काठमाडौंको गोलढुंगामा प्रहरीले गुन्डागर्दीमा संलग्न रहेको आरोपमा साजन गुरुङलाई नियन्त्रणमा लिन गोली चलाएको छ।
शुक्रवार दिउँसो महानगरीय अपराध महाशाखाबाट खटिएको गोलीले गुरुङलाई नियन्त्रणमा लिन दुई राउण्ड गोली चलाएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए। ‘प्रहरीलाई नै गोली प्रहार गर्न खोजेपछि हामीले जवाफी गोली चलाएका हौ,‘ एसएसपी थापाले भने।
गुरूङ गुण्डानाइके समिरमान सिंह बस्नेतका सहयोगी समेत हुन्। समिर अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। कारागारमा रहे पनि भित्रबाट नै उनले अपराध गतिविधि गर्ने गरेको केही खुलेको छ। समिरको अपराधिक गतिविधिसँग जोडिएपछि मंगलबार मात्र गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापालाई केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो।
गुरुङले केही दिन अघि केही उच्चतहका प्रहरीलाई मार्ने धम्की दिएको एसएसपी थापाले जानकारी दिए। ‘उच्च तहका प्रहरीलाई नै मार्ने धम्की दिएको जानकारी आएको थियो। त्यसैले हामीले खोजी गरिरहेका थियौं,‘एसएसपी थापाले भने।