मुख्यमन्त्री र मन्त्रीलाई बालबालिकाको प्रश्न कानुन किन प्रभावकारी बनेनन् ?

बिएल

बालबालिका र महिलामाथि यौनहिंसा, शोषण र उत्पीडन भइरहेपनि भएका कानुन किन प्रभावकारी बनिरहेका छैनन्? मोरङ बेलबारी नगरपालिका कक्षा–११ मा अध्ययनरत समीक्षा सुवेदीको प्रश्नले सबैको मन चसक्क बनायो।

समीक्षाको प्रश्नले समाजमा महिला र बालबालिकाको अवस्था चित्रण गरेको थियो भने भएका कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा समाजमा सुरक्षाको अनुभूति भइरहेको छैन भन्ने संकेत पनि गरेको थियो।

जवाफ दिनका लागि प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे मञ्चमा थिए।

मुख्यमन्त्री राईले समीक्षाको प्रश्न र त्यसले उठाएका विषयहरू प्रति सरकार संवेदनशील रहेको जवाफ दिए। उनले नागरिकका लागि सुरक्षा दिनु सरकारको पहिलो दायित्व भएको र सबैलाई भयमुक्त बनाउँदै अपराधमुक्त समाज निर्माणका लागि सरकार प्रयत्न गरिरहेको जवाफ दिए।

मोरङ कटहरी गाउँपालिकाकी कक्षा १२ मा अध्ययनरत छात्रा स्मृति तिमल्सिनाले अर्को प्रश्न मुख्यमन्त्री समक्ष राखिन्, ‘छोरीलाई १० कक्षाभन्दा बढी पढाउनु पर्दैन बरु विवाह गरिदिनुपर्छ भन्ने मान्यता विरुद्ध सरकारले किन कार्यक्रम बनाउँदैन र यस्ता कार्यक्रम गाउँमा किन गरिदैन जहाँ चेतना आवश्यक छ?’

‘हामी क्रमश गाउँ जान्छौं, पहिलोपटक प्रदेश सरकारले बालबालिकासँग छलफल र अन्तरक्रियाको सुरुवात यहाँबाट गरेको हो,’ मुख्मन्त्री राईले जवाफमा भने, ‘अब प्रदेशका १४ जिल्ला र गाउँसम्म पुगेर यो अभियान चलाउँछौं।’ उनले अभाव, गरिबी, सांस्कृतिक प्रचलन आदि कारणले उमेर नपुग्दै विवाह गर्ने प्रचलन भए पनि अब सबै विद्यार्थीहरू बालविवाहविरूद्धको अभियानमा सहभागी बन्नुपर्ने र कानुन कार्यान्वयन जोड दिनपर्ने बताए ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले मंगलबार विराटनगरमा बालबालिकासँग सरकार प्रमुख र मन्त्रीबीच प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर जुराएको थियो।

कार्यक्रममा मोरङ र सुनसरीका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाले सहभागिता जनाएका थिए। उनीहरुले खुलेर आफ्ना विषय सरकारका मुख्यमन्त्री र मन्त्रीलाई गरेका थिए।

साजिलाल माध्यामिक विद्यालय सुन्दरहरैंचाका विद्यार्थी मदन भण्डारीले सन् २०२५ सम्ममा प्रदेशलाई बालविवाहमुक्त बनाउने घोषणा भए पनि त्यसकालागि कस्ता कार्यक्रम बनेका छन् भनेर मन्त्री घिमिरेलाई प्रश्न सोधेका थिए। अर्का बालक आदर्श अधिकारीले बाल हेल्पलाईन नम्बर प्रदेश भर विस्तार गर्ने र सबै बालबालिकाको बीचमा पुर्याउने तयारीका बारेमा सोधे ।

जवाफमा मन्त्री घिमिरेले सरल कानुन तर्जुमा र त्यसलाई कार्यान्वयन गर्ने संरचनाको निर्माण गर्दै व्यापक अभियानमार्फत सन् २०२५ भित्रै बालविवाहमुक्त प्रदेश बनाउने बताए। उनले घोषणाले मात्र नहुने बरु सबैलाई अभियानमा सहभागी गराएर उद्देश्य पूरा गर्ने सरकारको योजना सुनाए। उनले जोखिममा परेका बालबालिकाको सहयोगकालागि बाल हेल्पलाइन नम्बर सबैबीच पुर्याइने जानकारी दिए।

अन्तरक्रिया कार्यक्रममा धनपालथान गाउँपालिकाकी दीपिका कामतले बालबालिकाका लागि प्रदेश सरकारले बनाएका योजनाको जानकारी मागेकी थिइन्। अन्तरक्रियामा दीपक धमला, विनिता मण्डल लगायतले अभिभावकबीचमा पनि सचेतना अभियान लगिनुपर्ने सुझाव दिएका थिए।

बालबालिकाले १८ वर्ष नपुग्दै विवाह गर्ने परिपाटी हटाउन, बालश्रम अन्त्य गर्न, दुव्र्यसनको विरूद्धमा, अपाङ्ता भएका बालबालिकाको लागि र सबै बालबालिकाको पक्षमा काम गर्न सरकारको आवश्यक ध्यान नपुगेको विषयमा पनि प्रश्न सोधेका थिए।

सोही कार्यक्रममा बाल कलाकार गायक प्रितम आचार्यलाई सम्मान गरिएको थियो। भारतमा भएको एउटा गायन स्पर्धामा उपबिजेता बन्न सफल प्रितमलाई मुख्यमन्त्री राई, मन्त्री घिमिरे लगायतले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए।

प्रकाशित मिति: : 2019-09-18 14:21:14

प्रतिकृया दिनुहोस्