जो दाईजोको निहुँमा सासु ससुरा र श्रीमानबाट मरणासन्न हुने गरी कुटपिटको सिकार भइन् (भिडियोसहित)

अस्पतालमा उपचाररत रञ्जु।

दाईजो नल्याएको भन्दै श्रीमानको पिटाईबाट वीरगन्जकी एक महिला गम्भीर घाइते भएकी छिन्। वीरगन्ज रानीघाटका गोविन्द प्रसाद साहले दाईजोको निहुँमा आफ्नै श्रीमति रञ्जु देवीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्।

दाईजोकै निहुँमा बारम्बार यातना सहिरहेकी रञ्जुलाई बिहिबार रानीघाट सिडिओ कार्यालय नजिकै रहेको घरमा श्रीमान गोबिन्दले ४ वर्षिय छोरालाई बिना कारण पिट्न थालेपछि बचाउन गएकी उनलाई सासु, ससुरा र श्रीमानले रमणासन्न हुने गरी पिटेका हुन्।

सानो बच्चालाई बिना कारण असह्य तरिकाले पिटेपछि त्यसो नगर्नु भन्दा आफूलाई पनि पिटेर घाईते बानाएको जानकारी उनले फोन मार्फत माइतीपक्षलाई गराएकी पीडितकी भाउजुले बिएल नेपाली सेवालाई जानकारी दिइन्।

बहिनी र भाञ्जालाई कुटेर घाईते बनाएको खबर पाउनासाथ दाजु मनोज प्रसाद साहले उनलाई नारायणी अस्पतालमा भर्ना गराएका थिए।

दुई सन्तानकी आमा रञ्जु श्रीमानको निर्घात कुटपिटबाट शरीरभरी घाउ तथा निलडाम लिएर उपचार गराइरहेकी छन्। ४ वर्षिय बालकको गाला र जिउमा हातले कुटेको निल डाम छ। आमासँगै बच्चा पनि अहिले अस्पतालमा उपचाररत छन्।

१३ वर्षिय जेठो छोरा अहिले रानीघाटस्थित घरमै छन्। पीडित रञ्जुमाथि कुटपिटको यस्तो घटना पहिलो पटक नभएर विवाहको ५ वर्षदेखि ११ वर्षको अवधिमा बारम्बार हुने गरेको परिवारजनको भनाई छ।

पीडित रञ्जुलाई यसअघि घरेलु यातना दिई मर्न समेत बाध्य बनाएको उनका दाजु मनोजले जानकारी गराए।

बारम्बार दाईजोको कारण बहिनीलाई यातना दिँदा पनि गाउँ समाजमा ईज्जत जान्छ भनेर सम्झाई बुझाई पठाउने गरेको माईतीपक्षको भनाई छ। तर, यता मरणासन्न हुने गरी कुटपिट गरेपछि दोषि सासु ससुरा तथा श्रीमानलाई हदैसम्मको कारकाहीको माग गर्न प्रहरीसमक्ष जाने बताए।

बाराको कलैया सितलपुर माइती भएकी ३० वर्षिया रञ्जुको १६ वर्षअघि वीरगन्ज रानीघाट निवासी गोविन्द प्रसाद साहसँग भएको थियो।

त्यतिखेर २ लाख पचास हजार रूपैया दाईजोसमेत दिएर मागी उनलाई विवाह गराइदिएका थिए। उनका श्रीमान गोविन्दले मैनबत्ती कारखाना चलाएर बसेका छन्।

चार भाई एक नन्द तथा सासु ससुरा भएको घरमा पीडित रञ्जुसँग सुरूमा राम्रो व्यवहार भयो। विवाहको १ वर्ष पछि बिहेको बेला दाईजोमा नसकारेको वासिङ मेसिन तथा फ्रिज मागे। जेनतेन गरेर त्यो सामान पनि दिएको दाजु मनोजले बताए।

विवाहको केही वर्षपछि जेठो छोरा जन्मिएपछि ससुराली पक्षबाट बिस्तारै दाईजोको माग बढ्दै गयो। कान्छो छोरा जन्मेपछि झनै दाईजो माग गर्दै रञ्जुलाई मानसिक तथा शारीरिक यातना दिन थाले। त्यसपछि माइती आएर बस्न थालेकी रञ्जु तीन वर्षसम्म माइतमै बसिन्।

माइती पक्षले दबाब दिएपछि गोविन्दले ३ महिनाअघि रञ्जुलाई घर ल्याए। घर आएपछि उनले दिनुहँ गाली बेइज्जती र पिटाइ खानुपर्‍यो। बितेको ३ महिनाको अवधिमा ५ देखि ६ पटकसम्म उनीहरूले कुटेर घाईते बनाएको स्वयं पीडित रञ्जुले बताईन्।

उनलाई घरमा सासु-ससुराले धेरै उमेरको बुहारी भई भनेर होच्याउने, खाना खादासमेत नराम्रो शब्द बोल्ने साथै गरिसकेको घरायसी काम पनि दोहोर्‍याएर गराउन थाले। र दाईजोमा मोटरसाईकल, कुलर तथा तथा अन्य सामग्री माँगेर दैनिक यातना दिएको पीडित रञ्जुले गुनासो गरिन्।

बारम्बार दाईजोको सिकार भई घरेलु हिंसा सहँदै आएकी रञ्जु अब न्यायको खोजिमा छन्। पीडितका दाजुले बहिनीको अवस्था देखेर दोषिलाई कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन्।

उनले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।

प्रकाशित मिति: : 2019-09-13 16:13:32

प्रतिकृया दिनुहोस्