‘दधीची’ आश्विन महिनाको कृष्ण पक्षलाइ ‘पितृपक्ष’को नामले पनि चिनिन्छ। हिन्दू समाजमा यस पक्षको पन्द्रह दिनसम्म आफ्नाे परिवारमा मृत व्यक्तिको मृत्यु तिथि
अनुसारको दिनमा सम्झना, तर्पण तथा पिण्डदान गर्ने परम्परा रहिआएको छ।
सम्भवतः त्यसै कारणले यस पक्षलाइ पितृपक्ष भनिएको हो जस्तो लाग्दछ । नबुझेका तथा नजानेका व्यक्तिले यस पक्षलाइ सोह्र श्राद्धको पक्ष पनि भन्ने गरेको पाइन्छ,जुन आंशिक रुपमा सही होइन। वास्तवमा सोह्र श्राद्ध भनेको मानिसको मृत्युदेखि बाह्राै दिनसम्मगरिने अशौचावस्थाको धार्मिक कृत्यलाई भन्दछन्।
मृतक मरेपछि समसान घाट लग्नुभन्दा पहिला मरणस्थान पिण्ड, द्वारपिण्ड, चत्वर(चौबाटो)पिण्ड, विश्रामस्थान पिण्ड, काष्ठ संचयन पिण्ड, अस्थिसंचयन पिण्ड तथा दश दिनसम्म १–१ पिण्ड गरेर जम्मा १६वटा पिण्डदान गरि सोह्र श्राद्ध गरिन्छ,जसलाई सोह्र श्राद्ध भन्दछन्।
पितृपक्षमा मृत स्वजनको मृत्युतिथिको दिनको दिन मृतकको सम्झना गर्ने, तर्पण गर्ने तथा पिण्डदान गर्ने गरिन्छ, जसलाइ गरूड़ पुराण अनुसार पार्वण–श्राद्ध भन्दछन्।
पुरूषप्रधान समाजमा प्रायः यस पक्षमा मृत पुरूषको मात्र पार्वण–श्राद्ध गरिएको पाइन्छ तर तराईमा यस पक्षको सप्तमी, अष्टमी तथा नवमी तिथिको दिन एउटा अद्भूत प्रकारको व्रत गरिन्छ,जसलाइ जीउतिया पर्व भन्दछन् ।
जीउतिया व्रत अत्यन्त कठिन व्रत हो। सप्तमीको दिन यस व्रतको थालनी हुन्छ जसलाइ भोजपुरी भाषामा ‘नहाए–खाएके’ दिन भन्दछन्। यस दिन पूजा घरको ढोकामा माटोको वेदी बनाउँदछन्, जसलाइ भोजपुरी भाषामा ‘ओरी बनावल’ भन्दछन्।
माटोलाई पानीले मुछेर कुशा राखी त्यसमाथि माटोले लिपी ओरी बनाइन्छ। जसमाथि पूजा सामग्री चढ़ाउँदछन्। यस दिन नदी तलाउमा ब्रतालूहरु गएर सरसोको पिना र तेल झिङुनीको पातमा राखी मृत तीनपुस्ते सासूहरुलाई अर्पण गरेर नुहाइ–धुवाइ गरेर व्रतको लागि पवित्र भएर तयार हुन्छन्। त्यस दिन अगहनी धानको चामलको भात, अरहर–मूंगको दाल तथा लसुन–प्याज न हाली शुद्ध घिउमा पकाएको झिङुनीको तरकारी ग्रहण गर्दछन्।
यस दिन ब्रतालू महिलाहरु पवित्रता तथा शूचिताको पूर्ण ध्यान राख्दछन्। सप्तमीको राती रात्रीको तेश्रो प्रहरमा उठेर नित्यक्रम पछि नुहाइधुवाइ गरि झिङुनीको पातमा जीमुतवाहन, चिल्हो–सियारिन र जीवितपुत्रिकालाइ झिङुनीको तरकारी, रोटी वा दही–च्यूरा–चिनी अर्पण गरेर सोही खाद्य पदार्थ स्वयंले पनि ग्रहण गर्दछन्। यसैलाई भोजपुरी भाषामा ‘सरगही’ खानु भन्दछन्। यो नै पहाड़ी प्रदेशमा खाइने ‘दर’को शुद्ध रूप हो तथा पहाड़ी प्रदेश र सहरी क्षेत्रमा यसकै विकृत रूप दर खानु हो, जसमा अचेलको समयमा अखाद्य खाद्य(मांसाहार तथा मदिरापान) वस्तुको प्रयोग तथा विभिन्न खाले नाच–गान र वैभव प्रदर्शन हुने गर्दछ।
यस्तो पवित्र परम्परालाइ बिटुलो रूपमा प्रयोगमा ल्याउनु समाजको लागि दुर्भाग्यको संकेतको रूपमा लिनुपर्ने हुन्छ। यसलाइ हतोत्साहित पार्नको लागि समाजको प्रबुद्धवर्ग, राजनेताहरु तथा प्रशासन सतर्क तथा कठोर हुनुपर्ने हो कि जस्तो लाग्दछ।
