पुनर्बहाली माग गर्दै धर्ना दिन रेडियो नेपाल पुगेका पत्रकारहरु पक्राउ (भिडियो सहित)

बिएल

काठमाडौं । प्रहरीले सिहंदरबारस्थित रेडियो नेपालको प्राँगणबाट नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाललगायतलाई पक्राउ गरेको छ।

रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुर्नवहाली गर्न माग गर्दै रेडियो नेपाल पुगेका महासंघका सचिव दाहालसहित, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, क्षेत्रीय प्रसारण कार्यालय डोटीबाट निस्काशित पत्रकार प्रकाश बम, चक्र कुँवर, दिलिप पौडेल र योगेन्द्र बलायर पक्राउ परेका हुन्।

नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरेका तीन जना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्र रहेको रेडियो नेपालमै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गर्दै आएको छ। रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो। रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए।

वार्ताका लागि रेडियो नेपाल पुग्दा प्रशासनले नमानेपछि वार्ता भंग भएको र तालाबन्दी गर्ने तयारीका क्रममा प्रहरीले पक्राउ गरेको सचिव दाहालले जानकारी दिए। पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गमा ल्याइएको दाहालले बताए।

प्रकाशित मिति: : 2019-09-16 15:49:35

प्रतिकृया दिनुहोस्