कर्णालीका कथित दलितहरूको कथा
'लभ इज लाईफ, लाईफ इज ड्रामा। वी आर एक्टर, गड इज डाइरेक्टर। आइ यम सो सरी, आई
एम ड्रिंक्स अल्कोहल। आइ यम गो टु द हाउस, सी यु टुमारो, हर्के कुमारो बोल्दैछ। '
अक्सर रक्सी खाँदा मुखबाट फुत्किने शब्द यीनै हुन्। गाउँकै भट्टी पसलमा रक्सी खान लाग्दा पढे-लेखेका रक्सी खानेले अंग्रेजी बोलेको सुन्दासुन्दै सिके। सि यु टुमारोसम्म सिकाउनमा तीनै पढेलेखेकाहरुको देन छ। पछाडिको हर्के कुमारो आफैं थपे। त्यसपछि रक्सी शरीरभित्र जाँदा आउने आउडसाइड डाइलग तयार भयो।
यी सबै अंग्रेजी शब्दको अर्थ अंग्रेजी बोल्नेहरुले सिकाएनन्। उनलाई पनि जान्न आवश्यक भएन। न उनलाई परीक्षा दिनु थियो न त अंग्रेजी बोल्नु नै। दिनभरी काम गर्दा थकाइ मेटाउन रक्सी खान्छन्। रक्सी-भट्टीको अभाव काम गर्ने ठाउँदेखि घरसम्म कहीँ छैन। बाटो, दोबाटोमा भट्टी छन्।
सुरुमा एक्कै गिलास खाउँजस्तो लाग्छ। त्यो सकिने बेलासम्म अर्को थप्न मन लाग्छ। थप्दैजाँदा मात लाग्न सुरु हुन्छ। दुई बोतलसम्म खायो भने उठेर हिड्छन्। घर पुग्नबेला अक्सर फुत्किन्छन् माथिका अनुप्रास ।
घर पुगिसकेपछि श्रीमतीको अगाडि बाघ बन्न मन लाग्छ। दुई-चार शब्द रफ(अश्लिल) हान्छन्। अनि रक्सी खाएको ज्यानमाथि दुई-तीन झापड बर्सिन्छन्। दिन सकिन्छ। कहिलेकाहीँ श्रीमती फतफताउँछिन उनी लात हान्छन्। यस्तो चलिरहन्छ हर्के कुमारो उर्फ हर्क सार्कीको घरमा।
ठूलोहोटल, व्यस्त बजार, तिलानदी भेटाउन कस्सिएको भण्डारी बाडाको खोला, त्यसैमा मिसिएको ढल त्यसले छिनछिनमा फ्याकिरहने दुर्गन्धित खोला किनारमा थापेको खुलापसल छ हर्क सार्कीको। त्यही पसलले दैनिक बीस, पच्चीसजनाका च्यातिएका जुत्ता मर्मत गर्छ।
दिनभरि तीनै ग्राहकका आवश्यकता पूरा गर्दा हर्क सार्कीका दैनिक आवश्यकता पूरा हुन्छन्। उनी त्यसरी जुत्ता सिलाउन लागेको नौ वर्ष भयो। १९ वर्षको उमेरदेखि जुत्ता सिलाउन लागेका हुन्। त्यो भन्दा अगाडिका केही वर्ष लेवर काम गरे। पछि चारपुस्ता अघिदेखि बाजेले गरेको पेशा अंगाले बिँढो थाम्नलाई।
उनका परबाजे मन्दिरे सार्कीले आफ्नो जमानामा पैदल हिडेर दैलेखबाट सावरको छाला ल्याएर जुत्ता बनाएर बेच्ने गर्थे। पछि बाजे र बुबाले पनि त्यही पेशा अंगाले। बाबु बाजेको बिँडो थाम्न र आफ्नो दैनिकी चलाउन उनले पनि त्यही पेशाको साहारा लिए।
उनलाई आफ्नो पेशाप्रति कुनै हिनताबोध छैन। सबै पेशा एउटै हुन भन्ने लाग्छ। आजसम्म कसैले पेशालाई लिएर अपमान गरेको छैन। 'गाउँका हुने खानेको सोचाई गरीबहरुप्रति कहिले पो राम्रो हुन्छ र ? आफ्नो घर पस्न र सँगै बसेर खान त कहिले पाइएको छ र ? तर, केही ग्राहकको व्यवहारले मन साह्रै अमिलो बनाउँछ। कोही त साह्रै असल हुन्छन्। ' उनका अनुसार जिन्दगानी यस्तै हो।
यो पनि पढनुस्- कर्णालीका कथित् दलितहरूको कहर :
