'मेरो नाम लक्ष्मण सुनार: गाउँमा बाटो पुगेपछि नेपाल फर्किन्छु भन्दिनु होला'

फोटो: बिएल

दक्षिण कोरिया पुगेका कुनै पनि नेपालीलाई सोधिरहनु पर्दैन, दोङ्गदेमुन कहाँ पर्छ भनेर । कोरियाको राजधानी सोलमा रोजगारीका लागि आउँने नेपालीको सर्वाधिक जमघट हुने ठाउँ हो, यो।

परिवारसहित कोरिया पुगेँ म गएको महिना । बिदेश पुगेपछि नेपाली खाना साह्रै मिस हुन्छ । यहाँ पनि त्यस्तै भयो। 'नेपाली खाना कहाँ पाइन्छ?' भनेर खोज्दै दोङ्गदेमुनमा पुगेँ म।

नेपालीको चहलपहलको हिसावले अमेरिकास्थित न्युयोर्कको ज्याक्सनहाइट र कोरियाको दोङ्गदेमुन उस्तै लाग्यो मलाई । बाटोमा नेपाली देख्दा आँखा पनि रमाउने । ओठ आफै फिस्स हाँस्न पुग्ने।

हामी दोङ्गदेमुनकै एक नेपाली रेष्टुरेन्टमा पस्यौ । भर्याङ्गनिरै एक नेपालीले मुस्कान दिएर टाउको झुकाउदै हामीलाई नमस्कार भन्दै स्वागत गरे । रेष्टरेन्टको ड्रेसमै थिए उनी । कुर्सीमा वसेपछि उनी नजिकै आएर सोधे 'हजुरहरुलाई के ल्याउँ?'

गोह्रो अनुहार, तर मलिन देखिन्थे उनी।

मलाई उनीसँग केही कुरा गर्न मन लाग्यो। मलाई तपाईसँग केही कुरा गर्न मन लाग्यो समय छ ? मैले सोधेँ। उनले शालिन स्वरमा भने 'हवस् भन्नुस् न ।' कति भयो तपाईं कोरियामा यसरी काम गर्न थाल्नु भएको ?

उनले लामो सुस्केरा निकाले र आफ्नो बारेमा सबै भन्ने छाँट देखाए । मैले खानासँगै उनको बाँकि कथा सुन्ने रुचि देखाएँ ।

'मेरो नाम लक्ष्मण सुनार, घर गुल्मीको डिडुङ्ग गाविस वडा नं ९ हो।'

बिदेशमा पुगेपछि रुखमा पैसा टिप्न मिल्छझै गर्नेहरु भेटेकी छु मैले नेपालमा । बिदेशमा पुग्नेहरुले कति संघर्ष गर्नुपर्छ भन्ने कथा टिप्न मन लाग्यो ।

उनले बिदेश नपुग्दैको कथा सुनाए ।

परिवाको आर्थिक अवस्था कमजोर थियो । सानै उमेरमा कमाउन भनेर भारततिर हिँडे । पेट पाल्ने मेसो पत्ता लाग्यो। होटेलमा भाँडा चम्काउने । बिस्तारै त्यही कुकिङ्को काम सिकेँ। उमेरले पनि होला खुब जमेर काम गरेँ। रातदिन नभनी खटिएँ।

विहानदेखि बेलुकासम्म काम गर्दा पनि थाकेको जस्तो नलाग्ने । जिन्दगीका १७ वर्ष त्यही होटेलमा बितेको पत्तै पाइँन । उमेरसँगै आफ्नो घरको र भविष्यको  चिन्ता लाग्न थाल्यो। 'सधैँ यसरी अर्काको देश बसेर के गर्नु आफ्नै गाँउ जान्छु र सानोतिनो काम गर्छु' भनेर फर्किएँ ।  

उनी नेपाल फर्किए।

उनी १७ वर्षपछि घर फर्किदा आमा-बा खुशी त भए त्यो बाहेक उनले सोचेको जस्तो अरु केही भएन । सोलको मौसम जाडो थियो । तैपनि यति कुरा भनुञ्जेल उनको निधारमा चिटचिट पसिना आइसकेको थियो ।

'मेरो गाँउ अलि विकटमा पर्छ । गाडीबाट झरेर तीनघण्टा हिडेपछि बल्ल गुल्मीको डिडुङ्गगाँउ पुगिन्छ । त्यो भारतमा १७ वर्ष लगाएर सिकेको मेरो सिप अब घरमा श्रीमतीलाई सघाउनेभन्दा बढी काम आउँने भएन ।' भारतको होटेलमा रात-दिन खटिए पनि पैसा जम्मा हुन सकेन । त्यही खटिरहने बानी, किन वसिरहन मन लाग्थ्यो र ?'

