विराटनगरमा डेंगुका कारण १८ वर्षीय एक विद्यार्थीको मृत्यु

मृत्यु भएका डेंगु संक्रमित विद्यार्थी अविनाश शर्मा । बिएल

विराटनगरमा डेंगुबाट संक्रमित एक विद्यार्थीको निधन भएको छ। विराटनगर महानगरपालिका–१० मा रहेको शिक्षादीप कलेजको कक्षा १२ मा अध्ययनरत १८ वर्षीय अविनाश शर्माको उपचारको क्रममा ज्यान गएको हो।

विराटनगर– ९ भूमी प्रशासन चोकका फर्निचर उद्योग सञ्चालक राजकुमार शर्माका छोरा अविनाशलाई यही भदौ २० गते सामान्य ज्वरो आएपछि उपचारका लागि नजिकैको सप्तकोसी नर्सिङ होममा लगिएको थियो । बहिरंग विभागमा परीक्षण गराउँदा उनमा डेंगुको संक्रमण रहेको रिपोर्ट अस्पतालले दिएको थियो । घरमै राखेर चिकित्सकको सिफारिसमा औषधि खुवाउँदै आए पनि दुई दिनपछि ज्वरो बढ्नुका साथै वान्ता हुन थालेको मृतकका काका उमेश शर्माले बताए । त्यसपछि मात्रै अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको उनको भनाइ छ ।

नेपालको पहिलो उप–सभामुख कमल राणा भन्छिन्– बिपी जस्तो नेता अहिलेसम्म कोही छैन (भिडियोसहित)

अस्पतालका फिजिसियन डा. अरविन्द साहले शर्मामा डेंगुको संक्रमण देखिएको बताए । दुई दिनसम्म अस्पतालमा भर्ना गरेर उपचार जारी राखिए पनि स्वास्थ्यमा सुधार नभएपछि भतिजोलाई थप उपचारका लागि मंगलबार गोल्डेन अस्पतालमा भर्ना गरिएको मृतकका काका उमेशले बताए । गोल्डेन अस्पतालको आईसीयूमा राखेर उपचार थालिए पनि उपचार सम्भव नभएको र भतिजोको मृत्यु भएको जानकारी उनले दिए ।

शर्माको गोल्डेन अस्पतालमा हिजो बिहान ३ः४५ बजे मृत्यु भएको हो । अस्पतालले दिएको मृत्यु प्रमाणपत्रमा मृत्युको कारण डेंगु उल्लेख गरिएको छ । आफ्ना विद्यार्थीको असामयिक निधन भएको शोकमा कलेजले बिहीबार एक दिन विदा दिएको छ ।

पहिलो पटक धरानमा वैशाख ३० गते डेंगु देखिएको हो । अहिले मुलुकका ५६ जिल्लामा यसको संक्रमण फैलिसकेको छ । मोरङमा जेठ पहिलो साताबाट भित्रिएको डेंगुबाट संक्रमित हुनेको संख्या एक सय ५९ पुगिसकेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । उनकाअनुसार डेंगुका कारण मृत्यु नै भएको घटनाको रेकर्ड भने अहिलेसम्म स्वास्थ्य कार्यालयसँग नभएकाले सत्यतथ्य बुझ्न जनस्वास्थ्यको टोली परिचालन गरिएको छ ।

अहिलेसम्म नेपालका ५६ जिल्लामा डेंगु फैलिइसकेको छ । प्रदेश १ मा डेंगु संक्रमितको संख्या तीन हजार नौ सय ८३ पुगिसकेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

 

प्रकाशित मिति: : 2019-09-12 19:15:27

प्रतिकृया दिनुहोस्