बाबु-बाजेभन्दा अगाडिको उनकम पुस्ता के गर्थ्यो?, त्यो विषयमा उनलाई केही थाहा छैन। हर्कको पछाडि सार्की थर कसरी थपियो?, यसबारे पनि उनले केही बुझेका छैनन्। हुन त सार्कीबारेको अहिलेसम्म छुट्टै लिखित इतिहास छैन।
हालसम्मको इतिहास शासक र सत्ताको वरिपरि घुमरह्यो। इतिहासले पनि चाकडी गर्यो। राजा रजौटाको वरिपरि सीमित इतिहासले हर्क सार्की जस्ता सडक किनारमा बस्नेलाई आफ्नो इतिहास के हो बुझाउने कुरै आएन।
त्यसैले उनलाई थाहा छैन आजभन्दा झण्डै सात/आठसय वर्ष पहिले सन् १३६०-१३०९५ सम्म जयस्थिति मल्लले राज गरेको इतिहास। राज्य सञ्चालनबारे उनको रणनीति आजका शासकहरुले समेत पछ्याइरहेका छन्। उनका भाइ-भारदारबीच भएको सल्लाहको निष्कर्ष सीपको पहिचाग गरी कामको विभाजन गर्नुपर्छ भन्ने थियो। यसबाट सत्ता सञ्चालनमा सहजता आएको, शासकहरुले लामो समय शासन टिकाउन सकेको बुझ्न सकिन्छ।
पहिलोपटक राजा जयस्थिति मल्लले सत्ता सम्हाल्दा उनले लगाउँने जुत्ता थिएन। एउटा सिपालु मान्छेले उनको लागि जुत्ता बनाइदिए। जुत्ता छालाबाट बनाएको हुनाले केही समयपछि त्यसलाई कुकुरले काटिदियो। त्यो थाहा पाएपछि राजाले जुत्ता बनाउने मान्छेलाई हप्काउँदै भने- 'तैले कुकुरभन्दा पनि मुनितिरको जुत्ता बनाइस, तँ अब मेरो नजिक नआइजा। त्यसपछि उसमाथि घृणाको शृंखला सुरु भयो। ऊ नछोइने भयो। त्यो जुत्ता बनाउने सिपालु मान्छे नै कालान्तरमा सार्की बनाइयो। हो कि हैन तर सार्की जातिबारेको यो एउटा किस्सा पढ्न भने पाइन्छ ।
सार्कीहरु लामो समयअघि शाह राजाहरुकै शासनकालमा नेपाल प्रवेश गरेका हुन्। उनीहरु राजाहरुकै वंशज हुन। पछि उनीहरुमध्ये कोहीले मरेका जनावरको मासु खाएछ। त्यसपछि तिनीहरुलाई बिस्तारै शाहबाट सार्की भन्न थालिएछ। सार्कीहरुको सन्दर्भमा एकथरीको यस्तो मत पनि छ।
केहीले सार्कीहरु भारतबाट ११औं शताब्दीपछि त्यहाँका वैदिक आर्यसँगसँगै पश्चिमबाट नेपाल आएको भन्छन्। भनिन्छ, उनीहरु सराक भन्ने ठाउँबाट आएको हुनाले सार्की भन्न थालिएको हो।
किंवदन्तिहरू अनेक भए पनि खासमा सार्की जातिको उत्पति तथा विकासका बारेमा कुनै लिखित सामग्री तथा अन्य कुनै ठोस प्रमाण भेटिएको छैन। यद्यपि उनीहरुको परम्परागत सीप र पेशा भने छालाका विभिन्न सामग्री बनाउने थियो भन्ने कुरामा समानता पाइन्छ र त्यो सत्यताको नजिक छ।
हर्क तिनै सार्की हुन् जस्काको पुस्ता इतिहासका यिनै अलिखित सन्दर्भसँगै विकसित भयो।
जुम्लामा सार्कीहरु कसरी आए? त्यसबारे पनि केही सूचना पाइदैन। तर, जिल्लाका लगभग सबै बस्तीमा सार्की, कामी, दमाईहरुको बसोबास रहेको भेटाउन सकिन्छ। बस्ती विस्तारको क्रममा सामन्तहरुले आफ्नो सेवकको रुपमा उनीहरुलाई सँगै लगेको बुझ्न सकिन्छ।
