प्रहरी कन्ट्रोलरूममा आत्महत्या गर्नेदेखि युवती उठाउँनेसम्मका मेसेज

तस्बिरः बिएल

'आइएम गोइङ टु कमिट सुसाइड पोलिस वान्ना डेड...' गत मंसिर २८ गते प्रहरीको मोबाइलमा एउटा मेसेज आयो। ९८७६९८८......नम्वरको मोबाइलबाट आएको मेसेज हेरेपछि महानगरीय कार्यालय रानीपोखरीको कन्ट्रोलरुममा रहेका प्रहरी झस्किए। के गर्ने?, कसो गर्ने? साँच्चै आत्महत्या नै त गर्ने होइन? को थिए त्यसरी आफ्नो मोबाइलबाट प्रहरीलाई मेसेज गर्ने? कन्ट्रोलको प्रहरीले चासो देखायो।

पटक-पटक सोही नम्वरमा प्रहरीले फोन गर्यो, तर फोन उठेन। प्रहरीले प्रयास जारी राख्यो।र, अन्तत: बिहानको २ बजेर २४ मिनेटमा फोन उठ्यो। तर, कोही बोलेन। कन्ट्रोलले सो कुराको जानकारी महानगरीय उपराध महाशाखामा टिपायो। महाशाखाले अनुसन्धान सुरु गर्यो।मोबाइलको लोकेसन विराटनगरको ट्राफिक चोकमा देखायो। प्रहरीले सम्पूर्ण जानकारी सम्वन्धित निकायमा टिपायो। घटना के भयो थाहा छैन।

गत मंसिरबाट प्रहरीले मेसेज सेवा सञ्चालनमा ल्याएपछि अहिले १०० नम्वरमा थरिथरिका एसएमएस आउने गरेका छन्।केही एसमएसमार्फत प्रहरी घटनाको अनुसन्धान र निराकरण गर्न सफलसमेत भएको कार्यालयका एसएसपी श्याम ज्ञवाली बताउँछन्। एसएसपी ज्ञवाली भन्छन्,‘एसमएसको सही सदुपयोग भयो भने घटनाको जानकारी लिन र अपराधी नियन्त्रण गर्न सहयोग पुग्छ।'

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुममा रहेको मोबाइल मेसेज शाखामा अहिले दैनिक सयदेखि दुई सयसम्म मेसेज आउने गरेका छन्। एसएसपी ज्ञवाली भन्छन्- 'मेसेज सङख्या बढ्दै छ। बोल्न नमिल्ने अवस्था भयो भने पनि अपराध भइरहेको जानकारी भए एसएमएसमार्फत जानकारी दिए प्रहरी तत्काल घटना स्थलमा पुग्छ।'

बनेपाबाट रामपुर जादै गरेको बसको ड्राइभरले मापसे गरेको छ, केही साता अगाडि मात्र झापा जिल्लाको कोड भएको नम्वरबाट मेसेज आयो, मेसेजमा गाडी नम्वरसमेत उल्लेख थियो। प्रहरीले तत्काल बनेपाको स्थानीय प्रहरीलाई मेसेज फर्वाड गरेर जानकारी दियो।प्रहरीले तुरून्तै मापसे गरेर सवारी चलाउने चालकलाई कारबाही गर्यो। त्यही मेसेजको कारण एउटा सम्भावित दुर्घटना हुनबाट जोगियो।

सही सूचना आएर कारबाही गर्न पाउँदा खुशी नै लाग्छ। तर, यो सुविधाको दुरुपयोग गरेर गलत मेसेज पनि पठाइने गरिएको छ, एसएसपी ज्ञवाली भन्छन्।

अहिलेसम्म रानीपोखरीको कन्ट्रोलरुममा ३६ हजार ५ सय मेसेज आइसकेका छन् । मेसेज नो पार्किङमा गाडी रोकेकोदेखि, केटी अपहरण गरेकासम्म छन्।कतिपयले जरूरि छ भनेर मेसेज गर्ने गरेको र प्रहरीले खवर गर्दा बच्चाले झुक्किएर गरेको भन्दै बचाउ समेत गर्ने गरेको प्रहरीको दावी छ।

'यो आपतविपत परेका जो कोहीका लागि पनि सहयोग गर्ने सिष्टम हो। यसको सदुपयोग गरौं, दुरूपयोग नगरौं', एसएसपी ज्ञवाली अनुरोध गर्छन्।

प्रकाशित मिति: : 2019-04-07 09:00:42

प्रतिकृया दिनुहोस्