फूल बेच्ने १२ वर्षीय बालकको कथा, जो परिवार पाल्न बिहान ४ बजेदेखि नै सक्रिय हुन्छन् (भिडियोसहित)

तस्बिरः बिएल

वीरगञ्जको ब्यारेक रोडमा एउटा घर छ, जुन फुलैफुलले रंगिएको छ। यही घरमा १२ वर्षको एक बालक लामो समयदेखि आफ्नो परिवारसँगै डेरामा बसोबास गर्दै आइरहेका छन्। 

उनको दैनिकी नै बनिसकेको छ। एकाबिहान उठेर आँगनमा छरिएका विभिन्न प्रजातिका फुलहरू टिप्ने र बजारमा पुर्याउने। उनले बिहान उठेर यो काम गरेनन् भने घरको चुलो जल्दैन्।

संस्कारकुमार माली, परिवारका जेठा छोरा। एक वर्षअघि बुवाको अल्पआयुमै निधन भएपछि घरको सम्पूर्ण बोझ उनको काँधमा आइपर्यो। परिवारमा अहिले उनी, एक भाई, एक बहिनी र आमा छन्।

उनकै उमेरका अरु बालकहरू बिहान मस्त निन्द्रामा हुँदा उनी भाईबहिनी सँग हातमा फुलको गुच्छा बोकेर मानिसहरूको घर–घरमा पुग्छन्। उनीहरूलाई न बाल अधिकारको विषयमा जानकारी छ, न बाल दिवशकै बारेमा। 

भन्छन्, ‘म घरको जेठो छोरा हुँ। मैले घरको बाहिरी कामको बोझ उठाउनु पर्छ।’

संस्कारको बहिनी स्वेता ९ र भाई सुलभ ७ वर्षका हुन्। उनीहरू पनि खेलकुदभन्दा आफ्नो दाजुलाई सघाउन पाउँदा दंगै परेका छन्। संस्कार कक्षा ५, स्वेता ३ र सुलभ १ कक्षामा पढ्छन्।

संस्कार आफ्नो भाईबहिनीसँग बिहान ८ बजेसम्म मानिसहरूको घरघरमा फुल पुर्याउँछन्। घर फर्किएपछि स्कुल जान हतार हुन्छ। विधालयको पढाई सम्पन्न भएपछि दिउँसो फेरि बजार जान्छन्, गाह्रकहरू कहाँ पैसा उठाउन्। राती सुत्नु अगाडि भोलिका लागि प्लास्टिकको झोला तयार पार्ने र विधालयको गृहकार्य सम्पन्न गर्ने रुटिन नै छ, उनको।

साथीहरू सँग खेल्ने भनेको उनीहरूका लागि कल्पना बाहिरकाे कुरा हाे। ‘आमाले बारी भरी अनेक थरीका फुलहरु रोप्नु भएको छ। आमा सँगै मिलेर बिहान ४ बजे उठेर फुल टिप्छु र आमालाई सघाउन फुलहरुको २ सय पोका बनाउन सहयोग गर्छु,’ संस्कार भन्छन्।

उनले एक झोला फुल १० देखी २० रुपैयाँ सम्म बेच्ने गरेका छन्। घरेलु ग्राहकलाई घरमै फुल पुर्याएबापत महिनाको ५ सय लिने गर्छन्।

तीन जनै भाईबहिनी मिलेर महिनाको ६ हजारसम्म कमाउँछन्। उनीहरूबाट आम्दानी भएको रकम पढाई लेखाई तथा घर खर्चमै सकिन्छ। 

संस्कारका कान्छा भाई सुलभकाे काम हो, गहवामाईको मन्दिर बाहिर फुल बेच्ने। कहिले उनी दाईले अर्याएको घरमा फुल पुर्याउन जान्छन्।

सुलभ सानो भएको हुनाले दाई जस्तै साईकल चलाउन जान्दैनन्। तर हिडेर माईस्थान वरीपरीका पसल तथा घरहरुमा फुल दिन पुग्छन्।

बहिनी स्वेता नजिकको घरमा फुल पुर्याउने र आमा रानी देवीसँगै बगैचाको काममा हात बढाउँछिन्।

आमाले अन्य नर्सरीमा गोडमेलको काम गरेवापत महिनाको ६ हजार रुपैयाँ अतिरिक्त आम्दानी गर्दैआइरहेकी छिन्। आमा रानी देवी भन्छिन्, ‘छोराछोरीलाई काममा पठाउन मन कसलाई हुन्छ? तर के गर्ने बाध्यता छ। मलाई कसैले जागिर लगाइदिए छोराछोरीलाई राम्ररी पढाउथे।’

परिवारमा कोही बिरामी हुँदा वा चाँडपर्व आएको खण्डमा खर्च बढ्ने र यसका लागि आफूले अन्य ठाउँमा पनि गएर काम गर्ने गरेको आमा रानी देवीले बताइन्। उनलाई पनि बाल दिवस र बाल अधिकार कुन चरीको नाम हो? थाहा छैन।

उनलाई यत्ति थाहा छ, छोराछोरीलाई राम्राे शिक्षा दिनुपर्छ। ‘यिनीहरूलाई राम्रो विधालयमा पढाउन पाए हुन्थ्यो,’ यति भन्दा आँखा रसाएको रानी देवीले गला अवरुद्ध पार्दै भनिन्, ‘आफनो त चाहिने जति कपि र कलम किनिदिने, भोक लागेको बेला पौष्टिक खाना र नास्ता उपलब्ध गराउने र पर्वमा नयाँ कपडा किनिदिने पनि क्षमता छैन।’

संस्कार हरेक रात १२ बजे भन्दा पहिले सुत्न भ्याँउदैनन्। फुल पुर्याउन भोलिपल्टको सामग्री जोरजामको तयारी गरेर विद्यालयको गृहकार्य सक्दा राति १२ बजिसकेको हुन्छ। बिहान ४ बजे नै उठनुपर्ने उनको अर्को बाध्यता छ।

बालबालिकाले कम्तिमा ८ घण्टा सुत्नु पर्छ भन्ने हेक्का उनलाई नभएकाे हाेइन। तर जिम्मेवारीबाट उनी भाग्न चाहदैनन्। भन्छन्, ‘सँगैका साथी बुवासँग हिडेको देख्दा, बजार घुमेको र विद्यालय छोड्न गएकाे देख्दा मलाई पनि बुवाको याद आउँछ। रुन मन लाग्छ। तर मलाई थाहा छ– ममी र भाईबहिनीको अगाडि रुनु हुँदैन, आँसुभित्रै लुकाएर काममा लाग्छु।’

 

 

प्रकाशित मिति: : 2019-09-15 15:19:23

प्रतिकृया दिनुहोस्