मनुस्मृतिमा शुद्रहरुको स्वतन्त्र जिविकालाई नकारिएको छ। शुद्रहरुलाई अहिले दलित भन्न थालिएको छ। त्यसमा ब्राह्मणहरुको सेवा गरेर पुगेन भने क्षत्रियहरुको सेवा गर्नु त्यतिले पनि पुगेन भने धनी वैश्यहरूको सेवा गरेर गुजारा चलाउनु भन्ने उल्लेख हुनुले पनि हरेक क्षेत्रमा सार्की, कामी, दमाईहरुलाई बसालिएको अनुमान लगाउन सकिन्छ।
परम्परागत पेशालाई नै आफ्नो जीवनको आधार बनाएका हर्क सार्कीका ४ वटा केटाकेटी छन्। तीन छोरी र एक छोरा। उनी भन्छन्- 'छोरो जन्मेला भन्ने आशमा लगातार तीनवटी छोरी भएपछि अब बच्चा नजन्माउ लागेको थियो। अन्तिमपटक भैहाल्छकी भनेर ट्राइ गरियो, भयो। अब पुग्यो। अहिले श्रीमतीले तीनमहिने सुई लगाउँछे। '
जुत्ता सिलाउँदा दिनको चार-पाँचसय र कहिले त्योभन्दा बढी पनि कमाई हुन्छ। त्यसले घरखर्च चलिरहेको छ। जेठी छोरी तीन कक्षामा, माइली एक कक्षामा र कान्छी छोरी शिशुमा पढ्छन्। छोरो टुकुटुकु हिड्ने भएको छ। जिम्मेवारीको भारी दिनदिन गह्रौं बन्दैछ। महंगी बढिरहेको छ। आम्दानीका दायरा भने फराकिलो छैन।
घर बनाउँदा भएको एउटा जग्गा बेच्नुपर्यो। त्यसका अलबा ५० हजार रूपैया ऋण लाग्यो। १५ हजार समूहको ऋण हो बाँकि गाउँकै एकजना बाहुनको ऋण हो। उनको ऋण लिएबापत ब्याज तिर्नु पर्दैन। कहिलेकाहीँ खेतबारी जोतिदिए पुग्छ।
'कमाई ठिकै छ, मनमा सन्तोष छ तर काम सँधैभरि हुन्न। खुला ठाउँको व्यापार घामछाँयामा जस्तै छ। यो साल हिउँदमा काम गर्न पाइएन हिउँ आएर। जम्मा तीन-चार दिन मात्र काम भयो।
'हिउँले गरी खान दिएन,' मौसमप्रति उनको दुखेसो। उनले थपे 'वर्षामा पनि उहीँ हो। वर्षाद लाग्यो भने काम हुँदैन। काम भएन छोराछोरीका मुखमा चार औला पस्दैनन्। त्यसबेला आपत हुन्छ। अरुबेला भने राम्रै हुन्छ। आफूलाई रक्सी नभई हुँदैन ।
उनको सपना गुजारामुखी छ। सपनाको सन्दर्भमा उनको मनमा एउटा कथाले जरा गाडेर बसेको छ। कथामा एउटा गरिब मान्छे मागेर गुजारा चलाउँछ। ऊ हरेक दिन मागेर ल्याएको चामल आधा खाएर आधा ढरो (माटोको अन्न राख्ने भकारो)मा जम्मा गरेर राख्छ। एक दिन ढरो भरिन्छ। त्यस दिन उसले सपना देख्छ। सपनामा त्यो चामल बेचेर कुखुरा किन्छ। कुखुरा धेरै भएपछि तिनलाई बेचेर बाख्रा किन्छ। बाख्रा राम्रो भएपछि तिनलाई पनि बेचेर घोडा किन्छ। बिहे गर्छ। छोरो जन्मिन्छ। छोरो आगनमा खेलिरहेको हुन्छ। ऊ घोडा चडेर आउँछ। यत्तिकैमा उसको श्रीमतीसँग झगडा पर्छ। उस्ले लात्तीले हान्छ र ढरो फुट्छ। चामल छताछुल्ल हुन्छ। यतिकैमा ऊ बिउँझिन्छ ।
कथाले उनलाई प्रभाव पारेको छ। मनमा डर छ। उनी सपना देख्नु कथाको पात्रजस्तो हुनु हो सोच्छन्। त्यसैले उनी सपनाबिहिन छन्।
सडकको व्यापार सटरसम्म जान सक्दैन भन्ने लाग्छ। उनी भन्छन् 'बजारमा मस्तै बैंक छन्। ती बैंकले हामीलाई पत्याउदैनन्। संघ-संस्थाले सहयोग गर्दैनन्। सामान, औजार गतिला भए राम्रा जुत्ता बनाउन सक्ने आत्मविश्वास छ। ' उनले तालिम पनि लिएका छन्। उनी ठट्यौलीमा भन्छन्- 'बैंक साह्रै सजिला हुन्या रछुन हाम्मा(हाम्रा) रुपिया लिनेबेला केही चाँहिदैन, सही गर्न नजान्ने ल्याप्च्या भए पनि हुन्छ। तिनका(बैंकका) रुपिया हामीले लिनुपर्यो भने गतिलो ठाउँको जग्गा धितो राख्नुपर्छ। सही गर्न जान्ने हुनुपर्छ। '
