क्यानाडामा नेपाली कक्षा, पिज्जा खाँदै कपुरी 'क'

माल्टन नेपाली समाज

'हामीले मकै भटमास खाएर बडो दुःखले पढेको’ नेपाली समाजमा प्रायः अधबैंशे पुस्ताले दोहोर्याइरहने एउटा साझा कुरा हो, अहिलेजस्तो कहाँ सजिलो थियो र हाम्रो पालामा!’

हुन पनि हो!

त्यो बेला नेपाली गाउँमा न घर नजिकै स्कुल थियो, न अहिलेजस्तो रोजाईका परिकार खाँदै पढ्नसक्ने अवश्था।

तर, समय फेरिएको छ।

त्यही 'मकै भटमास खाँदै पढ्ने’ पुस्ताको प्रतिनिधित्व गर्ने कतिपय नेपाली अहिले परिवारसहित क्यानाडामा छन्। उनीहरुका सन्तान चाहिँ क्यानडामा पिज्जा खाँदै कपुरी क, खरायो ख, गाईगोडे ग सिक्दैछन्।

अहिले क्यानाडाका सात सहरमा १० वटा नेपाली कक्षा सञ्चालन भइरहेका छन्, जहाँ नेपालीमूलका बालबालिका प्रायः पिज्जाको स्वाद लिँदै नेपाली बाह्रखरी पढ्दै हुन्छन्। देश अनुसारको भेष’ भने झैं बुवा पुस्ताले पढ्दा खाने मकै भट्मासको खाजा यता पिज्जामा बदलिएको छ।

'खाजाका रुपमा पिज्जा या अरु परिकार दिँदा बालबालिका नेपाली कक्षामा जान अल्छी गर्दैनन्’ अभिभावकहरु भन्छन्, 'घरमा खान नपाएर होइन, आफ्नै उमेरका केटाकेटीसँग खेल्दै पढ्दै खाँदा रमाइलो हुने भएकाले पिज्जामा हत्ते हाल्छन्।’

क्यानाडामा अहिले झण्डै ४० हजार नेपाली बसोबास गरेको मानिन्छ। नेपालीहरु जसरी विभिन्न सहरमा छरिएर बसेका छन्, नेपाली कक्षा पनि उनीहरुकै बाहुल्य भएको सहरमा चलाइएको छ। कक्षा चलेका दिन अभिभावकले पालो मिलाएर पिज्जा या अन्य खाजा पुर्याउँछन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाका अध्यक्ष गोपिकृष्ण काफ्लेका अनुसार, यसरी ब्राम्पटन्मा दुई, माल्टनमा एक, टोरन्टोमा एक, अटोवामा एक, एडमन्टनमा दुई, क्याल्गेरीमा दुई र मानिटोवामा एक नेपाली कक्षा चल्दैछन्।

'बालबालिकालाई नेपाली भाषा लेख्न र बोल्न सिकाउने गरी ती कक्षा चलिरहेका छन्’ काफ्ले भन्छन्, 'नेपाली समुदायको प्रयासमा कक्षा चलाइएको हो र यो क्रम अझ फैलिँदो छ।’ प्रायः सबैजसो कक्षा सप्ताहन्तमा सञ्चालन हुन्छन्।

टोरन्टोको माल्टनमा पनि नेपाली कक्षा सुरु भएको छ। त्यस क्षेत्रमा बस्ने नेपाली अभिभावकको सक्रियतामा 'पील डिष्ट्रिक स्कुल बोर्ड’सँग समन्वय गरी यसै सातादेखि नेपाली कक्षा सुरु भएको विजय पौडेलले बताए।

'नेपालसँगको साइनो र सम्बन्ध कायम राखिराख्न नयाँ पुस्ताले नेपाली भाषा जान्नैपर्छ’ कक्षा सञ्चालनको उद्देश्यबारे पौडेलले भने, 'भाषा भनेको पहिचान हो, हाम्रो पहिचान नेपाली हो, त्यसैले नेपाली कक्षाको महत्व छ।’

माल्टनको नेपाली कक्षामा अहिले २७ विद्यार्थी छन्, उनीहरुलाई बिरेन्द्र राउतले नेपाली लेखपढ गराउँछन्। क्यानेडियन सरकारको तर्फबाट 'पील डिष्ट्रिक स्कुल बोर्ड’ले आगामी सेप्टेम्बरदेखि शिक्षकलाई पारिश्रमिक दिने जनाइएको छ।

