चाडपर्वको मुखैमा तातोपानी नाका ठप्प

बिएल

नेपाल–चीन व्यापारिक नाका तातोपानी दुई दिनदेखि ठप्प भएको छ । पहिरोले चीनतर्फको सडक अबरुद्ध भएपछि ठूला चाडपर्वको मुखैमा नाका बन्द भएको हो ।

तातोपानी भन्सार कार्यालय प्रमुख कृष्ण बस्नेतकाअनुसार खासाबाट तातोपानीतर्फ लाग्ने बाटोमा सडक भासिएका कारण चिनीयाँ पक्षले सवारीसाधनलाई दुई दिनदेखि रोकेको हो ।

भन्सार प्रमुख बस्नेतका अनुसार पहिरोअघि स्याउ बोकेका ५/७ वटा कन्टेनर दैनिक रुपमा नेपाल भित्रिने गरेका थिए । केही ब्यापारीक खाद्यान्न र कपडा ल्याएका कन्टेनरहरु पनि नाकामा छिटफुट आउने गरेका थिए ।

०७१ साउन १७ गते जुरे पहिरोबाट अवरोध सुरु भएको तातोपानी नाकाको भविष्यनै अन्यौलमा परेको देखिन्छ ।२०७२ सालको भूकम्पका कारण अवरुद्ध नाका गत जेठ १४ गतेबाट सञ्चालनमा आएको थियो । ०७३ असार १७ गते भोटेकोसी उर्लिए लार्चामा पहिरो गएपछि तातोपानी नाकाको सम्भावना सकिने अवस्थामा पुगेको छ।

नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहलपहल हुन्थ्यो । भूकम्प र बाढी–पहिरोले बस्ती जोखिममा परेपछि तातोपानीमा बस्ने हजारौं बासिन्दा अहिले विस्थापित भएका छन् । बजार मानवरहित हुँदा त्यहाँ दैनिक हुने लाखौंको व्यवसाय पनि गुमेको छ ।

 तातोपानी नाका सञ्चालनमा हुँदा दसैं–तिहार, जाडोजस्ता सिजन आउनुअघि चीनबाट सामान ल्याउने व्यापारीको भीडले यहाँको रौनक बेग्लै हुन्थ्यो । अहिले तातेपानी नाका मानवरहित जस्तै शून्य बनेको छ । तातोपानी नाकामा बस्नेहरू भने सधैंका लागि व्यापार–व्यवसाय र घरबार छोडेर हिँडेका छन् ।

प्रकाशित मिति: : 2019-09-24 15:12:11

प्रतिकृया दिनुहोस्