'बिदेश जाँदा पैसा कमाइन्छ' भन्ने हल्लाले भारतवाट आएको अर्को वर्ष कुवेत पुगेँ ।

'कुवेतमा चार वर्ष बितेको पत्तै भएन । कामबाट फर्किएर जव सुत्ने बेला हुन्थ्यो, गाँउको सम्झनाले आँखा भरिएर आउँथ्यो। मनमा नानाथरि कुरा खेल्थे । गाँउमा कहिले बाटो बन्ला र सधैलाई नेपाल फर्किउँला जस्तो लाग्थ्यो ।'

एकतमासले टाउको निहुराएर बोलिरहेका उनलाई मैले विचमै रोकेर सोधेँ- 'बाटो बन्दैमा काम कसरी पाइन्छ त नेपालमा ?'

'मलाई कुकको काम राम्रो आउँछ । बाटो बने त मान्छेको चहलपहल बढ्थ्यो अनि मैले सानो होटल चलाएर बस्थे भन्ने लाग्थ्यो ।' बाटो बनेपछिको आउँने रोजगारीको अवसरलाई उनले अझ प्रष्ट पारे । 'मेरो गाँउको माटो मलिलो छ । तरकारी खेती पनि राम्रो हुन्छ। त्यही खेती गरेर पनि राम्रो कमाई हुन्छ।'

यही सपनाले उनलाई कुवेतमा रात-बिरात झक्झकाई रह्यो। उनी फेरि नेपाल फर्के ।

कुवेतमा देखेको सपनाले काम गर्यो । आफ्नै मलिलो माटोमा तरकारी खेती गर्न थाले। उब्जनी उनले सोचेकोजस्तै राम्रो थियो । तर, सडक भएन । त्यति राम्रो उब्जनीलाई उनले सधै २/३ घण्टा बोकेर बजार पुर्याउन सम्भव भएन । बिस्तारै यो ब्यवसाय उँधो लाग्न थाल्यो ।

बाटो बन्दै छ भन्ने छलफल र भाषण उनको कानसम्म सधैं पुगिरह्यो । तर,  बाटो बनेन । बाटो बनाउन भनेर सरकारले छुट्टाएको पैसा कहाँ जान्थ्यो थाहा छैन । तर उनको गाँउको मुहार जस्ता-को-त्यस्तै रह्यो ।

सरकारले बाटो बनाउन करोडौ पैसा खर्च गरेको समाचार आँगनको डिलमा बसेर उनले रेडियो सुनिरहे । यता उनले उब्जाएको तरकारी बाटो नभएकै कारण बेच्न नसकेर घरमा पालेको भैसीलाई कुडो बन्न थाल्यो ।

उनको मन थिर भएन ।

'यो देशमा केहस् हुने रहेन छ ।' फेरि उनले कोरिया जाने निधो गरे । उनी कोरिया आएको दुई वर्ष भयो । हरेक दिन १२ देखि १५ घण्टा होटलमा खटिन्छन् । यति खटिएवापत १५ लाख कोरियन वन अर्थात् झण्डै १ लाख पचास हजार नेपाली कमाउँछन् उनी ।

कामबाट फर्केर कोठा पुग्छन् र फेरि बाटो मात्र पुगेको भए मेरो ब्यवसायले यति पैसा सजिलै उठाउँन सक्ने थियो भन्ने सोचेर एकछिन रुन्छन् । ' दुई छोरी छन् । उनीहरुलाई सम्झेर अझ बढी रुन मन लाग्छ ।'  उनी थप्छन् ।

१५ वर्षको उमेरमा उनको गाउँ जस्तो छोडेका थिए अहिले पनि उस्तै छ । बिदेशमा एक वर्षमा कायापलट हुने बिकास देख्न पाइन्छ । उनलाई भने गाँउमा बाटो मात्रै पुगिदिए हुन्थ्यो भन्ने लागिरहन्छ ।

'बाटो मात्र बनेको भए, तरकारी खेती गरेर आफ्नै परिवारसँग वस्न पाउँथे भन्ने सम्झेरै मेरो आधा तौल घटछ ।'  समाचारका लागि यती लामो कुरा भएको मेसो पाएपछि उनले फेरि अन्तिममा भने 'मेरो नाम लक्ष्मण सुनार- गाउँमा बाटो पुगेपछि नेपाल फर्किन्छु भनेर लेख्दिनु होला है ।'

प्रकाशित मिति: : 2019-06-25 01:49:40

प्रतिकृया दिनुहोस्