अष्टमीको बिहान भएपछि ब्रतालू महिलाहरु घरधन्दामा सिन्को पनि न भाच्ने गरि दिउँसाेभरि ओछ्यानमा पल्टि रहन्छन–निराहार तथा निर्जला। यसै कारण यस व्रतलाइ खरजीउतिया भन्दछन्।
सन्तानको दीर्घायुकाे लागि जीउतिया ब्रत कुनै ठूलो संकटबाट बाँचेर कोही केटा मान्छे फर्कि आयो भने उसका स्वजनहरुले भोजपुरी भाषामा भन्ने गर्दछन्–‘इनकर मातारी खर जीउतिया कइले रहलिह’ अर्थात् यिनकी आमाले खरजीउतिया गरेकी रहेछिन्।
जीउतिया व्रतमा भोकै बसेकी आमाले घरको काम–धन्दामा लागेपछि सिन्को भाँच्ने सम्भवाना रहन्छ तथा यस दिन आमाको हातबाट सिन्को भाँचियो भने आफ्नो सन्तानको आयु क्षीण हुन्छ।
जीउतिया व्रतको खास अर्थ आमा जीवित छँदासम्म संतानको मृत्यु हुनुहुदैन। यसैको सिद्धिको निम्ति आमाहरुले संतानको दीर्घायु, समृद्धि, आरोग्य तथा सुशान्तीको उदेश्यले यो कठीन व्रत गर्ने गर्दछन्। अष्टमी तिथिको दिन मध्यान्हको समयमा ब्रतालू महिलाहरुले पुनः पहिले झैं नदी–तलाउमा तोरीको पिना र तेल अर्पण गरि नुहाएर पवित्र भइ ज्ञानी–गुणी व्यक्तिको मुखबाट जीमुतवाहन भगवान, चिल्हो–सियारिन आदिको कथा सुन्दछन्।
पौराणिक कालमा जीउतिया ब्रत पुराण अनुसार महाभारतको लड़ाईको अन्त्यमा द्रोणपुत्र अश्वत्थामाले द्रौपदीका पाँच पुत्रहरुलाई सुतिरहेकै अवस्थामा क्रुरतापूर्ण ढङ्गले मारेर पुत्र वियोगले विह्वल भएकी द्रौपदी धौम्य ऋषिको आश्रममा गइ रोइ–पुकारा गर्दा धौम्य ऋषिले सान्तवनापूर्वक द्रौपदीलाइ आश्विन कृष्ण पक्षको सप्तमी, अष्टमीको दिन यस जीउतिया भन्ने व्रतलाइ लोकले विधिवत् गर्नु गराउनु भन्ने दिएको उपदेश अनुसार यस व्रतको थालनी भएको जनविश्वास रहेको पाइन्छ।
यसै क्रममा धौम्य ऋषिले राजा जीमुत वाहन राजाको कथा सुनाएका थिए तथा लोकमानसले चिल्हो–सियारिनको कथाको कल्पना गरेको थियो। स्थानाभावको कारण यहाँ ती कथाहरुलाई वर्णन गर्न सकिएको छैन। पाठकहरुसित सोको लागि पंक्तिकार क्षमाप्रार्थि छ!
मृत मातृहरु प्रति जीउतिया, समाज शास्त्रीहरुको लागि यो एउटा अध्ययनको विषय हो। जीउतिया व्रत वास्तवमा पुरूष प्रधान समाजमा प्रायः उपेक्षित मृत मातृहरुको प्रति जीउतिया, वास्तवमा गरूड़–पुराणमा वर्णित पार्वण–श्राद्ध पो हो कि, जो सधवा बुहारीहरुबाट जीउतिया व्रतको अवसरमा मातृनवमीको दिन अद्भूत रूपले गरिन्छ।
रात र दिनभरि निराहार र निर्जला व्रत बसेका व्रतालू महिलाहरुले नवमी तिथिको दिन एकाबिहानै उठेर नुहाइ–धुवाइ गरि पवित्र भएर पूजाकोठाको ढोकामा बनाइएको ‘ओरी’ माथि पारिवारिक परम्परामा चले अनुसारको खाद्य–सामग्री, वस्त्र तथा सिन्दूर अर्पण गरेर मृतका तीन पुस्ते सासूहरुको विदाइ गरि जीउतिया व्रतको पारण गर्दछन्।
सिन्दूर अर्पणको खास अर्थ के हो? भन्ने सधवा बुहारीहरुले मृतका तीनपुस्ते सासूहरुसित प्रार्थना गर्दछन् कि तपाईहरुको कृपाले तपाईका पुत्र–नातीहरु दीघार्यु रहुन, जसले गर्दा मेरो सिन्दूर बनि रहोस्, म सौभाग्वती बनि रहुँ। आश्विन कृष्ण नवमीको दिनलाइ मातृनवमी भन्दछन्। नेपालको तराई भाग तथा अन्य देश–विदेशमा गरिने जीउतिया व्रत वास्तवमा एउटा कठीन व्रत हुनुको साथै अनौठो रूपले मातृरूपा स्त्री जातिहरु प्रति गरिने अद्भूत कृतज्ञता व्यक्त गर्ने परम्परा हो।