भविष्यको लागि भनेर केही साँचेका छैनन्। एक-दुईपटक सहकारीमा बचत राखेका हुन् तर पछि पुगेन भएको पनि झिके। 'अब काम हुन थाल्यो भने केही बचत गर्ने सोच छ। सोच भैकन पनि केही नहुन्या। खुला आकासमुनि व्यवसाय छ। के होला र खै ?' अन्तस्करणबाट आशाभित्रको निराशा पोखिन्छ।
'अरु कसैको आश मानेर केही नहुन्या रछ। आजसम्म कोही आएनन्। चुनावमा भोट माग्न आउने नेता र सरकार बनाउनेहरु गरीब हेर्दैनन्। आश त कति मानियो कति? भोट पनि फेरीफेरी हाल्यौं कसैले केही गर्यानुन् । ' राजनीति नबुझे पनि राजनीतिक व्यवस्थाप्रति भने उनको घृणा देखिन्छ।
देशमा कम्युनिस्ट पार्टीको सरकार छ। सीपको पहिचान गरेर रोजगारी दिने आदर्श बोकेको राजनीतिक शक्ति सत्तामा छ तर जनताको भविष्यको विषयमा कुनै दुरगामी योजना छैन। आफ्नो देशको उत्पादक शक्ति र सम्बन्धलाई हेरेर उत्पादन गर्ने लक्ष्य छैन।
पशुपालनमा आधारित अर्थतन्त्र भएको देशमा छालाजुत्ता उद्योग राम्रो हुने विषयमा हामीभन्दा पहिला चीन सरकारले सोचिदियो र आफ्नै लगानीमा बाँसबारी छालाजुत्ता कारखानासमेत बनाइदियो। तर, उदारीकरण र निजीकरणका नाममा शासकहरूले कौडीको दाममा त्यहाँ काम गर्ने केही सत्ता निकटका कर्मचारीलाई बेची दियो। अहिले उनीहरू नै छाला जुत्ताका उद्योगी भए। आज तिनको व्यवसाय सफल भएको छ। उनीहरु ठुला व्यापारी कहलिएका छन्। उनीहरुलाई आफ्नो पेशाप्रति गर्व छ।
चीनको सहयोग र लगानीमा खोलिएको उक्त उद्योगले वर्षभरि छालाजुत्ता उत्पादन गरेर बिक्री गर्थ्यो। बिक्री नभएको जुत्ता वर्षको अन्तमा चीनले किनेर लैजाने सहमति थियो। घाटाको कुरै थिएन। पछि घाटा लागेको कारण देखाएर उदारीकरणको नाममा निजीकरण गरियो।
यो पनि पढनुस्- कर्णालीका कथित् दलितहरूको कहर :
उद्योगमा काम गर्ने कामदार मालिक भए तर देशको एउटा ठूलो उद्योग धरासायी भयो। देशको ठूलो सम्पत्ति मासियो। अहिले पनि उदारीकरणको विरोध गर्ने राजनीतिक नेतृत्वले उद्योगका मेसिनरी, उपकरण, औजारहरु कर्मचारीले न हिनामिना गरी निजी उद्योगमा पुर्याएको आरोप लगाउने गरेका छन्। हैन भने तिनले काम गरेको उद्योगको उद्योगति लाग्ने र तिनैले खोलेको उद्योगको उभोगति लाग्ने कसरी हुन्छ र ?
बासबारी छालाजुत्ता कारखाना खोल्नुभन्दा पहिला नेपालमा सार्कीहरुले छालाजुत्ता बनाउने काम गर्थे। उनीहरुका आफ्ना सीपमा आधारित सानातिना कारखाना थिए। पहिलोपटक राजा जयस्थिति मल्लका लागि आफ्नो सीप देखाएर जुत्ता बनाए उनै सिपालु आजका सार्की हुन र आज पनि उनीहरुको जिवनस्तर उस्तै छ। शासकहरु इमानदार नभएकैले हर्क सार्की र उनको पुस्ता भविष्यविहिन छ।