कामको चापले अभिभावकलाई फुर्सद नहुने र अँग्रेजी भाषाको प्रभावले नेपाली नजान्ने या बिर्संदै जाने अवश्था नआओस् भनेर नेपाली कक्षा चलाइएका हुन्। साताका पाँच दिन क्यानेडिन स्कुल जाने नेपालीमूलका बालबालिका सप्ताहन्तमा नेपाली कक्षा जान्छन्, जहाँ दुई अढाई घण्टा लेखपढ गर्छन्।

नेपाली कम्युनिटी नेटवर्क अफ् क्यानाडा (एनसिएनसी) ले सन् २०१३ देखि 'ब्राम्पटन सेन्टेनियल स्कुल’मा पनि नेपाली कक्षा चलाइरहेको छ। १० महिनामा ३२ कक्षा हुने गरी त्यहाँ बालबालिकालाई नेपाली पढाइन्छ। हाल त्यस स्कुलमा दुईटा नेपाली कक्षा भइरहेका छन्।

सुरुमा नेपालीका घर–घर धाएर अभिभावकलाई सहमत गराई बालबालिकालाई नेपाली कक्षामा सहभागी गराएको अभिभावकमध्येका एक दिनेश खतिवडा सम्झिन्छन्। आठ बर्षदेखि क्यानडा बस्दै आएका खतिवडाका दुई छोरा छन्। उनीहरु पनि नेपाली कक्षामा नियमित जान्छन्।

'हामी घरमा पनि कथा र गीतहरुका माध्यमले उनीहरुलाई नेपाली भाषाको ज्ञान दिलाउन प्रयास गरिरहेकै हुन्छौं’ खतिवडा भन्छन्, 'अझ नेपाली कक्षामा भर्ना गरेपछि उनीहरुको नेपाली सुध्रिँदैछ।’ अभिभावकले चाहँदा व्यस्ततावीच पनि अनेक उपाय हुने उल्लेख गर्दै सन्तानलाई मातृभाषाको ज्ञान दिनु कर्तव्य भएको बताए।

क्यानडा बहुसांस्कृतिक मुलुक हो। यहाँ संसारका सबैजसो मुलुकका थोरबहुत नागरिक आप्रवासीका रुपमा छन्। क्यानाडा सरकारले उनीहरुका लागि आफ्नो मातृभाषामा शिक्षा लिन पर्याप्त बजेट छुट्याउँछ। त्यसक्रममा स्कुल बोर्डहरु मार्फत यस्ता कक्षाका लागि शिक्षकको पारिश्रमिक उपलव्ध हुन्छ।

ब्राम्पटनको स्कुलका दुई बर्षदेखि नेपाली पढाइरहेका टिकाराम पौडेल 'सीमित स्रोतका भरमा पनि नेपाली बालबालिकालाई बोल्न, लेख्न र पढ्न अभ्यास गराइरहेको’ बताउँछन्। अँग्रेजी मात्रै बोल्ने बालबालिकालाई नियमित कक्षामा अभ्यास गराउँदै नेपाली शब्द मिसाएर बोल्न सक्ने बनाउनु उनी उपलव्धि मान्छन्।

कतिपय अभिभावक भने 'अंग्रेजी फस्ट’ मान्यता राख्दै 'छोराछोरीले नेपाली नजाने नि फरक नपर्ने’ मान्यता राख्छन्। उनीहरु आफ्ना सन्तानले फरर अंग्रेजी बोलेकैमा खुशी हुन्छन्।

बहुसंख्यकको चिन्ता चाहिँ आफ्ना सन्तानले अंग्रेजीसँगै नेपाली भाषामा पनि बोल्न र लेख्न जानुन् भन्ने छ।संघका अध्यक्ष गोपिकृष्ण काफ्ले भन्छन्- 'ग्लोवलाइजेसनको युगमा अंग्रेजी अनिवार्य भइहाल्यो, तर नेपालीको महत्व सदैव हुन्छ, यसको पनि ज्ञान चाहिन्छ।’

 

प्रकाशित मिति: : 2019-04-02 22:26:55

प्रतिकृया दिनुहोस्