डोटीका तिन सडक कालोपत्र हुँदै

एजेन्सी

जिल्लाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण मानिएको तीन वटा ग्रामीण सडक कालोपत्र हुने भएको छ।

सुदूरपश्चिम सरकारले डोटीको सिलगढी–ओखरबोट–साइल–बगलेक–झिग्राना सडक, सिलगढी, कलेना, दल्लेक र मेल्लेक हुँदै बझाङ जोड्ने सडक तथा राजपुर–फलेडी– धिर्कामाण्डौँ सडक कालोपत्र गर्ने भएको हो। जिल्लाको भाग्यरेखासमेत मानिएको उक्त सडक कालोपत्र गर्नका लागि निर्माण कम्पनीसंग ठेक्का सम्झौता भइसकेको सुदूरपश्चिम पूर्वाधार विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी– झिग्राना सडकमा १५ दशमलव ६ किलोमिटरका लागि रु ४० करोड, सिलगढी, मेल्लेक हुँदै बझाङ जोड्ने ७ दशमलव ५ किलोमिटर सडकका लागि रु १५ करोड ९७ लाख १२ हजार ५४२ तथा राजपुर फलेडी हुँदै बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँ जोड्ने ९ दशमलव ५ किलोमिटर सडकको कालोपत्र गर्नका लागि रु २२ करोड ९१ लाख ४९ हजार ४९५ मा ठेक्का कबुल गरिएको उहाँले जानकारी दिए।

प्रमुख खत्रीका अनुसार ती तीनवटै सडक विसं २०७८ असार ३० गतेसम्म कालोपत्रको काम सक्ने गरी सम्झौता गरिएको छ। जिल्लाका ग्रामीण क्षेत्र जोड्ने तीन वटा सडकअन्तर्गत ३२ दशमलव ६ किलोमिटरका लागि कूल रु ७८ करोड ८८ लाख ६२ हजार ३७ को लागतमा सडक कालोपत्रको काम शुरु हुने पूर्वाधार विकास कार्यालय डडेल्धुराले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सहजपुर–बोगटान सडकलाई पनि प्रदेश गौरवको सडकमा राखेर सडक बिस्तारको काम हुने भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टको पहलमा ग्रामीण क्षेत्र जोड्ने सडकको कालोपत्रको काम शुरु भएको हो। मुख्य राजमार्ग मात्र कालोपत्र रहेको डोटी जिल्लामा पहिलो पटक र एकैपटक जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएका छन्।

सिलगढी–झिग्राना सडक चन्द्र एण्ड वसन्त कन्ष्ट्रक्सन, सिलगढी मेल्लेक सकडको राजेन्द्र÷पिएस जेभी र राजपुर फलेडी धिर्कामाण्डौँ सडक केएस कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको पूर्वाधार विकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको खप्तड जाने सडक कालोपत्र हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन्। खप्तडको प्रवेशद्वारका रुपमा रहेको झिग्रानासम्म पक्की सडक हुने हो भने आन्तरिक तथा बाह्य पर्यटक खप्तड भित्र्याउन सकिने छ। (रासस)

प्रकाशित मिति: : 2019-09-13 12:42:09

प्रतिकृया दिनुहोस्