कृषि विकास बैंक लुट प्रकरणः ११ जना पक्राउ

फाइल तस्बिर

कृषि विकास बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी प्रकरणमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानी सहित अन्य विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । उनीहरुको साथबाट बैंकबाट चोरी गरेको करिव ६० लाख रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ ।

सोमबार र मङ्गलबार बैंकको आयव्यय विवरणमा रहेको नाफा रकममध्ये ४ करोड रुपैयाँ उनीहरुले आफ्नो र परिवारको विभिन्न खाताहरुमा सारेको पाइएको छ।४ करोड रुपैयाँमध्ये २ करोड रुपैयाँ उनीहरुले झिकेका छन्। उनीहरुले नौ/नौ लाख रुपैयाँका दरले २ करोड रुपैयाँ झिकेको फेला परेको छ।

अचानक नौ/नौ लाख रुपैयाँका दरले पैसा झिकिएपछि बैंक व्यवस्थापनले निगरानी बढाएको थियो। गैरकानुनी रुपमा रकम झिकिएको पाइएपछि बैंकले प्रहरीमा उजुरी दिएको थियो।  त्यसलगत्तै खटेको प्रहरीले पैसा निकाल्दै गर्दा दुई जनालाई नियन्त्रणमा लिएको थियो भने उनीहरुले दिएको बयानको आधारमा अन्यलाई पनि नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका ४ का लवङ तामाङ, लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पराज खड्का, काठमाडौं ताकेश्वरका सञ्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ, निमा तामाङ, लक्ष्मी श्रेष्ठ र श्रवण कुमार श्रेष्ठ रहेका छन् ।

यसैगरी कैलालीको भजनीका विजय कुमार शाह र भारत कलकताका शुभन्कर पन्जापनि पक्राउ परेका छन् ।

कृषि विकास बैङ्क श्रोतका अनुसार बैङ्कको लहान शाखाबाट विभिन्न ७ जना व्यक्तिको नाममा रकम ट्रान्सफर गरिएको थियो । ७ जना व्यक्तिका नाममा करिब ४ करोड रुपैयाँ ट्रान्सफर गरिएको हो । जसमध्ये डेढ करोडभन्दा बढी रुपैयाँ उनीहरुले निकालिसकेका थिए भने बाँकी रकम निकाल्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

कृषि विकास बैङ्क लाहान शाखाका म्यानेजरको युजर नेम र पासवर्ड प्रयोग गरी त्यही कम्प्युटर वा अन्य कुनै कम्प्युटरबाट करिब ४ करोड रकम ट्रान्सफर गरिएको छ । सो रकम विभिन्न ७ जना व्यक्तिका नाममा ट्रान्सफर गरिएको थियो, जसमध्ये २ जना व्यक्ति रकम निकाल्दै गर्दा पक्राउ परेका थिए ।

लहान शाखाका म्यानेजरको युजरनेम र पासवर्ड प्रयोग गरी त्यही सिस्टमबाट रकम ट्रान्सफर भएको पाइएको छ । म्यानेजर आन्तरिक तालिमका लागि काठमाडौँमै रहेकोबेला उनको एकाउट प्रयोग गरिएको छ । त्यसकारण अन्य कुनै कर्मचारी वा बैङ्क म्यानेजरकै संलग्नता रहेको हुनसक्ने भन्दै उनलाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले दाबी गरेको छ ।

प्रकाशित मिति: : 2019-09-25 13:02:29

प्रतिकृया दिनुहोस्