नयाँ बसपार्क चिट्टिक्कै, १२ बजेपछि प्रवेशमा रोक लगाइने

तस्बिरः बिएल

केही वर्ष अगाडिसम्म अस्तव्यस्त रहेको नयाँ बसपार्क अहिले व्यवस्थित भइरहेको छ।

२०५६ सालबाट सञ्चालनमा आएको बसपार्कको सञ्चालन तथा व्यवस्थापन २०७२ साल साउन २५ गतेबाट युवा उद्यमी दिपक कुँवर अध्यक्ष रहेको लोत्से बहुउद्देश्य सहकारी संस्थाले जिम्मालिएको हो।

केही समय अगाडिसम्म पानी ट्यांकरपार्किङ गर्ने ठाउँ रहेको बसपार्कलाई सम्पूर्ण व्यवस्थापनको जिम्मा पाएको संस्थाले बसपाकभित्र बनेका करिब ६ सय अवैध टहरासमेत हटाएको छ।

बसपार्कभित्र रहेका होटललाई मापदण्डमा ल्याएको छ साथैबसपार्क भित्र सञ्चालितरक्सी पसल र भट्टी पसललाई पूर्ण रूपले बन्देज गरेको छ।

एक सटर बराबर ४ लाखसम्म भाडा दिन्छु रक्सी पसल चलाउन दिनु पर्‍यो भन्दै आएका पनि थिए, तर मैले फिर्ता पठाइदिएँ’, कुँवरले भने,‘सबै कुरा पैसा मात्र होईन मेरो चाहना बसपार्कलाई अन्तर्राष्ट्रियस्तरको नमूना बसपार्क बनाउनु हो। विचौलिया हुने छैनन्।’

यसअघि बिचौलियाकै कारण सवारीधनी र यात्रु मर्कामा थिए। हाल लोत्सेले बस व्यबसायीसँग सिधा सम्झौता गरेर बिना बिचौलिया बसको टिकट काट्ने व्यवस्था मिलाएको छ। जसले गर्दा अहिले यात्रुले तिरेको पूरा भाडा व्यवसायीलेपाउँदै आएका छन्। यो सँगै बसपार्कमा बिचौलिया प्रथाको अन्त्य भएको छ ।

टिकट काउन्टरमा खटिने कर्मचारीलाई समेत तोकिएको ड्रेस र परिचयपत्र अनिवार्य गरिएको कुँवरले बताए।

बसपार्कको शौचालय सफा र व्यवस्थित बनाउँदै ग्रिनरीको समेत निर्माण भएको छ।

खाना, खाजा र टिकटको सबै काम व्यवस्थित हुँदै गईरहेको छ। यात्रुको सुरक्षालाई ध्यानमा राख्दै नयाँ बसपार्क छिर्ने सडकमा ढोका बनाई केही समयपछि राति १२ बजेपछि बसपार्कभित्र प्रवेशमा समेत रोक लगाइने कुँवरले जानकारी दिए।

लामो र छोटो दूरीका सवारी साधनको अवस्था जाँच गर्न र सवारी साधनको खराबीबाट हुने दुर्घटना न्यूनीकरणका लागि लोत्सले सिप्रदी अटो प्रालिसँग मिलेर निःशुल्क सवारी जाँचको व्यवस्था गरेको छ।

यात्रु, सवारीचालक र परिचालकको स्वास्थ्यलाई समेत ध्यानमा राखेर ग्राण्डी इन्टरनेसनल हस्पिटलसँगको सहकार्यमा २४ सैं घण्टा निःशुल्क प्राथमिक उपचार कक्ष बनाएको छ। जहाँ २ जना स्टाफ नर्स २४ सैं घण्टा सेवा दिंदै आईरहेका हुन्छन् । एउटा एम्बुलेन्स समेत त्यहाँ राखिएको छ।

सोलार लाइट, पेट्रोल पम्प, अपांगमैत्री शौचालय, हेल्प–डेस्क, यात्रु प्रतिक्षालयलगायतका केही अत्याधुनिक पूर्वधार थप्ने काम भईरहेको कुँवरले जानकारी दिए ।

यसैबीच उनले ई-टिकेटको समेत तयारी थालिएको जानकारी दिँदैनेपाल सरकारले तोकेको लम्बाई चौडाई र उचाईको ब्यापारिक भवनको समेत निर्माण सम्पन्न भइसकेको बताए।

बसपार्कमा करिब २० हजार यात्रुले आवतजावत गर्छन्। चार सय जना भन्दा बढी मानिसले बसपार्कमा प्रत्यक्ष रोजगारी पाईरहेका छन्। नेपाल सरकारको सिण्डीकेट अन्त्य गर्ने योजनाअनुसार अव्यवस्थित तरिकाले खोलिएका गौशाला, सुन्धारा, चावहिल, कलंकीलगायतका सबै टिकट काउन्टरसमेत ट्राफिक प्रहरी महाशाखा, यातायात महासंघ र लोत्सेको सहकार्यमा हटाईएको छ।

प्रकाशित मिति: : 2019-05-15 15:07:58

प्रतिकृया दिनुहोस्