रक्सीको लतले युएईमा बदनाम बन्दै नेपालीहरू (भिडियोसहित)

तस्बिरः बिएल

युनाईटेड अरब इमिरेट्स (युएई) को दुबई राज्यमा रहेको बरदुबईस्थित सिटी सेन्टरको छेउमा एक खुला डाँडा छ ।

यो डाँडा अहिले ‘लभ डाँडा’ को उपनामले चर्चित छ।

कुनै बेला यो डाँडा नेपालीहरूको भेटघाट गर्ने थलो थियो।

युएईमा प्रत्येक शुक्रबार छुट्टी हुने गर्छ। विदाको दिन यहाँ नेपालीहरू आफ्नो सुखदुःख साट्ने गर्दथे। अब ती दिन रहेनन् ।

अहिले यहाँ आउने नेपालीहरूले मुख थुनेर हिड्नु पर्ने अवस्था सिर्जना भएको छ।

यस स्थानमा नेपालीहरू युएईको कानुन विपरित खुला ठाउँमा बसेर मदिरा सेवन गर्छन्।

‘लभ डाँडा’ मा नेपालीको रवैया देखेर स्थानीय प्रहरीसमेत आजित भइसकेका छन्।

शुक्रबार यहाँ रक्सी भट्टी खुल्छ। सेकुवा पोलिन्छ। नसाको सुरमा होहल्ला र झगडा गर्ने नेपालीलाई प्रायः यहाँको प्रहरीले पक्राउ गरेर लगैकै हुन्छ।

‘पहिला हामी पनि जान्थ्यौं। दुःख सुख साटासाट हुन्थ्यो, कहिले शुक्रबार आउँला जस्तो लाग्थ्यो’, एक दशकदेखि दुबईमा रहेका गंगाराम भट्टराईले बीएल मिडियासँग भने, ‘हिजोआज यो बाटोबाट हिड्नु पर्यो भने मुख छोप्नु पर्छ।’

युएईको कानुनले प्रतिबन्ध गरेको कुरा गर्न हौसिनु ठूलो अपराध भएको आकाश घिमिरे पनि बताउँछन्। घिमिरे पनि लामो समयदेखि दुबईमा कार्यरत छन्।

‘केही दाजुभाईका कारण हामी बदनाम भएका छौं,’ उनी भन्छन्।

‘लभ डाँडामा चर्तिकला देखाउने नेपालीहरूलाई प्रहरीले पटकपटक पक्राउ गर्दै आइरहेको छ। तर पनि नेपालीहरूको चेत खुलेको छैन।

युएईस्थित नेपाली राजदुत कृष्णप्रसाद ढकाल भन्छन्, ‘हामीले क्याम्पमै पुगेर यस्तो कार्यले नेपाल र नेपालीहरूको बेइज्जती हुन्छ भनेर सम्झाउँदै आइरहेका छौं। त्यहीँ पनि यस्तो घटना हुनु भनेको दुःखदायी हो।’

याे पनि:

प्रकाशित मिति: : 2019-07-14 17:34:14

प्रतिकृया दिनुहोस्