुनाले त्रिभुवन राजपथको नौबिसे–नागढुङ्गा सडकखण्डलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको जानकारी धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले दिए।
सो खण्डमा भत्किएको सडक तत्काल चौडा बनाउन सम्भव नदेखिएको हुनाले ‘नो ओभरटेक जोन’ घोषणा गरिएको उनले स्पष्ट पारे। त्यसैगरी त्रिभुवन राजपथअन्तर्गतको खानीखोलासम्म राति ९ बजे मात्र पुग्ने गरी काठमाडौँ भित्रिने ग्यास बुलेट, लामा भारी सामान बोकेका लरी, टिपरलगायतका भारी सवारी साधनलाई निर्देशन दिइएको जानकारीसमेत उनले दिए।
काठमाडौँबाट बाहिरिने सवारी साधनहरू राति ९ बजेसम्म राजपथको सो खण्ड पार गरिसक्ने गरी व्यवस्था मिलाएकाले सो खण्डमा जाम नहोस् भनेर काठमाडौँ भित्रिने भारी सवारी साधनलाई सो निर्देशन दिइएको जानकारी उनले दिए।