दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार बढीले सेवा लिएका छन् । असहाय बाल विकास नेपाल बिजौरीले शनिबार दीपेन्द्र मावि मानपुरमा आयोजना गरेको शिविरमा एक हजार ३०० बढीले सेवा लिएका हुन् ।
संस्थाका अध्यक्ष विष्णु चौधरीका अनुसार दाँतका १३०, आँखाका २१९, रगत परीक्षण ७५, बालरोगका २२६, सामान्य जाँच ३८८, नाक, कान, घाँटी २३८ तथा स्त्रीरोग १६४ ले सेवा लिएका छन् ।
ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने उद्देश्यले त्यहाँ स्वास्थ्य शिविर आयोजना गरिएको अध्यक्ष चौधरीको भनाइ छ । उक्त संस्थाले विगतका वर्षमा पनि यस्तै शिविर गर्दै आएको छ ।
दृश्यावलोकन स्तम्भ निर्माण शुरु
उपमहानगरपालिका–१९ मा दृश्यावलोकन स्तम्भ निर्माण शुरु भएको छ । उपमहानगरपालिकाको रु ३० लाख र रु आठ लाख जनश्रमदान गरी रु ३८ लाखमा निर्माण हुनलागेको उक्त दृश्यावलोकन स्तम्भको शनिबारदेखि निर्माण शुरु भएको हो । दृश्यावलोकन स्तम्भ निर्माणको काम यही पुसमसान्तभित्र सकिने साइट इञ्चार्ज दोर्ण आचार्यले बताए।