आज बिहानैदेखि वर्षा, भोलिसम्म सिमसिमे झरी, सतर्क रहन आग्रह

तस्बिरः बिएल

राजधानीसहित देशका विभिन्न भागमा मंगलबार बिहानैदेखि पानी परिरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशका पूर्वी र मध्य भूभागका धेरै स्थान तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

राति पनि देशभरी सामान्य देखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । मध्य र पश्चिमका थोरै र पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बंगालको खाडीबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको महाशाखाले जनाएको छ।

आज र भोलि देशका अधिकांश भागमा सिमसिमे झरी पर्ने अवस्था रहेको मौसमविदले जानकारी दिएका छन्। पर्सी बिहीबारदेखि मौसममा सुधार आउने छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभरी सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका धेरै स्थानमा तथा पश्चिमका केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैबीच देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

यसैगरी सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन समेत महाशाखाको तर्फबाट आग्रह गरिएको छ ।

प्रकाशित मिति: : 2019-09-17 08:02:26

प्रतिकृया दिनुहोस्