किसानलाई फलफूल आत्मनिर्भर बनाउन बैतडीको पञ्चेश्वर गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालनमा ल्याएको छ।
ठाउँअनुसार फलफूलको पकेट क्षेत्रका रुपमा विकास गरेर फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको वडा नं ३ लाई अनारको पकेट क्षेत्र मानेर सो क्षेत्रमा तीन हजार अनारका बिरुवा वितरण गरिएको उपाध्यक्ष बीना भट्टले जानकारी दिए।
यस्तै गाउँपालिकाको वडा नं १ र २ लाई केरा पकेट क्षेत्र बनाएर पाँच हजार केराका बोट वितरण गरिएका छन् भने वडा नं ४ लाई आँप र केराको पकेट क्षेत्र बनाएर पाँच हजार बोटबिरुवा वितरण गरेका छन्।
गाउँपालिकाभरि गत आर्थिक वर्षमा २० हजार अनारका बोट, १० हजार केरा र आठ हजार आँपका बोटबिरुवा वितरण गरिएका गाउँपालिका उपाध्यक्ष बीना भट्टको भनाइ छ। पाँच सय बढी बिरुवा लगाएर फलफूल खेतीमा लागेका किसानलाई गाउँपालिकाले एक लाख अनुदानसमेत दिने तयारी गाउँपालिकाले गरेको छ। किसानलाई अनुदान दिन गाउँपालिकाले अनुगमन गर्ने र त्यसपछि मात्रै अनुदान दिइने बताइएको छ। (रासस)