वीरगन्जमा भाइरल ज्वरो र डेंगु संक्रमणका बिरामी बढे, अस्पतालमा थामिनसक्नु चाप

तस्बिरः बिएल

वीरगन्जको नारायणी अस्पतालसहित प्रदेश नम्बर २ का विभिन्न अस्पतालमा अहिले भाइरल ज्वरो र डेंगु संक्रमणका कारण विरामीको चाप थामिनसक्नु भएको छ।

कतिपय अस्पतालहरुमा बेड अभाव भएपछि एउटै बेडमा दुई जना तथा भुइँमै बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

डेंगु संक्रमण बढ्दै गएको र वीरगन्जको नारायणी अस्पताल, नेशनल मेडिकल शिक्षण अस्पताल, नारायणी बयोदा अस्पताल, गण्डक अस्पताल, वीरगन्ज हेल्थ केयरलगायतका अस्पतालहरुमा अहिलेसम्म  झण्डै १ सय ३० जना भन्दा बढीको उपचार भएको छ भने नारायणी अस्पतालमा मात्रै अहिले नयाँ ७ जना डेंगु रोगी भर्ना भएका छन् ।

नारायणी अस्पतालमा दैनिक रुपमा डेंगु संक्रमित भएर ३ देखि ४ जना विरामी आउने गरेको अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. उदय नारायण सिंहले जानकारी दिए। वीरगन्ज महानगरपालिकाका स्वास्थ्य संयोजक अरुण महतोका अनुसार पछिल्लो समय उच्च ज्वरो आएर अस्पताल पुग्ने २० प्रतिशतमा डेंगुको संक्रमण देखिएको छ ।

‘साउन अन्तिम साताबाट भेटिएका डेंगुका बिरामी भदौको दोस्रो साताबाट उल्लेख्य संख्यामा बढेको र यसबाट महिला, पुरुष, युवादेखि वृद्धसम्म प्रभावित भएका छन् । वीरगन्जमा २०६७/६८ मा पहिलोपटक डेंगुका बिरामी फेला परेका थिए । यसपछि संक्रमण बढदै गएको छ। डेंगु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले टोकेपछि हुने एक प्रकारको ज्वरो भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

डेंगुको उपचार नहुने भएकाले प्रतिरोधात्मक क्षमता बढी हुनेले घरमै बसेर ज्वरो घटाउने औषधि खाँदा पनि हुने डा.उपाध्यायले जानकारी दिए।

यता नारायणी अस्पतालमा डेंगु परीक्षणको लागि किटको अभाव नभएको र मापदण्ड पुरा गरेका शंकास्पद डेंगु रोगीको निःशुल्क परिक्षण अस्पतालले गर्दै आएको मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताए ।

हाल वीरगन्जलगायत प्रदेश २ का अस्पतालहरुमा भाईरल जरो र डेंगुको अलावा टाईफाईड, निमोनिया, मलेरिया, मेनेजाईटिस, पिसावको इन्फेक्सनबाट हुने ज्वरो तथा दमका विरामीहरु बढी मात्रमा उपचारार्थ भर्ना भएको चिकित्सकहरुले जानकारी दिए।

बाराको कलैया अस्पतालमासमेत भाईरल ज्वरो र डेंगुका विरामीहरुको संख्या उच्च रहेको र अस्पतालमा चिकित्सक तथा डेंगु परीक्षण किटको अभाव हुँदा उपचारमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रेमशंकर चौरसियाले बताए।

प्रकाशित मिति: : 2019-09-18 09:37:50

प्रतिकृया दिनुहोस्